‘नेपाली साहित्य बजारमा गुणस्तरको एकदमै खाँचो छ’ – Dcnepal

‘नेपाली साहित्य बजारमा गुणस्तरको एकदमै खाँचो छ’

नेपाली साहित्यमा गरिमामय मानिने मदन पुरस्कार २०७७ का लागि नौं वटा कृतिहरु छनौटमा परेका छन् त्यसमध्ये आठ कृति पुरुष लेखकका छन् भने लेखक प्रभा बरालको पुस्तक ‘फिलिङ्गो’ महिला लेखकको रहेको छ ।

पचासको दशकदेखि नेपाली साहित्यमा प्रवेश गरेकी साहित्यकार प्रभा बरालले महिला सशक्तीकरणका विषयमा लेखेको फिलिङ्गोले २०७७ सालको मदन पुरस्कारको दाबी गर्दै अघि बढिरहेको छ ।

साहित्यकार बरालका ‘शब्दहरु अविराम यात्रामा’ संयुक्त कविता संग्रह २०५७), ‘तृष्णाको पहाडरू’ (गजल संग्रह २०७०), ‘असिनाको कथा’ (बाल कविता संग्रह २०७१), ‘आत्महत्याको जंगल’ नियात्राको संग्रह २०७२) र ‘फिलिङ्गो’ (उपन्यास २०७७) गरी पाँच वटा कृतिहरु प्रकाशित छन्।

नियात्रा समाज नेपालको महासचिवसमेत रहेकी बरालले २०५१ सालमा ‘एउटा बाँच्ने रहर’ कविता मातृभूमि साप्ताहिकमा प्रकाशित गरेर नेपाली साहित्यमा आफ्नो उपस्थिति जनाएकी थिइन् । नेपाली साहित्यमा एमफिल गरेकी उनी अध्यापन पेसामासमेत संलग्न छिन् ।

साहित्यको राजधानी पोखरामा जन्म लिएकी साहित्यकार बरालले पूँजीवादी अर्थव्यवस्था र पित्तृसत्ताको शोषणमा परेकी महिलाको अस्तित्व निर्माणको कथामा आफ्नो कलम चलाइन् र फिलिङ्गोको जन्म दिइन्।

पैसाका लागि जीवनलाई दाउमा लगाउने विकासोन्मुख मुलुकका महिलाको सङ्र्घषपूर्ण कथाकी लेखक बरालसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

साहित्य लेख्ने जोस कसरी पलायो ?
यसरी नै भन्ने त छैन, विद्यालय जीवनमा नेपाली विषय पढ्दा नेपाली शिक्षकले लेख्न लगाउनु हुन्थ्यो । यसबाट कथा कविताप्रति आकर्षण बढ्दै गयो । एकपटक कास्की जिल्ला स्तरीय माध्यमिक कविता प्रतियोगिता भएको थियो । मेरो स्कूलबाट म छनौटमा परेँ र प्रथम स्थान हासिल गर्न सफल भएँ । त्यस घटनाले मलाई निरन्तररुपमा साहित्यतर्फ आकर्षित ग¥यो ।

मैले त्यसपछि नियमित रूपमा कविता लेख्न सुरु गरेँ । औपचारिक त्यो भए पनि राष्ट्रिय स्तरको मातृभूमि भन्ने पत्रिकामा २०५१ सालमा ‘एउटा बाँच्ने रहर’ कविता छापिएपछि निरन्तररुपमा साहित्यमा नै लागिरहेकी छु ।

त्यो बेलामा राष्ट्रियस्तरको पत्रिकामा आफ्नो कविता छापिँदाको अनुभव कस्तो रह्यो ?

त्यतिबेला पत्रपत्रिका खासै धेरै प्रकाशन हुने थिएनन् । धेरै गाह्रो हुन्थ्यो रचना प्रकाशन गर्न । आफ्नो कविता पत्रिकामा आउँदा ठूलो कुरा लाग्थ्यो । पत्रिका किन्न पनि गाह्रो थियो । पोखराको महेन्द्रपुलमा गोरखापत्र बाजेको पसलमा गएर पत्रिका किन्नुपथ्र्यो । पत्रिकामा आफ्नो कविता छापिएको देख्दाको खुसी नै अलगै हुन्थ्यो । त्यो खुसी अहिले कहाँ पाउनु । अहिले त सामाजिक सञ्जालमा आफूले लेख्यो हाल्यो । प्रकाशन गर्न समस्या छैन । पत्रपत्रिका पनि कतिकति । उबेला जस्तो अहिले त छैन नि ।

फिलिङ्गोको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?

यसअघि साहित्यमा लागेका सर्कलले मलाई चिने पनि समग्र प्रभा बराललाई फिलिङ्गोले नै चिनाएको छ । मदन पुरस्कारको लागि छनोटमा परेपछि फिलिङ्गो र लेखकको खोजी भएको छ । फिलिङ्गोको दोस्रो संस्करण पनि प्रकाशित भइसकेको छ । राम्रो प्रतिक्रिया पाएकी छु । सबैले सकारात्मक नै प्रतिक्रिया दिइरहनु भएको छ । लेख्नै पर्ने विषयमा लेख्नु भयो भन्नु हुन्छ । लेखन मौलिक छ, पृथक छ भन्नु हुन्छ । लेखाइ, शब्द संरचना, भावको प्रस्तुति आदिले मन छोयो भन्नु हुन्छ । खुसी लाग्छ, यस्ता प्रतिक्रियाले ऊर्जा पनि प्राप्त भएको छ । आगामी दिनमा अझै काम गर्ने हौसला प्राप्त भएको छ ।

हामी अहिले सङ्ख्यात्मक रूपमा जतिसुकै लेखनकर्ममा भए पनि पुराना पुस्ताका गुरुप्रसाद मैनाली गोविन्द बहादुर गोठाले, विजय मल्ल, पारिजात, देवकुमारी थापा लगायतका पुरानै साहित्यकारलाई किन रुचाइरहेका छौं ? नयाँपुस्ताले लेखेको विषयले किन पाठकको मनलाई तान्न सकेको छैन ? त्यो कुरा ख्याल गर्नुपर्छ । संख्यात्मक रूपमा साहित्यकार मात्र थपिएर भएन।

महिलालाई केन्द्रमा राखेर यहाँले फिलिङ्गो लेख्नु भएको छ । पुरुषहरुले पनि पुस्तक पढ्नुहुन्छ होला । महिला र पुरुषको प्रतिक्रिया एक नासको छ कि फरक छ ?

महिलाको बारेमा लेखेको छु । पुरुष पाठकहरुले नै किन आक्रामक भएर लेख्नु भएन भनेर प्रतिक्रिया दिनुभएको छ । सीमान्ती अझै बोल्ड हुनु पथ्र्यो भन्ने खालका प्रतिक्रिया पाइरहेकी छु । यसको मतलब महिलालाई केन्द्रमा राखेर लेखेको भएता पनि पुरुषहरुले पनि विरोध नगर्ने गरी लेखेकी रहेछु भन्ने लागेको छ । महिला साथीहरुको पनि प्रतिक्रिया त सकारात्मक नै छ ।

जापानमा नेपालबाट गएकी महिला र सङ्घर्षको कथा उपन्यासमा लेख्नु भएको छ । यो लेख्ने भावना कसरी जागृत भयो ?

साहित्यमा लागेको मान्छेले केही न केही नविनतम विषयको खोजी गरिरहेका हुन्छन् । नयाँ ठाउँमा गएपछि, नयाँ कुरा देखेपछि त्यो कुराले छुँदो रहेछ । म पनि लेखनमै लागेकी मान्छे । पहिलो पटक जापान जाँदा मैले नियात्रा ल्याइसकेकी थिएँ ।

पछिल्लो पटक फेरि पनि जापान जाने अवसर पाएँ । केही लेख्नु पर्छ भन्ने सोचमा थिएँ, नेपालबाट वर्षौ अघि जापान गएका दिदीबहिनहरुसँग भेटघाट भयो । उहाँहरुका कथा सुनेँ । मार्मिक थिए ती कथा । यी कुरा सबैले थाहा पाउनु पर्छ भन्ने लाग्यो ।

उहाँहरुको दैनिकी पनि देखेँ, भोगेँ । उहाँहरुको कथा सुनेपछि र आफैले अवस्था बुझेपछि, झन् लेख्नै पर्छ भन्ने लाग्यो र फिलिङ्गो लेखेकी हुँ ।

आर्थिक रुपमा स्वतन्त्र नभएसम्म महिलाहरुमा सशक्तीकरण आउँदैन भन्ने आशय हो ?

अवश्य पनि । जापानकै कुरा गर्ने हो भने जति पनि दिदीबहिनीहरु जानु हुन्छ, कोही विद्यार्थी भिसामा, कोही डिपेन्डेन्ट भिसामा । जसरी गए पनि उहाँहरुले जति कमाउनु हुन्छ त्यसको हकदार र त्यसलाई परिचालन गर्ने अर्कै मान्छे हुन्छन् । उहाँको घर परिवार, श्रीमान आदि । आफूले कमाएको आर्जन श्रीमान वा परिवारको हातमा पारेपछि भोलिपल्टदेखि नै ती दिदीबहिनी पुनः अरुमा निर्भर भएर बाँच्नु पर्ने अवस्थाको श्रृजना हुन्छ । आफूले महिना दिनसम्म दुःख गरेर कमाउने तर आफू आर्थिकरुपमा स्वालम्बन नहुने । आफ्नो कमाइमा स्वामित्व कायम गर्न नसक्ने अवस्था छ ।

परिवारलाई दिएपछि उहाँहरुकै निगाहमा चल्नु पर्ने परिस्थिति देखिएको छ । त्यो त्यहाँको मात्र कुरा नभए सम्पूर्ण देशमा कमाइ गर्न जाने र नेपालमै पनि कमाइ गर्ने हरेक महिलाको वास्तविकता हो । त्यसैले पनि मैले आर्थिक स्वतन्त्रताको कुरालाई अलि बढी जोड दिएर उठाएकी हुँ ।

शिक्षाको कमी भएका कारण चेतना आएन । चेतना नभएपछि आफ्नो कमाइमा पनि आफूलाई स्वस्फूर्तरूपमा खर्च गर्ने वातावरण बनेन । मेरो कमाइ कस्तो ठाउँमा लगानी भएको छ भन्ने कुरा पनि उहाँहरुले थाहा पाउनु हुन्न । आफ्नो कमाइ अरुको हातमा दिँदा भोलीको जीवनमा कस्ता खालका अफ्ठेराहरु आउलान्, त्यो अफ्ठेरो परिस्थितिलाई कसरी सामना गर्ने भन्ने कुरा पनि हुन्छन् ।

यी सम्पूर्ण कुराको निचोड के भन्दा, आर्थिक स्वतन्त्रता नभएसम्म महिलामा परिवर्तन आउँदैन र आए पनि देखिँदैन भन्ने नै हो । यदि आर्थिकरूपमा स्वतन्त्र भइएन भने स्वतन्त्र अनुभव नै गर्न सकिँदैन र मानसिक सुख पनि पाइदैन । आत्मनिर्णयको क्षमताको विकास पनि हुँदैन । पैसा कमाउनु भन्दा ठूलो कुरा आफ्नो स्वामित्व कायम गर्न सक्नु र त्यसलाई उपयोग गर्न सक्नु हो ।

नियात्रा समाज नेपालको महासचिव हुनुहुन्छ । फेरि उपन्यासतिर किन लाग्नु भयो त ?

नियात्रा पनि लेखिरहेकी छु । जापानसँग नै सम्बन्धित ‘आत्महत्याको जंगल’ भन्ने नियात्रा लेखेकी छु । अरु पनि सोचमा छन् । एउटै विधामा खुम्चिन पर्छ भन्ने छैन । फेरि नियात्राभित्र मैले देखेका कथाहरु समेट्न सकिने थिएन । त्यसैले आख्यानको आवश्यक्ता देखेँ ।

मैले उपन्यास लेखनमा नै दिदीबहिनीले भोगेको कथालाई न्याय गर्छु जस्तो लाग्यो र उपन्यास लेखेँ । मैले आख्यानमा काम गर्ने मनस्थिति पनि बनाएकी थिएँ । यही कारण पनि यो उपन्यासमा आएकी हुँ ।

यहाँको गजल, कविता, नियात्रा र उपन्यास विधाका संग्रह बजारमा छन् । कुन विधा लेख्न सजिलो ठान्नुहुन्छ ?

लेखनीमा सजिलो त कुनै पनि विषय हुँदैन । हरेक विधामा कलम चलाउँदा त्यतिकै साधनाको आवश्यक्ता पर्छ । तुलनात्मक लेखनीको कुरा गर्दा नितान्त मेरो व्यक्तिगत अनुभवमा नियात्रा लेख्दा अलि सजिलो जस्तो अनुभव गरेँ । यसमा आफ्ना अनुभूतिहरु खुलेर लेख्न पाइन्छ । बरु, गाह्रो मलाई उपन्यास लेख्न लाग्यो । उपन्यासमा कथावस्तुमा धैर्य देखाएर बारम्बार पुनर्पठनदेखि, पुनर्लेखन गर्नुपर्ने हुन्छ । पात्रहरू प्रति न्याय गर्न सक्नु पर्छ । लामो समयसम्म एउटै विषयलाई लिएर, भाषाशैली आदि विषयमा निरन्तर लागिरहनु पर्ने भएकाले अलि गाह्रो लाग्यो ।

कवितामा हुने बिम्ब र प्रतीकको प्रयोग नियात्रा र उपन्यासमा हुन्छ कि हुँदैन ?

नियात्रा र उपन्यासमा पनि लेखनीलाई पठनयोग्य बनाउनका लागि सुन्दर भाषाशैलीको प्रयोग गरिन्छ, कलात्मक भाषाको प्रयोग हुन्छ । काव्यात्मक बनाउने प्रयास हुन्छ ।

फिलिङ्गो मदन पुरस्कारका लागि छनोट पनि भएको छ, पुरस्कार पाउने सम्भावना कत्तिको देख्नुहुन्छ ?

पाउँछ कि पाउँदैन भन्ने कुरा त मेरो वशमा छैन । मैले भन्न सक्ने कुरा पनि हैन । मदन पुरस्कारको लागि छनौटमा परेका नौ वटा कृतिमा फिलिङ्गो पनि परेको छ । यो परेपछि नै मलाई पुरस्कार पाएको जस्तै अनुभूति भएको छ । उत्साह र हौसला मिलेको छ । पाठकहरु बढ्नु भएको छ । अर्को कृतिमा काम गर्ने हौसला प्राप्त भएको छ । नौ वटा कृतिहरुलाई अध्ययन गर्दा फिलिङ्गो सशक्त कृति छ, कमजोर छैन भन्ने लागेको छ ।

हरेक कृतिहरुको आ–आफ्नो विशेषता छ । छनौट समितिले पनि केही देखेर नै छनौट गर्नु भयो होला । फिलिङ्गोमा नारीसत्वको कुरा उठाइएको छ । महिलाको सत्वलाई आधार बनाएर लेखिएको कारण पनि यो अझै बलियो रुपमा प्रस्तुत भएको छ भन्ने लाग्छ ।

नेपाली साहित्यकारलाई किताब प्रकाशनका लागि ठूलो समस्या बेहोर्नु पर्छ भनिन्छ, यहाँको अनुभवले के भन्छ ?
प्रकाशनका पीडाहरु यति ठूलो छ कि एकदमै लामो बहस हुन सक्छ । सरकारीस्तरमा यस्ता खालका प्रकाशन गृहहरु छैनन् । एउटै साझा प्रकाशन थियो त्यसको पनि कन्तबिजोग पारेर छोडेका छन । लेखकले लेख्ने कि छाप्ने । बजार वितरण गर्ने कि, एकदमै जटिल र पीडादायी कुरा छ ।

धेरै जसो लेखकहरु यो कुरालाई लिएर चिन्तित हुनुहुन्छ । एक दर्जन पाण्डुलिपि लिएर प्रकाशन गृहको खोजीमा भौतारिरहेका लेखकहरु पनि देखिएको छ । कति जनाको आ–आफ्नो पकडका व्यक्तिहरुको पुस्तक छापिने गरेको पनि बजारमा सुन्न पाइन्छ । मैले पनि फिलिङ्गो भन्दा पहिलाका कृतिहरुमा यो पीडा भोगेकी हुँ ।

नेपाली साहित्यमा आउने पुस्तालाई के सुझाव दिन चाहनु हुन्छ ?

नेपालमा हरेक क्षेत्रमा विकास हुन बाँकी छ । देश विकास भयो भने नै सबै क्षेत्रहरु विकसित हुन्छन् । हामीले लेखेका साहित्यहरु अनुवाद नभएर विदेशी पाठकहरुले पढ्न पाएका छैनन् । त्यो पीडा अलगै छ । हामी नेपालमै सीमित भएका छौं, खुम्चिएर बसेका छौं त्यो कुरा हुँदाहुँदै पनि साहित्यमा नयाँ प्रवेश गर्नेहरुको उत्साह राम्रो छ । त्यो खुसीको कुरा हो ।

हामी अहिले सङ्ख्यात्मक रूपमा जतिसुकै लेखनकर्ममा भए पनि पुराना पुस्ताका गुरुप्रसाद मैनाली गोविन्द बहादुर गोठाले, विजय मल्ल, पारिजात, देवकुमारी थापा लगायतका पुरानै साहित्यकारलाई किन रुचाइरहेका छौं ? नयाँपुस्ताले लेखेको विषयले किन पाठकको मनलाई तान्न सकेको छैन ? त्यो कुरा ख्याल गर्नुपर्छ । संख्यात्मक रूपमा साहित्यकार मात्र थपिएर भएन।

अहिले प्रतिस्पर्धाको जमाना छ । यो जमानाअनुसार हामी आफूलाई एकदमै गुणात्मक रूपमा विकास गरेर अगाडि बढ्नुु पर्छ भन्ने लाग्छ । यसका लागि प्रशस्त मात्रामा अध्ययन गर्नुपर्छ । जबसम्म अध्ययन गरिँदैन, साधना गरिँदैन, साहित्यमा निखारपन आउँदैन । नयाँ पन आउँदैन । पहिला त आफ्नो समाज पढ्नु प¥यो, अनि अन्तर्राष्ट्रिय समाज पनि पढ्नु प¥यो । अनिमात्र साहित्यमा लाग्नुस् भन्न चाहन्छु । नेपाली साहित्य बजारमा गुणस्तर लेखनको एकदमै खाँचो छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो