इजरायल पठाइदिने नाममा युवाहरुसँग प्राइभेट सेक्टर पैसा असुल्दै

रिता बस्नेत
१४ साउन २०७८ ११:४९

कामाडाैं। गत मंगलबार(साउन १२ गते) नेपाल सरकारले महिला र पुरुष गरी १ हजार जना युवा इजरायल पठाउने गरी इजरायल रोजगारीको आवेदन खुल्ला गरेको छ। उक्त आवेदन कुनै पनि म्यानपावर कम्पनी वा प्राइभेट सेक्टरबाट नभई सरकारी संयन्त्रमार्फत अर्थात् सरकारी तबरबाट जान पाउने गरी खुलाइएको हो।

हाल खुलेको इजरायल रोजगारी, नेपाल सरकार र इजरायल सरकारको सम्झौता भए अनुसारको आवेदन माग गरिएको हो। त्यसैले रोजगारीमा जान चाहने र आवेदनमा खुलाइएको क्राइटेरियाभित्र पर्ने युवाहरुले कसैको भ्रममा नपरी अनलाइन फारम भर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ।

तर, अहिले कतिपय युवाहरु प्राइभेट सेक्टरमार्फत जाने होला भन्ने भ्रममा रहेका छन्। वैदेशिक रोजगार विभागका शाखा अधिकृत मातृका सापकोटाका अनुसार जथाभावी यूटुबमा आएको अडियो म्यासेस आदिले भ्रम छरेकाले धेरै युवाहरु झुक्किइराखेका छन्।

उनले भने, ‘यूटुबरमा हालिएको अडियोमा मान्छेहरुले विभागको बद्नाम गरेका छन्। विभागसँग हाम्रो सम्पर्क छ। यति कोटा हामीले पाइसकेका छौं भनेर यूटुबमा अडियो म्यासेस राखेका छन्। र, भित्रभित्रै यसो हो भन्दै पैसा उठाइराखेका छन्।’

उनले भने अनुसार अडियोमा पनि, ‘गुड न्यूज, हजार जना सरकारले भनेकोमा हाम्रो अफिसलाई इजरायलको दुई सय ५० जनाको कोटा परेको छ। अनलाइन फारम भर्ने हो, फारम भरेपछि त्यो लिष्ट हामीलाई दिए भयो । हाम्रो अफिससँग सरकारले दुई सय ५० जनाको एग्रिमेन्ट गरेको छ’, भनिएको छ।

विभागका शाखा अधिकृत सापकोटाले इजरायल रोजगारी जान चाहनेले विभागको वेबसाइडमा हेरेर पढ्दा सबै कुरा प्रष्ट हुने बताएका छन्। साथै, उनले कसैको भ्रममा नपरि अनलाइन फारम भर्न आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *