नेपालमा कविता अघिअघि राजनीति पछिपछि – Dcnepal

नेपालमा कविता अघिअघि राजनीति पछिपछि

नेपाली समकालीन कविहरुको नाममा स्वप्नील स्मृतिको नाम पनि गन्य मान्यमै पर्छ। पाँचथरमा जन्मिएका सम्मान चेम्जोङ साहित्यमा स्वप्नील स्मृतिको नामबाट परिचित छन्।

खस क्षेत्री समुदायको बीचमा बसेका कारण खस नेपाली भाषामा कविता लेख्ने स्रष्टा स्वप्नील साहित्यबाट नै स्वर्णिम समाजको परिकल्पना गरिरहन्छन्। नेपाली सीमान्तकृत समुदायका आवाजहरुलाई बलियो गरी उठान गर्ने शक्तिशाली कविको रुपमा आफूलाई बलियो रुपमा उभ्याएका छन् उनले।

रंगै रङको भीर (२०६२), बाडुली र सुदूर सम्झना (२०६८) गरी दुई वटा कृति प्रकाशन गरेका स्वप्नीलको नयाँ कृति कोरोनाका कारण ढिला हुँदै गएको उनको तर्क छ।

राजनीतिले समाजलाई गलत दिशातर्फ लैजादै गर्दा कविहरु सडकमा आउन बाध्य भएको बताउने उनै कवि स्वप्नील स्मृतिसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

कोरोना कहरका झण्डै डेढ वर्ष कसरी व्यतित भए ?

निकै सकसपूर्ण बित्यो भनौं। सुरुमा निकै अत्याएको थियो। पछि ‘यूजटु’जस्तै भयो। मानिसको स्वभाव पनि हो। विश्वव्यापी रुपमा कोरोनाले पुर्याएको असरबाट अछुतो रहेनौं। भौतिक र मानसिक हिसाबले लडिरहेको अवस्था छ।

कविहरुलाई चाहिने एकान्तको समय दिएको होइन र कोरोनाले ?

यो एकान्त कविहरुलाई चाहिने एकान्त जस्तो थिएन। यो एकान्त जबरजस्तीको एकान्त थियो। एक किसिमको कैद जस्तो भयो। एकान्त भन्दा पनि बन्दि बनाए जस्तो, मानसिकतामै गाँठो पारिदिए जस्तो बनायो। कविहरुले खोज्ने एकान्त भनेको रचनात्मक हुन्छ। यो पीडादायी भयो।

उसो भए यो एकान्तले सृजना गर्ने कुरामा पनि सहयोग गरेन ?

सृजनाको उर्जा बढायो भन्न सकिँदैन। तर, उकुसमुकुसको बीच पनि आफ्नो सृजनालाई ल्याउन सकिने अवस्था थिएन। यसले नयाँ खालको चुनौतीको सामना गर्नु पर्ने अवस्था सृजना गर्यो। यो अवधिमा सृजनाकर्मी मात्र हैन सर्वसाधारण पनि खुसी भएनन्।

समयसँगै कविको कवित्व र दृष्किोण परिवर्तन भएसँगै लेखकी पनि परिस्कृत हुँदै जान्छ। हामी विद्यालय पढिरहँदाको जीवन, क्याम्पस आएपछिको जीवन, चेतनास्तर सबै फरक हुन्छ नि त्यसै गरी लेखकको लेखकी पनि परिस्कृत, परिवर्तित हुँदै जाने हो।

सबैलाई यसले पीडाबोध गरायो। सर्जकहरुको आन्तरिक पर्यावरण एउटा हुन्छ। बाह्य पर्यावरण अर्को भयो। जबसम्म बाह्य पर्यावरणसँग मिल्ने गरी सर्जकहरुले एकान्त पाउँदैनन् तबसम्म सृजना अलि टाढाकै कुरा हुन्छ झैं लाग्छ। अहिले त बाह्य वातावरण नै हावी भयो। जसले सृजनात्मक क्षमतालाई दबायो र सर्जकहरुलाई बाध्य भएर वाह्य वातावरणको बारेमा मात्र सोच्न बाध्य गरायो।

यस्तो बेलामा भएका सृजनाहरु पनि त्यति स्तरीय हुदैनन् भन्ने हो ?

त्यो पनि हो। अर्को कुरा के पनि हो भन्नु हुन्छ भने, यसले कतिपय सर्जकहरुलाई भौतिकरुपमै चुडेर लगेको छ। सृजना गरिसकेपछि त्यसलाई प्रस्तुत गर्ने प्लेटफर्म पनि उजाडिएका छन्।

सबै बन्दाबन्दीको अवस्थामा छन्। सृजनालाई पाठकसम्म पुग्ने सबै बाटाहरु भत्काएको छ। चोकसम्म निस्किँदा पनि डराएर निस्किनु पर्ने अवस्था छ। यस्तो अवस्थामा कोठामा बसेर सिर्जनाकर्मीले जतिसुकै सिर्जना गरे पनि के काम भन्ने हो।

स्रष्टाहरुलाई प्रविधिमैत्री त यही अवसरले बनायो नि हैन ?

समग्र मानवजाति नै प्रविधिसँगै अगाड बढेको छ। सृजनाकर्मी पनि प्रविधिबाट टाढा रहेर आफूलाई अगाड बढाउन सक्ने अवस्था त हुँदैन। तर, कोरोनाले प्रविधिमा मात्र नभएर हाम्रो जीवनशैलीमा पनि च्यालेन्ज दिएर त गयो।

यसलाई जितेपछि मात्र हाम्रो मानव अस्तित्वले निरतरता पाउला तर यसले चुनौती त खडा गरेको छ। अहिलेको कोरोना महामारीले हामीलाई अलि बढी प्रविधि मैत्री हुनै पर्ने बाध्य गराएको नै हो। पाठकसम्म पुग्ने पारम्पारिक माध्यामहरु बन्द भएपछि त बैकल्पिक माध्याम तथा निकास खोज्नु आवश्यक थियो नै। त्यही निकासको खोजमा प्रविधिमैत्री भइयो भन्न मिल्छ।

यहाँले प्रकाशन गर्न लाग्नु भएको पछिल्लो कृतिको काम कहाँ पुग्यो ?

कोरोनालाई दोष दिन पर्ने अवस्था छ। हुन त सबै कुरा कोरोनालाई दोष दिन पनि हुँदैन। तर, वास्तविकता नै हो। कोरोना नभएको भए पोहोरसाल नै प्रकाशन गर्ने भन्ने सोचमा थिएँ।

कोरोनाले अहिलेसम्म धकेलिएको छ। अझै पनि प्रकाशन संस्थाहरुको अवस्था, पाठकको अवस्था, बजारको अवस्था सबै हेर्दा अझै केही समय पर्खिनु पर्ने अवस्था हुनसक्छ।

कवितामा यहाँले प्रयोग गरेजस्तै बिम्ब र प्रतिकहरुको प्रयोग किन हुन्छ ?

भाषाशैलीकै कुरा हो। बिम्ब र प्रतिकहरुको प्रयोगले कवितालाई पाठकमाझ पुर्याउन सजिलो हुने गर्छ। आफूले भन्न खोजेको कुरा सिधै नभनेर बिम्बहरुको प्रयोग गरेर भनेको अवस्थामा पढ्नेलाई पनि मजा आउँछ।

मैले अहिले बाचन गरेको कवितामा प्रयोग गरिएका कुरामा ‘पब्जी’ खेलमा जित्नेलाई तानाशाह भनेको छु। अहिलेको पुस्तालाई हिटलरको कुरा भन्दा ‘पब्जी’को पात्रलाई तानाशाहको रुपमा चित्रण गरिदिएको अवस्थामा चाँडो बुझ्छन् भन्ने हो।

सीमान्तकृत वर्गको पक्षमा प्रगतिशील धारलाई समातेर यहाँको कलम चल्दै आएको छ। माया पीरतिमा कलम कहिलै चल्यो त?

समयसँगै कविको कवित्व र दृष्किोण परिवर्तन भएसँगै लेखकी पनि परिस्कृत हुँदै जान्छ। हामी विद्यालय पढिरहँदाको जीवन, क्याम्पस आएपछिको जीवन, चेतनास्तर सबै फरक हुन्छ नि त्यसै गरी लेखकको लेखकी पनि परिस्कृत, परिवर्तित हुँदै जाने हो।

मैले पनि माया पिरतीका कविता लेखेन भन्न मिल्दैन। मैले लेखेको छ। जसरी समय परिवर्तनको कुरा गर्‍याैं  हाम्रो चेतनाको स्तर पनि उठ्दै गयो। पछिपछि मात्र प्रगतिशील साहित्यमा कलम चलेको हो।

जीवनको एउटा स्कुलले समाजलाई बुझ्ने अवसर प्रदान गर्यो। समाजमा भएका अन्याय, अत्याचारहरुसँग नजिकबाट परिचय गर्ने अवसर दियो। त्यो स्कुलले बोक्ने विचारको प्रतिनिधित्व गर्दै अहिले मेरो कलम चलिरहेको छ।

जुन कलमले यहाँले भनेजस्तै प्रगतिशील धारालाई लेख्ने कोशिस गरेको छ। म त अझै पनि आफूलाई कविताको विद्यार्थी मान्छु। मैले पाएको स्कुलिङबाट प्रेरित भएर सिमान्तकृत स्वरहरुलाई कवितामा राख्ने प्रयास गरेका छु।

कविता सबैले बुझ्दैनन् पनि भनिन्छ। कविता बुझ्न गाह्रो किन हुन्छ ?

कविता भनेको विशिष्ट भाषा हो भनेर दाबी पनि गरिन्छ। कविता पठनको आफ्नै एउटा विशिष्ट परम्परा पनि छ। बिम्बहरुको भाषा पनि हो। अझै भनौ एकेडेमिक भाषा पनि कविता हो।

एकेडेमिक भाषा बुझ्नका लागि समाजको विकासक्रम, समाजदेखि धेरै कुराको अध्ययन हुन पनि आवश्यक छ। कवितालाई लेख्दा पनि हिंस्रक नहोस्, कसैलाई सिधै अफ्ठेरो नपरोस भनेर कविहरुले कलात्मक शैली प्रयोग गरेका हुन्छन्।

समाजमा प्रयोग हुने लोक कथनहरु पनि प्रयोग भएका हुन्छन्। एउटा समाजमा प्रयोग हुने बिम्बलाई अर्को समाजले नबुझेको पनि हुन सक्छ। किम्बदन्तीहरु नसुनिएको पनि हुन सक्छ। त्यो कारण पनि कविता बुझ्न गाह्रो हुन्छ।

तर, अर्को कविता बुझ्न गाह्रो हुन्छ भन्ने सत्ताको भाषा पनि हो। सत्ताको भाषा किन हो भने कविहरु जहिले प्रतिपक्षी हुन्छन्। कविहरुले सत्य कुरालाई जनतासामु ल्याउँछ। सत्ताले जहिले पनि सत्यलाई लुकाउन खोज्छ। यो प्रवृति हो।

सत्ताको यस्तो प्रवृतिलाई कविहरुले खबरदारी गरिरहेका हुन्छन्। शासकहरु जब सत्ताभोगमा लाग्छन् उनीहरुलाई रचनात्मक आलोचना पच्दैन त्यसैले पनि उनीहरुले कविताको भाषा बुझ्न सकिँदैन भनेर आफ्नो कतव्र्यबाट भाग्छन्। त्यसले कविता बुझिदैन भन्नु सत्ताको भाषा हो भन्न मिल्छ।

नेपाली कविताको अवस्था कहाँ देख्नु हुन्छ ?

हाम्रो समाज र हाम्रो राजनीतिलाई हेर्दा, समाज परिवर्तनको बाटोमा हामी जहाँ छौं त्यहाँ हेर्दा कविहरुको लेख्ने छनकको कुरा गर्दा अलि अगाडि छन्।

सिंगो कविता नै समाज र राजनीति भन्दा अगाडि छ भन्न त मिल्दैन तर, कविहरु त्यो भन्दा अगाडि गएर पनि सोचि रहेका छन्, लेखिरहेका छन्। नेपाली समकालीन कविताको स्वर निकै प्रगतिशील र समाज रुपान्तरणकारी देखिन्छ। अहिले कवि अगाडि छन्, राजनीति पछाडि छ।

त्यो भएर नै सडकमा जानु भएको हो, अब राजनीतिलाई कविहरुले डोर्‍याउन खोजेका हुन ?

कविहरु रहरले सडकमा गएका हैनन् कविहरुलाई जबरजस्ती सडकमा पुर्‍याइएको छ। सिर्जनात्मक सडक आन्दोलनले जब सत्तालाई छुँदैन अब भौतिक रुपमै सडक आन्दोलनमा जानु पर्छ। हामीले सृजनात्मक रुपमा खबरदारी त गरिरहेका हुन्छौं।

तर, हिजो परिवर्तकारी, क्रान्तिकारी भनिएकाहरु सत्ता लिप्त भइदिएपछि, प्रतिक्रियावादी सत्तामा भएका व्यक्तिहरु जस्तै देखिन थालेपछि, प्रतिगमनको मतियार जस्तै देखिनथालेपछि हामी सडकमा आउनु परेको हो। सत्तामा चरम वेथिति भएका बेला सडक खालि हुन्छ सडकले बोलाइरहेको हुन्छ।

त्यो बेलामा कविहरु सडकमा पुग्छन्। त्यसमा पनि सबै कविहरु सडकमा पुगेका छैनन्। जसले परिवर्तको अपेक्षा राख्छन्, जसलाई अहिलेको परिवर्तनले पनि पुगेको छैन, अझै परिवर्तन हुनपर्छ भन्ने सोच राखेका कविहरु सडकमा पुगेका हुन्।

सत्तामा बस्नेहरुले जनताको माझमा गरेका बाचाहरुलाई पुरा गर्छन भने, जनप्रतिनिधिहरुले आफ्नो चुनावी घोषणापत्रअनुसार काम गर्छन भने, शासकहरुमा प्रतिगामी सोचले बास गर्दैन भने कविहरु सडकमा हैन तपाईँले अघि भने जस्तै एकान्तमा हुने छन्।

त्यहाँ अर्कै स्वप्नील संसारको रचना गरिरहेका हुने छन्। अझै परिस्कृत समाजको लागि कविहरु ध्यानमा हुने छन्। आफ्नो लामो समयदेखि चाहाना गरिरहेको सपना पुरा गरिरहेको अवस्थामा हुने छन्।

अन्त्यमा कविता लेख्दा के कस्ता कुरा आवश्यक पर्छन र नयाँ पुस्तालाई के सुझाव छ ?

दुई वटै प्रश्नको उत्तर समान हुन्छन् जस्तो लाग्छ। कविता लेख्नका लागि र नयाँ पुस्ता जो कवितामा आउनु हुन्छ उहाँहरुलाई सुझाव भन्दा पनि मैले कविता कसरी लेखेँ भन्ने कुराको अनुभव बाँढन चाहन्छु। कविता लेख्दा समाजलाई अध्ययन गर्नु पर्छ। जबसम्म समाज बुझिदैन तबसम्म कविता लेख्न सकिँदैन।

समाज बुझ्नु भनेको अध्ययन हो। अहिले कविताको अवस्था कहाँ छ, समाजमा के कस्ता कविताहरु लेखिएका छन्। अबको समाज कस्तो हुनु पर्छ, यी र यस्ता विषयहरुका लागि अध्ययन आवश्क हुन्छ। अध्ययनसँगै निरन्तरताको पनि खाँचो छ। जति पनि लेखाइलाई निरन्तरता दिन्छौ, हामी खारिँदै अगाडी बढ्ने हो। प्यासन हुन आवश्यक छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो