दार्चुला प्रकरणः आफ्नै सदरमुकाम आउन भारतीय भूमि प्रयोग गर्दाको दुखान्त

उपेन्द्र शाही
१६ साउन २०७८ १७:११

काठमाडौं। दार्चुला व्याँस गाउँपालिका वडा नम्बर दुई बस्ने जयसिंह धामी शुक्रबार बिहान विदेशको सपना देख्दै घरबाट निस्किए। नाबालक छोरा, छोरी र श्रीमतीलाई आफू चाँडै घर फर्किने भन्दै धामी घरबाट बिदाइ भए। तर, महाकाली तर्न खोज्दा तुनइको डोरी छिनालिँदा महाकालीको भेलमा बेपत्ता भए। शुक्रबार महाकालीमा बेपत्ता भएका उनको अवस्था शनिबार अपराह्नसम्म अज्ञात छ।

र उनको खोजी कार्यलाई प्राथमिकता पनि दिइएको छैन। दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले खोजी कार्य गरिएको बताइन्। उनले डिसी नेपालसँग फोनमा भनिन्, ‘महाकालीमा भेल छ, कहाँ पुर्यायो ठेगान छैन।’ तर उनले खोजीमा को परिचालन छन् भन्ने खुलाउन भने सकिनन्।

शुक्रबार बिहान साढे ९ बजे जिल्ला सदरमुकाम खलङ्गा पुग्न महाकाली तर्दै गरेका धामी महाकाली नदिमै विलय भए। घटनाले परिवार विक्षिप्त बनको छ भने स्थानीय आक्रोशीत र त्रसित भएका छन्।

स्थानीय बासीन्दा र परिवारका सदस्यले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानको ज्यादतीका कारण जयसिंह बेपत्ता भएको बताएका छन्। धामी तुइन चढिरहेकै बेला डोरी काटिदिएपछि उनी नदीमा खसेको उनीहरुको भनाइ छ।

घटनाको बारेमा बताउँदै उनका भाइ नरेन्द्र धामीले भने, ‘एसएसबीको ज्यादतीका कारण दाईले मृत्युवरण गर्नुपर्यो। दाईले नदी तर्न नपाउँदै भारतीय प्रहरीले जल्दी करो जल्दी करो भनेर तुइनको डोरी खोल्दिएको देख्नेहरु बताउँछन्। उनीहरुले पहिले पनि यस्ता घटनाहरु घटाइरहेको हो। उनीहरुले अनावश्यक दुःख दिइरहेका हुन्छन्।’

उनले अगाडि भने, ‘हामीहरु घरको आवश्यक सामग्रीहरु चामल, नुन, तेल, चिनी, लिएर गएको देखेमा एसएसबीले घाटमा बगाइदिने, आफ्नो केन्द्रमा लगेर जाने, आईमाईहरुसँग जे पायो त्यही बोल्ने, दुव्र्यबहार गर्ने जस्ता हर्कतहरु गरीरहेका हुन्छन्। जुन ठाउँमा मेरो दाइलाई बगाइयो, सोही ठाउँबाट नै म ५ दिन अघि मात्रै घर आएको थिएँ। उनीहरुले मसँग पनि त्यस्तै दुव्र्यवहार गरे जस्तो उनीहरुले गर्दै आएका छन्। त्यस बेला मैले आफू लकडाउनमा घर आएको र जान नपाए पढाई छुट्ने भन्दै हात जोडेर कागजात देखाएपछि घर आउन पाएको थिएँ।’

३३ वर्षीया धामीको चार जनाको परिवार छ। उनको घरमा आठ वर्षका एक छोरा, ३ वर्षकी एक छोरी र श्रीमती छन्। धामी वैदेशिक रोजगारीको लागि काठमाडौं आउन लागेका थिए। पीडित धामीको परिवार यो घटनाले विक्षिप्त बनेको छ।

तर, सरकारी नियकाबाट कोही पनि अहिलेसम्म पीडितको परिवार समक्ष पुगेको छैन। सहायक प्रमुख जिल्ला अधिकारी भट्टले पीडितहरुलाई आफूहरुले अहिलेसम्म नभेटेको जानकारी दिइन्।

अहिले के भइरहेको छ ?

शुक्रबार स्थानीय प्रहरीले घटनाको छानविन गरे पनि यथार्थ कुरा पत्ता लगाउन सकेको छैन। डीएसपी वीरसिंह धामीको कमाण्डमा ६ जनाको प्रहरी टोली शनिबार दिउँसो घटनास्थलतिर प्रस्थान गरेको छ। घटनास्थल पुग्न सदरमुकामबाट ५–६ घण्टा लाग्ने र त्यहाँबाट घटनाको बारेमा छानविन गरेर फर्किदाँ बेलुकी हुने छ। उनीहरुले त्यहाँको यर्थाथ बुझेर सत्य तथ्य छानविन गर्ने दार्चुला प्रहरीले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी भट्टले भारतीय सुरक्षा अधिकारीसँग वार्ताका लागि सशस्त्र प्रहरी बलका एसपी र नेपाल प्रहरीका निरीक्षक भारततर्फ गएको जानकारी दिइन्। उनले शनिबार भारततर्फबाट यो विषयमा केही जानकारी आउने विश्वास रहेको बताइन्।

उनी गृहमन्त्रालय गठन गरेको छानबिन समितिकी सदस्यसमेत हुन्। तर, आफू छानबिन समितिमा रहेको विषयमा औपचारिक जानकारी भने नपाएको बताइन्। गृह मन्त्रालयले यो प्रकरणमा कुनै नयाँ जानकारी पाए रिपोर्ट गर्ने निर्देशनसमेत दिएको उनले बताइन्।

सँँधैको दुःख

एसएसबीका कारण वार्षौदेखि समस्या झेल्दै आय पनि यो पटक मानवीय क्षति बेहुर्नु परेको व्याँस गाउँपालिकाका अध्यक्ष दिलीप बुढाथोकिले बताए। भारतीय प्रहरीमा हामीले जे गर्दा पनि हुन्छ भन्ने प्रवृति रहेको र उनीहरुको दादागीरी बाध्य भएर सहनु परेको उनले बताए।

‘मनिसहरुले तुइनका कारण वर्षौँदेखि समस्या झेल्दै आएका छन्’, उनले भने, ‘विगतका दिनहरुमा पनि उनीहरुले आफ्नो मर्जी अनुसार तुइन काट्दै लगाउँदै आएका थिए। तर, मानवीय क्षति चाँही भएको थिएन। अहिले अमानवीय ढंगले घटना घटाइएको छ।’ पुल नबन्दा धेरै समस्या भएको बताउँदै उनले तुइनकै कारण करिब २० जना मानिसहरुको मृत्यु भएको बताए।

तर, जिल्ला प्रशासन कार्यालय दार्चुलाको भनाइ भने फरक छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी भट्ट जोशीले भनिन्, ‘सम्बन्धित व्यक्ति तुइन जढेर पारी गएको हो। त्यो जाँदा भारतीय एसएसबी आएको हल्ला भएको भन्ने सूचना हामीले पाएका छौँ। त्यो हल्लापछि भाग्न खोज्दा यो दुखद् घटना भएको भन्ने कुरा हामीलाई प्रारम्भिक जानकारीमा आएको छ।’

उनले अगाडि भनिन्, ‘यो तुइन भनेको अवैधानिक हो। स्थानीय र एसएसबीको सीमामा लुकिछिपी जस्तै हुन्छ। एसएसबी जाने बित्तिकै स्थानीय तुइनमार्फत वारपार गर्न खोज्छन्। र स्थानीयले वारपार गरेको सुईको पाउनासाथ एसएसबी आएर तुइन हटाइदिहाल्छन्।’

उनले स्थानीयलाई तुइन प्रयोग गरेर वारपार नगर्न अनुरोध गरेको तर उनीहरुले जोखिमपूर्ण र अवैधानिक हो भन्दा भन्दै तुइनबाट वारपार गरिरहेको बताइन्।

आफ्नै जिल्ला सदरमुकाम आउन भारतको बाटो

सरकारी कामकाजमा निक्लन पर्दा होस् वा बजार जाँदा, पश्चिम–उत्तरी दार्चुलावासीलाई तुइन चढ्नै पर्ने बाध्यता छ। तुइनबाट महाकाली नदी तरेर भारतीय बाटो हुँदै उनीहरू सदरमुकाम पुग्छन्। र दैनिक आवश्यक पर्ने खाद्यन्न, लत्ता कपडा लगाएतका समान किनेर घरधन्दा चलाउँछन्।

नेपालको बाटो हुँदै पनि सदरमुकाम खलङ्गा पुगिन्छ तर, त्यसका लागि बाढी पहिरोलाई छिचोल्दै डेढ दिनको बाटो पैदल हिड्नुपर्छ। तर, सोही बाटो भारतीय सीमा क्षेत्रबाट गएपछि करिब २ घण्टामा नै सदरमुकाम पुगिन्छ। भारततर्फ गाडिको सुविधा छ।

भारतीय सीमा प्रयोग गरेर जानुपर्ने बाध्यताको फाइदा उठाउँदै सीमामा तैनाथ सुरक्षा बलले दार्चुलावासीलाई अनावश्यक दुख दिने गरेका छन्। उनीहरुले लुट्ने, धम्क्याउने, महिलाहरुलाई दुर्व्यवहार गर्ने गरेको स्थानीय बासीको गुनासो छ।

ओली सरकारै अघिल्लो कार्यकाल (२०७२ साल) मै दुई वर्षभित्र तुइन विस्थापन गर्ने उद्घोष गरिएपछि त्यँहाका बासिन्दा उत्साहित भएका थिए। तर, तुइन विस्थापन गर्न यहाँ झोलुङ्गे पुल बनेका छैनन् भने कोरोना भाइरसको महामारी फैलिने भन्दै तुइन बन्द गरिएको छ। सोही कारण दार्चुलावासी ज्यानको जोखिम मोलेर तुइन चढ्न बाध्य छन।

समयमा पुल बनेको भए सायद घट्ने थिएन यो घटना

समयमै पुल नबनेका कारण यस्तो दुखद घटना हुन पुगेको हो। व्याँस गाउँपालिकामा तीन वटा झुलुङ्गे पुलहरु निर्माणाधीन अवस्थामा छन। तर, ठेकेदारको लापरवाही र नियामक निकायको ध्यान पुग्न नसक्दा एउटै पुल पनि निमार्ण सम्पन्न हुन सकेको छैन।

दुई वर्ष पहिले ठेक्का भएको उक्त ठाउँको पुल एक वर्ष पहिले नै निर्माण सम्पन्न हुनु पर्ने हो। तर, अहिलेसम्म काम नै सुरु भएको छैन। निमार्ण व्यवसायी लगाएत ठेकेदारहरुले कोरोनालाई कारण देखाएर बहाना बनाइरहेका छन्।

मानिसहरु दैनिक गुजारा गर्नको लागि जोखिम मोलेर अवैधानिक तुइनबाट वारपार गर्न बाध्य हुन्छन। यदि समयमै पुल बनेको भए, यस्तो दुखद घटना सायद नहुने स्थानीयहरु बताउँछन्।

मोदीको असान्दर्भिक ट्वीट

शुक्रबार दार्चुलामा भएको यो घटनाबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छैन। गृह मन्त्रालयले गृह सचिवको नेतृत्वमा छानबिन समिति भने गठन गरेको छ। सत्तारुढ दल नेपाली काँग्रेसले यो घटनाको औपचारिक रुपमै निन्दा गर्दै छानबिन गर्न माग गरेको छ। र उसले पीडित परिवारलाई राहत दिलाउन भनेको छ। काँग्रेसले आफ्नो जानकारीमा आएको भन्दै भारतीय एसएसबीको अमानवीय व्यवहारकै कारण धामी बेपत्ता भएको बताएको छ।

लिम्पियाधुरा, कालापनी र लिपुलेक समेटेर नेपालले नयाँ नक्सा अनुमोदन गरेपछि भारतसँगको सम्बन्धमा दरार परेको थियो। तर, विगत केही महिनादेखि सुधारोन्मुख देखिएको आपसी सम्बन्धमा यो घटनाले केही समस्या उत्पन्न गराउने देखिन्छ। त्यसैले नेपाल सरकारले चलाखीपूर्वक यो घटनाबारे छानबिन गर्ने निर्णय लिएको हो। नयाँ नक्सापछि दार्चुलावासी र भारतीय सुरक्षा बलबीच सुमधुर सम्बनध छैन। यो घटना त्यसैको उपज पनि भएको हुनसक्ने संकेतहरु देखिन्छन्।

तर, यहीबीचमा शनिबार बिहानै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक ट्वीट आयो। उनले ट्वीट गर्दै नेपाल, भुटान, माल्दिभ्स र मोरिसस छिमेकीमात्र नभएर सोचमा पनि समानता रहेको र आफूहरु सबै सुखदुःखको साथीको भएको बताएका छन्। मोदीको व्यक्तिगत ट्वीटर ह्याण्डलबाट नभएर भारतीय प्रधानमन्त्रीको अफिसियल ह्याण्डलबाट नेपालको नाम तोकेर किन ट्वीट गरियो भन्ने विषय स्पष्ट भएको छैन। तर यो ट्वीटलाई दार्चुला प्रकरणसँग जोडेर नेपालमा चर्चा भएको छ।

मोदीलाई नेपाललाई भुटानसँग तुलना गरेका छन्। यथार्त भने त्यस्तो होइन। भुटान भारतीय सुरक्षा छातामा रहेको मुलुक हो, नेपाल एक स्वतन्त्र, सावैभौम सत्ता सम्पन्न मुलुक हो। उनले नेपाललाई र भुटानलाईसँगै जोडेर दिन खोजेको सन्देश के हो भन्ने विषय भने स्पष्ट भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *