लुम्बिनी प्रदेशका तीनजना सांसद पदमुक्त, मुख्यमन्त्री पोखरेलको संकट झन बढ्यो

डिसी नेपाल
१५ साउन २०७८ १५:४९

काठमाडौं। लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन्। शुक्रबार प्रदेश सभा सचिवलायले उनीहरु पदमुक्त भएको सूचना प्रकाशित गरेको छ। शंकर पोखरेल सरकारमा मन्त्रीसमेत रहेका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त भएका हुन्।

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि उनीहरुमाथि पार्टीले कारबाही गरेको थियो। पार्टीले कारबाही गरेको सूचना विहीबार संसद सचिवलायमा दिइएको थियो। ८७ सदस्यीय प्रदेश सभा अब ७९ सदस्यीय भएको छ। सत्तापक्षसँग अब ३८ सांसदमात्र रहेका छन्। विपक्षीसँग ४१ सांसद छन्।

अल्पमतमै रहे पनि जबरजस्ती एमालेका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विपक्षीहरुले विरोध जनाउँदै आएका थिए। जसपाका तीनजना सांसद पदमुक्त भएसँगै पोखरेल स्पष्ट रुपमा अल्पमतमा परेका छन्। जसपाको यो निर्णयपछि पोखरेलको संक्ट अझ बढेको छ।

प्रदेश सभाबाट बजेट पारित नहुने देखेपछि पोखरेल सरकारले प्रदेशसभाको अधिवेशन स्थगित गरी अध्यादेशमार्फत बजेट ल्याएको थियो। तर, विपक्षीले त्यसको विरोध गर्दै आएका छन्। यसअघि पोखरेललाई एमाले समर्थित प्रदेश प्रमुख धर्मनाथ यादवको सहयोग थियो।

तर, केन्द्रमा देउवा सरकार आएसँगै यादव बर्खास्त भएका छन् र अमिक शेरचन प्रदेश प्रमुख भएका छन्। उनी  माओवादी निकट हुन्। त्यसैले पनि अब मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने अवस्था आउने अनुमान गरिएको छ। यसअघि पनि विपक्षीले संसद अविश्वासको प्रस्ताव ल्याएका थिए। तर, तत्कालिन प्रदेश प्रमुखले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने निर्णय दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *