मालपोलतको राजश्व बढ्यो

डिसी नेपाल
५ भदौ २०७८ २२:४९

बैतडी । मालपोत कार्यालय बैतडीको राजश्व सङ्कलनमा वृद्धि भएको छ । कार्यालयले गत आर्थिक वर्षमा रु ८३ लाख ३६ हजार ११० राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा रु ६१ लाख २६ हजार २७९ मात्र राजश्व सङ्कलन भएकामा गत वर्ष रु २२ लाख नौ हजार ८३१ ले बढी सङ्कलन भएको मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुख दिलाराम भट्टले बताए ।

कार्यालयले सबैभन्दा बढी रजिष्ट्रेशन शुल्कवापत रु ५३ लाख २७ हजार ४१३, पूँजीगत लाभकरवापत रु १३ लाख ४५ हजार ७४२, सेवाशुल्कबाट रु १६ लाख ५५ हजार ४०५, पूर्जा बिक्रीबाट रु एक हजार २५० र बेरुजु असुलीबाट रु छ हजार ३०० सङ्कलन भएको हो ।

जिल्लाका सबै स्थानीय तहमा सडक सञ्जालले जोडिएपछि र बैंकिङ सुविधा भएपछि जमिनको कारोबारमा वृद्धि भइरहेको छ । जमिन धितो राखेर बैंकबाट ऋण लिनेको सङ्ख्या बढेको छ ।

कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनले गर्दा भने तुलनात्मक रुपमा राजश्व सङ्कलन कमी आएको कार्यालयले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालय बैतडीको गत आर्थिक वर्षको राजश्व सङ्कलनमा ५० प्रतिशतले घटेको छ । उद्योग दर्ताको सङ्ख्यामा बढेको भए पनि कार्यालयको गत आर्थिक वर्षको राजश्वमा आव २०७६/७७ को भन्दा आधाले घटेको हो । राजश्व घटे पनि उद्योगको सङ्ख्यामा भने आव २०७६/७७ को भन्दा गत वर्षमा आधाभन्दा बढीले वृद्धि भएको पाइएको छ ।

कार्यालयमा आव २०७६/७७ मा उद्योगतर्फको कूल राजश्व रु १६ लाख छ हजार २०० थियो भने गत वर्षमा घटेर रु आठ लाख ८० हजार ३५० मात्र सङ्कलन भएको छ । यस्तै वाणिज्यतर्फ पनि आव २०७६/७७ मा रु २० लाख १६ हजार ८०० छ भने गत वर्षमा घटेर रु नौ लाख ६५ हजार ५५० मात्र सङ्कलन भएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बादत्त जोशीले बताए ।

आव २०७६/७७ मा उद्योगतर्फ २५६ उद्योग दर्ता भएका थिए भने गत वर्ष बढेर ८४९ उद्योग दर्ता भएका छन् । यसैगरी वाणिज्यतर्फ आव २०७६/७७ मा ३३१ उद्योग दर्ता भएका थिए भने गत वर्षमा बढेर ६८० उद्योग दर्ता भएका छन् । गत आवमा सरकारले उद्योग दर्ता गरेर काम गर्ने महिला र पुरुषलाई राजश्वमा छुट गरेको कारणले गत वर्षमा राजश्वमा कमी आएको हो ।

गत आवदेखि रु एक लाखसम्म पूँजी भएको महिलाको नाममा उद्योग दर्ता भएमा दर्ता शुल्क रु ६०० लाग्छ भने पुरुषको नाममा दर्ता भएमा रु एक हजार १०० मात्र दर्ता शुल्क लाग्ने छ । यस्तै रु १० लाखदेखि ५० लाख पूँजी भएको उद्योग महिलाको नाममा दर्ता भएमा रु दुई हजार ६०० र पुरुषको नाममा दर्ता भएमा रु पाँच हजार १०० मात्र दर्ता शुल्क लाग्ने कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *