अध्ययनले व्यक्तिलाई जीवनको उद्देश्य बुझाउने काम गर्छ : सगुना शाह अनुवादक – Dcnepal

अध्ययनले व्यक्तिलाई जीवनको उद्देश्य बुझाउने काम गर्छ : सगुना शाह अनुवादक

पढाइ सकिएपछि कसैले के गर्ने भनेर सोधेको अवस्थामा हरेकको उत्तर जागिर हुन्छ। तर, एउटा यस्तो व्यक्ति जसले पढाइ सकिएपछि के गर्ने भन्दा  ‘भए जतिको किताब पढ्छु’ भन्ने जवाफ दिइन्।

जवाफ जवाफमा मात्र सीमित भएन। उनले नेपाली र अन्तर्राष्ट्रिय साहित्यको जमेर अध्ययन गर्न थालिन्। आफूले अध्ययन गरेपछि कतिपय प्रभावित भएर, कतिपय आफूलाई परिवर्तन पाएर अरुलाई पनि सिकाउने उनमा भोक जाग्यो। र, थालिन् अनुवादन।

नेपाली साहित्य भाषाका कारण पनि अन्तर्राष्ट्रिय बजारमा पुग्न नसकेको स्वीकार गर्ने पात्र सगुना शाहको पछिल्लो अनुवादन ‘कान्छा महारानी’ हो। नेपाली विश्व प्रसिद्ध साहित्यकारका पुस्तकहरु नेपालीमा अनुवादन गरेकी उनलाई कृतिको भाव मर्छ कि भन्ने सधैं पिर रह्यो।

शाहको परिचय अनुवादकका रुपमा मात्र पूरा हुँदैन। उनी एक कुशल लेखिका पनि हुन्। यस्तै त्रिभुवन विश्वविद्यालय अन्तरगतको डिल्लीबजार कन्या क्याम्पसमा अग्रेजी साहित्यको अध्यापन पनि गराउँछिन्। प्रस्तुत छ बहुमुखी प्रतिभा र परिचय भएकी उनै शाहसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

करिव १४ वर्ष पहिला ‘भए जतिको किताब पढ्छु’ भन्ने जवाफ दिनु भएको थियो। कति भ्याउनु भयो कति बाँकी छन्?

मलाई राम्रोसँग याद छ, मैले २००७/८ तिर भनेकी थिएँ। जागिर खाउँला वा काम पाउँला भन्ने उद्देश्यले पढेकी पनि थिइन। सानैमा विहे भएर पढ्न पाइएन भन्ने पनि भएन। मैले मेरो आत्म सन्तुष्टिको लागि पनि डिग्री जरुरी छ भनेर पढेकी हुँ।

जति बाहिरबाट हेर्दा सगुनाले पढेकी होलिन् भन्ने जति किताब त पढेकी छैन। तर, पनि एक महिनामा एकदमै नभ्याउँदा पनि ४ वटा पुस्तक पढेकै हुन्छ। जति जति पढ्दै गयो, त्यति त्यति केही थाहा छैन झैं हुन्छ। मैले अहिले पनि सिकाइकै क्रममा छु।

पछिल्लो समय अनुवाद गर्दै हुनुहुन्छ कि लेख्दै हुनुहुन्छ ?

कान्छा महारानीको अनुवादपछि प्रस्तावहरु पनि आउने क्रम जारी छ। हुन त मैले ८/९ वर्ष पहिला पनि किशोर पहाडीजीका थुप्रै कथाहरु अंग्रेजीमा अनुवाद गरेकी थिएँ। अहिले पनि एउटा पुस्तक अनुवाद गरिरहेकी छु।

त्यो पुस्तकको बारेमा अहिले नै कुरा नगरिहालौं। मैले लेख्ने कुरामा भन्दा पनि धेरै समय अनुवादका लागि छुट्याएकी छु। लेखनीमा पनि समसामयिक विषयका आर्टिकलहरु छदैँ छन्। तर, अनुवादलाई प्राथमिकतामा राखेकी हुन्छु।

नेपाली बजारमा अनुवाद गरेका पुस्तकहरुका पाठक कतिको पाउनु भएको छ?

मैले बुकाहोलिक्स भन्ने एउटा बहस पनि चलाउँछु। त्यो बहस चलाउँदा मैले पाएको प्रतिक्रिया अनुसार विदेशी साहित्यकारहरुले लखेको धेरैले पढ्ने गरेको पाएकी छु। नेपाली साहित्य पनि अंग्रेजीमा लेखिएको भन्दा त्यसलाई नेपालीमा अनुवाद गरेपछि रुचाएको पाएकी छु।

विदेशी साहित्यकार भन्दा पनि नेपाली साहित्यकारले अंग्रेजीमा लेखेको र त्यसलाई नेपालीमा अनुवाद गरिएका कृतिहरु प्रति पाठकहरुको धेरै ध्यान गएको पाइयो।

नेपाली साहित्यमा किताब किनेर पढ्ने थोरै मान्छेहरु छन् भनिन्छ। कृतिहरुको मूल्य बढी भएर हो वा पठन संस्कृतिकै विकास हुन नसकेको हो?

मैले १० वर्ष पहिलाको अनुपातमा कुरा गर्ने हो भने बढे पनि नेपालमा पठन संस्कृति अझै विकसित हुन सकेको छैन कि जस्तो लाग्छ। अझै लाइब्रेरी कल्चर पनि राम्रो छैन। एउटा सर्वसाधारणका लागि ५ सयमाथिका किताबहरु किन्दा त सोच्नै पर्छ होला।

सबै कुरालाई भाषाले मात्र पनि फरक पार्दैन। पुराना पुस्ताका केही पुस्तक र अहिलेको पुस्ताका केही पुस्तक, यो मेरो व्यक्तिगत बुझाइको कुरा पनि होला। धेरै राम्रो पुस्तकहरु पनि छैनन्। विश्व साहित्यमा हामीलाई प्रवेश गराउने निकायहरुको पनि यसमा कमजोरी देखिन्छ।

धेरैले राजधानी वा बाह्य शहरमा भए पनि संघर्ष गरिरहनु भएको हुन्छ। दुई छाक टार्न धौ धौ हुनेहरुका लागि कृतिको मूल्यले पनि केही प्रभाव त पार्ला। अर्को कुरा आयो पठन संस्कृतिको। यदि कसैलाई पढ्ने लत नै लागेको छ। पढ्नै पर्छ भन्नेहरुले साथीभाइसँग खाने चिया, खाजा र अन्य कुराहरु पनि हुन्छन्।

सबै कटाएर पनि किताब किनेर पढ्न सकिने अवस्था हुन्छ। सेकेण्डह्याण्ड किताबहरु पनि किनेर पढ्न सक्ने अवस्था हुन्छ। पढ्ने बानी भएकाहरुले त्यो गरेका पनि हुन्छन्। जसले बढ्दैन उसले किताबको मूल्य, समय लगाएतका विषयमा आफूलाई अल्झाइरहेको पाइन्छ। त्यसैले पनि मैले पढ्ने संस्कृतिको विकास नभएको भन्न सकेकी हुँ।

आफैं लेख्नु हुन्छ, अनुवाद पनि गर्नु हुन्छ। लैख्न सजिलो कि अनुवाद गर्न?

लेखनमा एक प्रकारको तपस्या आवश्यक पर्छ। मेडिटेशन चाहिन्छ। त्यसको मतलब अनुवाद कमजोर भन्ने पक्कै होइन्। अनुवाद गर्नु त अझै कठिन हुन्छ। एउटा भाषामा लेखिएको पुस्तकलाई अर्को भाषामा ढाल्दा कहिलेकतै भाव मेरको हुन्छ।

कृतिको भावलाई मर्न नदिएर, मूल कृतिमा भएको सबै रसहरुलाई, अनुभूति, त्यो भित्रको इमोसनलाई जस्ताको त्यस्तै अर्को भाषामा ल्याउनु भनेको अझै कठिन हुन्छ। तर, असली अनुवादन नै यही हो। दुबै गाह्रो कुरा नै हो। दुबैको लागि अध्ययन, मेहेनत र सम्यम आवश्यक पर्छ।

नेपालीबाट अंग्रेजीमा अनुवाद गर्न सजिलो हुन्छ कि अंग्रेजीबाट नेपालीमा गर्न?

मेरो अनुभवले अंग्रेजीबाट नेपालीमा अनुवादन गर्न सजिलो हुन्छ। किन भने लेखकको लेखकीय मर्म बुझेर त्यो अनुसारको शब्दावली प्रयोग गर्न सकिन्छ। मूल कृतिमा भएको इमोशनलाई जस्ताको त्यस्तै राख्न सकिन्छ।

नेपालीबाट अंग्रेजी गर्दा यो कुरा अलि जटिल हुन्छ। जस्तै, एउटा नेपाली बुकमा ३ वटा शब्दको वाक्यले दिएको इमोसन अग्रेजी ३ वटा शब्दहरुले दिँदैन। त्यसका लागि अर्थ आउने वाक्य लेख्न अरु शब्दहरु थप्न पनि पर्न सक्छ।

बुकाहोलिक्स माफर्त पुस्तक चर्चा गराउनुहुन्छ , यसको उद्देश्य के हो?

म १० वर्ष पहिला यो सुरुवाती गर्दाका दिनमा अपरिपक्क पाठक थिएँ। कुनै ठूलो उद्देश्य राखेर भन्दा पनि समयलाई अलिकति बुझ्ने र समय नभएका पाठकहरुले पनि पुस्तक चर्चा गर्न पाउन भन्ने सामान्य सोचबाट सुरुवाति गरेकी हुँ।

अहिले परिवार बढेर ठूलै भएको छ। धेरै श्रष्टाहरु हुनुहुन्छ, प्रकाशकहरु हुनुहुन्छ, भारत, पाकिस्तान र अमेरिकामा बसेका नेपाली लेखकहरु पनि हुनुहुन्छ। अहिले अन्तर्राष्ट्रिय लेखकहरु सहभागी गराउन सकिएको छ। पुस्तक चर्चाबाहेकको अर्को कुनै ठूलो उद्देश्य थिएन। अहिले पनि त्यही काम हुन्छ।

सिकाइको एउटा नयाँ प्लेटफर्म पनि तयार भएको भनौं। बजारमा आएका पुस्तकहरु, ती पुस्तकका प्रतिक्रियाहरु, पाठकका अनुभवहरु सबै हामीले बुकाहोलिक्समा पाउँछौं।

धेरै पढ्ने व्यक्ति भनेर यहाँले आफ्नो परिचय बनाउनु भएको छ। पढाइले के परिवर्तन ल्याएको छ ?

जस्तो सुकै अवस्था आए पनि आफ्नो उद्देश्यलाई बोकेर अघि बढी रहने संयमता विकास भएको छ। अध्ययनले व्यक्तिलाई चिनाउने काम गर्छ। चाहे अरु होस् या आफू। अनि अर्को कुरा मैले मेरो अधिकांश समय कहाँ प्रयोग गर्ने, मेरो जीवनको उद्देश्य के हो, अहिलेको कामको प्राथमिकता कुन हो।

यस्ता विषयलाई प्रष्ट गर्ने हुँदा आफूले आफूलाई चिन्न सक्ने हुँदा अरु कसैको केही कमेन्टको पछि लागेर समय बर्बाद गरिँदैन। आफ्नो उद्देश्यतर्फ स्पष्ट भएर अगाडि बढ्न सजिलो हुन्छ। मलाई पनि त्यही परिवर्तन ल्याएको छ।

महिला, साहित्य सिर्जना, जागिर, घर यो सब गर्नु कसरी सम्भव छ?

हरेक कुराको सुरुवाती घरबाट हुन्छ। म महिला भए पनि आफूलाई कुनै पनि हिसाबले पुरुषभन्दा कमजोर छु भन्ने सोचेकी छैन। कहिलै लागेन पनि। कामको शिलशीलामा पनि मलाई कहीँ भेदभाव भएको अनुभूति नै गरेन्। मैले मेरो जीवनको उद्देश्य के हो भन्नेकुरालाई सेन्टरमा राखेँ।
जति पनि समस्याहरु आउँछन्, यदि तपाईं आफ्नो उद्देश्यमा अडिक हुनुहुन्छ भने त्यो समय निक्सिँदै जाने रहेछ।

यो इच्छाशक्तिको कुरो पनि हो। एउटा उदाहरण दिउँ। सामाजिक सञ्जालमा कुनै बहस सुरु भयो भने तपाईँले आफूलाई प्रमाणित गर्न मात्र खोजिरहनु भएको हुन्छ। त्यो प्रमाणित गर्न खोज्दा खोज्दै तपाईँको कति समय बितिसकेको हुन्छ थाहै हुँदैन। यो समय व्यवस्थापन गर्न सकिएको अवस्थामा आफ्नो कामको लागि अरुको भर पर्नु पर्छ जस्तो लाग्दैन।

नेपाली साहित्य विश्व बजारमा प्रवेश गर्न नसक्नुको कारण भाषा पनि हो भनिन्छ, हो त?

त्यो पनि हो। तर, सबै कुरालाई भाषाले मात्र पनि फरक पार्दैन। पुराना पुस्ताका केही पुस्तक र अहिलेको पुस्ताका केही पुस्तक, यो मेरो व्यक्तिगत बुझाइको कुरा पनि होला। धेरै राम्रो पुस्तकहरु पनि छैनन्। विश्व साहित्यमा हामीलाई प्रवेश गराउने निकायहरुको पनि यसमा कमजोरी देखिन्छ। त्यतिमात्र नभएर नयाँ पुस्ताको फरक विचारसहितको पुस्तकहरु पनि आएको पाइँदैन।

पुरानाहरुको एउटा लेखकको पुस्तक संख्या भन्दा पनि उनीहरुले कुनकुरा डेलिभरी गरिरहेका छन् भन्ने हेर्दा एउटै पाइन्छ। त्यसपछि भाषाले पनि अवश्य प्रभाव पार्छ नै।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो