कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिका परिवर्तन गर्ने तयारी

डिसी नेपाल
१२ साउन २०७८ ६:५९

काठमाडाै। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। बिहान ९ बजेका लागि सभापति शेरबहादुर देउवाले निजी निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका छन्।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले शनिबार बसेको पदाधिकारी बैठकमा नै मंगलबारका लागि छानबिन प्रतिवेदन बुझाउने समय मागेका थिए। सदस्यता विवादबारे आजकै पदाधिकारी बैठकबाट निर्णय लिने तयारी देउवाको छ।

बैठकबाट अधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने तयारी छ। महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन र क्रियाशील सदस्यता फाइनलबारे बैठकमा छलफल गरी निर्णय लिने तयारी छ।

साउन २२ गतेदेखि कार्यतालिका सुरु हुने गरी निर्णय गरिनेछ। वडा तहको अधिवेशन सुरु भएको ३५ दिनमा केन्द्रीय महाधिवेशन गनुपर्नेमा त्यसलाई बढाएर ५६ दिन पुर्‍याउने विषयमा पनि छलफल भएको बताइएको छ।

जसका कारण कांग्रेस महाधिवेशन फेरि अनिश्चित बनेको हो। शनिबारको पदाधिकारी बैठकले १२ साउनका लागि तय भएको वडा अधिवेशन स्थगित गरेको थियो।

२०७२ फागुन २४ गते ४ वर्षका लागि सभापतिमा चुनिएका देउवाको कार्यकाल २०७६ फागुन २४ गते नै सकिएको थियो। कांग्रेसको विधानको धारा ४३ अनुसार २०७७ फागुन २४ सम्म एक वर्ष थप गरेकोमा यो अवधिमा पनि कांग्रेसले महाधिवेशन गर्न सकेन।

पुस ११, २०७६ मा पार्टीको विधानको असाधारण परिस्थितिको धारा ४३ प्रयोग गरी वर्ष दिन म्याद थपिएको थियो । त्यसपछि पनि म्याद सकिएपछि कांग्रेसले संविधानको सहारा लिँदै ६ महिनाको म्याद थप गरेको हो। ६ महिनाको म्याद पनि भदौमा सकिँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *