जसपाभित्र मन्त्री छान्न यादवलाई सकस

डिसी नेपाल
१४ साउन २०७८ ६:४७
284
Shares

काठमाडाै। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन्। यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो। मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए।

बैठकले मन्त्रीको टुंगो लगाउन पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव तथा वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले बताए। बुधबार पुनः बैठक बोलाइएको छ।

मन्त्री छान्नेबारेमा मापदण्ड बनाउन बैठक बोलाइएको थियो। बैठकमा बोल्ने अधिकांश कार्यकारिणी सदस्यहरूले समावेशी आधारमा मन्त्री छान्न पार्टी नेतृत्वलाई दबाब दिएको सिंहले बताए। समावेशी आधारमा मन्त्रीको सूची बनाए पनि आधारभूमि मधेसलाई बिर्सन हुन्न भन्ने सुझाव आएको अर्का कार्यकारिणी सदस्य रमेश यादवले बताए।

‘भूगोल, समुदाय तथा सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी मन्त्री छान्नुपर्छ तर हाम्रो मुख्य आधार भनेको मधेस हो। यसमा विचार गर्नुपर्छ भन्ने सुभाव आएको छ,’ यादवले भने।

स्रोतका अनुसार मन्त्री छान्न यादवलाई आफूनिकटबाट ठूलो दबाब आएको छ। मन्त्री हुनकै लागि ठाकुर पक्षका केही सांसदहरू कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन्। सुरुदेखि नै यादवलाई साथ दिएका नेताहरूलाई पनि मन्त्री बनाउन बाध्यता यादवलाई छ।

मन्त्रीको लागि महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव, इस्तियाक राई, प्रदीप यादव, मृगेन्द्रसिंह यादवले चाहना राखेका छन्। निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा अन्तिम समयमा राजकिशोर यादवले उपेन्द्र यादवलाई साथ दिएका थिए। उनलाई पनि मन्त्री बनाउन उपेन्द्र यादवलाई दबाब परेको छ।  नागरिक दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *