काँग्रेस महाधिवेशनः क्रियाशील छानबिन समितिले फेरि प्रतिवेदन बुझायो

डिसी नेपाल
१४ साउन २०७८ १७:३३

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले विहीबार आफ्नो प्रतिवेदन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। मंगलबारै समितिले सभापति देउवालाई प्रतिवेदन बुझाएको थियो। तर, बुधबार बसेको पार्टी पदाधिकारी बैठकले बाँकी रहेका विवादलाई मिलाएर फेरि प्रतिवेदन बुझाउन एक दिनको समय दिएपछि समितिले विहीबार फेरि प्रतिवेदन बुझाएको हो।

विहीबार पनि समितिले सर्वसम्मत रुपमा भने प्रतिवेदन बुझाउन सकेन। समितिका सदस्य कल्याण गुरुङले प्रतिवेदनमा फरकमत राखेका छन्। समितिका प्रवक्ता प्रदीप पौडेलले केही विावद बाँकी भए पनि महत्वपूर्ण जिम्मेवारी पूरा गरेर समितिले प्रतिवेदन बुझाएको बताए। उनले अब केहीमात्र विवाद बाँकी रहेको र सो विवाद पार्टीको शीर्ष नेताहरुबाटै निर्णय हुने विश्वास व्यक्त गरे। उनले अब महाधिवेशन हुने वातावरण बनेको भन्दै महाधिवेशन सार्ने वा अन्य विकल्पबारे बहस गर्ने विषय अस्वभाविक भएको बताए।

देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बसेको थियो। सो बैठकमा प्रतिवेदन बुझाइएको हो। अब सो प्रतिवेदनमा नेताहरुले अध्ययन गर्ने बताएका छन्। आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति र स्थान तोकिए पनि हालसम्मको तयारी हेर्दा सो मितिमा महाधिवेशन नहुने लगभग पक्का जस्तै छ। साउन १२ देखि शुरु हुने अधिवेशन नै शुरु हुन सकेको छैन। क्रियाशील सदस्यताको विषय नटुंगिँदा साउन १२ को वडा अधिवेशन स्थगित भइसकेको छ भने १६ साउनको स्थानीय तह स्तरको अधिवेशन पनि नहुने पक्का भएको छ। तर, यो विषयमा निर्णय भने भइसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *