गोदान, पूर्णपात्र गरी साउने सोमबार व्रत समापन

डिसी नेपाल
३२ साउन २०७८ २२:४८
32
Shares

काठमाडौं । सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधना व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।

केही भक्तजनले शिवको विशेष पूजाआराधना गरी साउने सोमबारको व्रत समापन गर्ने गरेका छन् । धेरैजसो भक्तजनले भने साउन महिनाका पाँचवटै सोमबार गरेको व्रत समापनका लागि गोदान, पूर्णपात्र गर्ने गर्छन् । पशुपतिनाथ मूल मन्दिर नखुले पनि बाहिरी क्षेत्रमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो थियो ।

विशेषगरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने, पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन् । साउनको पनि सोमबार विशेष मानिन्छ ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरेको बताउनुहुन्छ ।

परम्पराअनुसार कुनै कुल विशेषले चान्द्रमास अनुसारका श्रावण महिनामा साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेष रुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उहाँले सुनाउनुभयो । यस वर्ष साउन ४, ११, १८, २५ र ३२ गते गरी पाँचवटा सोमबार परेकामा आज अन्तिम सोमबार व्रत विशेष पूजा वा गोदान, पूर्णपात्र गरी विधिपूर्वक समापन गरिएको हो ।

नयाँ व्रत सुरु गर्ने पाँचवटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने पनि अध्यक्ष गौतमले जानकारी दिनुभयो । शास्त्रीय मान्यताअनुसार चारवटा सोमबार परेको वर्षबाट पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।

साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिवपुराणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउने सोमबार र तीजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतअनुसार महिलापुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् ।

धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउने भक्तजनको पनि भीड लाग्ने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण बोल बम यात्रा भने विगत वर्ष जस्तो हुन सकेन । फाट्टफुट्ट रुपमा भने भक्तजनले जल ल्याई पशुपतिमा चढाउन नपाए पनि खुला रहेका शिवालयमा भने चढाएका छन् ।

वाग्मती मुहान क्षेत्र सुन्दरीजलबाट पशुपतिसम्म बोलबम गरी जल चढाउने गरिएकामा यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ । साउनभर बोल बम यात्रीले भरिभराउ हुने सुन्दरीजल गत वर्षदेखि नै साउनमा पनि सुनसान बनेको छ । भोलेनाथ काँवरिया सङ्घ, बोल बम काँवरिया सङ्घलगायत संस्थाले यस वर्ष बोल बम काँवर यात्रा स्थगित गरेका थिए । धेरै नेपालीले वर्षमा एकपटक साउन महिनामा घरमा वैदिक रुद्राभिषेकसमेत गर्ने परम्परा छ ।

साउनमा विशेष भीड लाग्ने पशुपतिनाथ मन्दिरलगायत ठूला शिवालय यस वर्ष कोरोनाका त्रासका कारण बन्द गरिएको छ । भक्तजनले भने बन्द रहेको पशुपति मन्दिर परिसरबाटै दर्शन गरेका छन् । आज अन्तिम सोमबार पशुपति परिसरमा उल्लेखनीय रुपमा भक्तजनको भीड देखिन्थ्यो ।

साउनको अन्तिम सोमबार आज गोकर्णेश्वर महादेव मन्दिर, नागरेश्वर मन्दिरलगायत देशभरका शिवालया गोदान, पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गर्ने भक्तजनको भीड लागेको थियो । केही मन्दिरमा भौतिक दूरी कायम गरिएको भए पनि अधिकांशमा सम्भव नहुने गरेको देखिन्थ्यो । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *