भारतसँगको सीमा बन्द गर्न नेमकिपाको माग

डिसी नेपाल
१६ साउन २०७८ २१:४१

काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भारतसँगको सीमा बन्द गर्न माग गरेको छ। नेमकिपा सचिव प्रेम सुवालले शनिबार साँझ प्रेस वक्तव्य जारी गर्दै भारतसँगको सीमा बन्द गर्न माग गरेका छन्।

दार्चुलामा शुक्रबार तुइनबाट खसेर एक नेपाली युवक जयसिंह धामी बेपत्ता भएको घटनाबारे जारी वक्तव्यमा उनले भारतसँगको सीमा बन्द गर्नुपर्ने माग गरेका हुन्। उनले भनेका छन्, ‘कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामसमेतलाई ध्यानमा राखी दुई देशको खुला सीमा बन्द गर्न हामी सरकारको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं।’

नेमकिपाले दार्चुला घटनाबारे यथार्त विवरण सार्वजनिक गर्नसमेत सरकारसँग माग गरेका छन्। उनले दार्चुला घटना नेपाललाई उत्तेजित पारी आफ्नो काम गराउने रणनीति पनि हो कि भन्दै प्रश्नसमेत गरेका छन्। वक्तव्यमा भनिएको छ, ‘यो घटना नेपालीलाई उतेजित पारेर आफ्नो अनुकूल निर्णय गराउन देउवा सरकारलाई दवाव दिने वा नेपालको यस क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) राख्ने भारतीय शासकहरूको योजना हो कि ? यथार्थ के हो ? नेपाल सरकारले वास्तविकता जनतालाई अविलम्व जानकारी गराउनु जरुरी छ र दोषीलाई कार्वाई गर्नु आवश्यक छ।’

शुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइनको डोरी काटिदिँदा नदी पार गरिरहेका धामी नदीमा खेसर बेपत्ता भएको विवरणहरु आएका थिए। यो विषयमा भारतीय पक्षले भने एसएसबीको कुनै संलग्नता नभएको जनाएको छ। भारतको पिथारौगढका डिस्ट्रिक म्याजिस्टेडले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारीको पत्रको जवाफ दिँदै सो घटनामा एसएसबीको कुनै संलग्नता नभएको दावी गरेका हुन्।

गृह मन्त्रालयले भने यो घटनाबारे छानबिन भइरहेकाले उत्तेजित पार्ने समाचारहरु प्रशारण नगर्न आग्रह गरेको छ। दार्चुला जिल्ला प्रशासन कार्यालयले यो घटनाको यथार्तताबारे पुष्टि भइनसकेको बताउँदै आएको छ।

पे्रस वक्तव्य

भारतले नेपालको गुन्जीदेखि लिपुलेकसम्म बाटो बनाएकोमा नेपाली जनताको विरोध भईरहेकै वेला भारतीय सुरक्षा बल (एसएसबी) का जवानहरूले साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ राप्ला र भारतको गस्कु जोडिएको टुइन काटि दिँदा अन्दाजी वर्ष ३५ का दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएको र प्रत्यक्षदर्शीहरूका अनुसार घटना लगतै टुइन काटिदिने एसएसबीका दुई जना जवान भागेको समाचार प्रकाशित भयो ।

यो घटना नेपालीलाई उतेजित पारेर आफ्नो अनुकूल निर्णय गराउन देउवा सरकारलाई दवाव दिने वा नेपालको यस क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) राख्ने भारतीय शासकहरूको योजना हो कि ? यथार्थ के हो ? नेपाल सरकारले वास्तविकता जनतालाई अविलम्व जानकारी गराउनु जरुरी छ र दोषीलाई कार्वाई गर्नु आवश्यक छ ।

नेपालका कतिपय ठाउ“का जनता रोजगारी र बजारको निम्ति भारत निर्भर हुनु पर्ने अवस्था छ । नेपाल–भारत दुवै देशको हितका निम्ति नेपाली भूमि कालापानीबाट भारतीय सेना अविलम्व हटाउन जरुरी छं । नेपालीलाई रोजगार र बजारको व्यवस्था नेपालमै गर्नु आवश्यक छ । कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामसमेतलाई ध्यानमा राखी दुई देशको खुला सीमा बन्द गर्न हामी सरकारको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं ।

प्रेम सुवाल
सचिव

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *