राष्ट्रपतिद्वारा युद्ध सङ्ग्रहालयको उद्घाटन

डिसी नेपाल
१३ साउन २०७८ १४:५४

सिन्धुलीगढी। राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएकी छन्। नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै उनले सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय भएकाे बताइन्। उनले यसलाई पर्यटकीयस्थलमा विकास गर्न सकिने र पर्यटन प्रवद्र्धनमार्फत आर्थिक लाभ लिन सकिने बताताइन्।

नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमूनाका रुपमा सङ्ग्रहालय रहेको जनाउँदै राष्ट्रपतिले अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटकका लागि गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने बताक्षन्। एकीकरणका घटना र विषयलाई पाठ्यक्रममा समावेश गरी राष्ट्रिय एकता प्रवद्र्धन गरिनुपर्नेमा राष्ट्रपतिको जोड थियो।

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको स्वतन्त्रता र स्वाधीनताको रक्षामा महत्वपूर्णस्थलका रुपमा सिन्धुलीगढी रहेको बताए। उनले सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय स्थापना गौरवपूर्ण इतिहास जोगाउने महत्वपूर्ण कार्य भएको बताउँदै यसले राष्ट्रिय एकता र सुरक्षामा सहयोग पुग्ने जनाए। सरकारले यस्ता सङ्ग्रहालय निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गर्ने उनले बताए।

सांसद गणेशकुमार पहाडीले ऐतिहासिकस्थल संरक्षणका लागि १०० पर्यटकीय गन्तव्यस्थलमा समावेश गरेर सिन्धुलीगढीलाई चिनाउने काम भएको बताउँदै यो पर्यटकीयस्थलका रुपमा अङ्ग्रेजहरुको पनि गन्तव्यस्थल हुन सक्ने बताए।

प्रधानसेनापति पूर्णचन्द्र थापाले ऐतिहासिकगढी, किल्ला र एकीकरण मार्गको संरक्षणको कार्ययोजना बनाएर संरक्षणमा लागिएको बताउनुभयो । उहाँले इतिहास बिर्सने राष्ट्रको औचित्य नहुने भएकाले २५३ वर्षअघिको ऐतिहासिकस्थललाई चिनाउने काम भएको बताए।

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र उपप्रमुख मञ्जु देवकोटाले पनि नवननिर्मित युद्ध सङ्ग्रहालयलाई आकर्षक पर्यटकीयस्थलका रुपमा विकास गरिने प्रतिबद्धता जनाए।

सो अवसरमा प्रधानसेनापति थापाले नगर प्रमुख खत्रीलाई सङ्ग्रहालय हस्तान्तरण गरे। विसं १८२४ असोजमा अङ्ग्रेजसँग भएको युद्धको सम्झनामा सो सङ्ग्रहालय निर्माण गरिएका हो। सङ्ग्रहालयमा त्यतिबेलाको युद्धमा प्रयोग भएका हातहतियार र ऐतिहासिक दस्तावेज सङ्ग्रह गरिएको छ। युद्धमा सहभागी भएका झण्डै दुई हजार ४०० अङ्ग्रेज फौजमध्ये करिब एक हजार ६०० को मृत्यु भएको बताइन्छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *