अफगानिस्तानलाई ‘साम्राज्यहरुको चिहान’ किन भनिन्छ ?

डिसी नेपाल
६ भदौ २०७८ १०:०२

काठमाडौं। अफगानिस्तानमा यस्तो के छ जसका कारण उसलाई साम्राज्यहरुको चिहान भनिन्छ? आखिर किन अमेरिकादेखि लिएर बेलायत, सोभियत संघ समेत विश्वका ठूला शक्तिहरु यसलाई जित्ने कोसिसमा असफल भए ? यो एक यस्तो प्रश्न हो जसको जवाफ अफगानिस्तानको इतिहास र भूगोलमा पाइन्छ।

१९ औं शताब्दीमा जब विश्वको सबैभन्दा शक्तिशाली रहेको बेलायती साम्राज्यले आफ्नो पूरै शक्तिका साथ यसलाई जित्ने कोसिस गर्‍याे तर १९१९ मा अन्ततः बेलायतले अफगानिस्तान छोडेर जानुपर्‍याे र उनीहरुलाई स्वतन्त्रता दिनुपर्‍याे। त्यसपछि सोभियत संघले १९७९ मा अफगानिस्तानमा आक्रमण गर्‍याे।

उद्देश्य थियो १९७८ मा सत्तापलट गरेर स्थापित कम्युनिस्ट सरकार ढल्नबाट बचाउन सकियोस्। तर उनीहरुलाई हामी युद्ध जित्दैनौं भन्ने बुझ्न १० वर्ष लाग्यो।

बेलायती साम्राज्य र सोभियत संघको बीचमा एउटा कुरा यस्तो छ जो दुवैमा लागू हुन्छ। दुवै साम्राज्यले जब अफगानिस्तानमा आक्रमण गरे त्यतिबेला उनीहरु आफ्नो शक्तिको चरममा थिए। तर यो आक्रमणपछि विस्तारै दुवै साम्राज्य टुक्रिन थाले।

२००१ मा अमेरिका नेतृत्वमा आक्रमण र त्यसपछि कैयौं वर्षसम्म चलेको युद्धमा लाखौं मानिसको ज्यान गयो। यो आक्रमणको २० वर्षपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउने निर्णय गरेका छन्।

यो विवादास्पद फैसला थियो जसको विश्वभर कडा आलोचना गरियो। यो निर्णयको कारण अफगानिस्तानको राजधानी काबुलमा यति छिटो तालिबानको कब्जा भयो। बाइडेनले आफ्नो फैसलाको बचाउ गर्दै अमेरिकी जनतालाई यस्तो युद्धमा मार्न हुँदैन जुन अफगानी स्वयं लड्न चाहँदैनन् भनेका छन्।

साम्राज्यहरुको चिहानको रुपमा अफगानिस्तानको ख्यातीको स्मरण गर्दै बाइडेनले भने ‘चाहे जति पनि सैन्य शक्ति लगाउनुस् एक स्थिर, एकजुट र सुरक्षित अफगानिस्तान हासिल गर्नु सम्भव छैन।’

पछिल्लो शताब्दीमा अफगानिस्तानलाई नियन्त्रित गर्न चाहने विश्वका सबैभन्दा शक्तिशाली सेनाहरुको लागि अफगानिस्तान एक चिहानजस्तै साबित भएको छ। सुरुवातमा यी सेनाले थोरै सफलता भलै पाएका थिए तर अन्ततः उनीहरुले अफगानिस्तान छोडेर भाग्नै पर्‍याे।

अफगानिस्तानको इतिहासमा ‘अफगानिस्तानः साम्राज्यहरुको चिहान’ किताब लेख्ने रक्षा र विदेश नीति विश्लेषक डेविड इस्बीले बीबीसी मुण्डोसँग भने ‘अफगानिस्तान निकै शक्तिशाली होइन। अफगानिस्तानमा जे भएको छ आक्रमणकारी शक्तिको गल्तीका कारण भएको छ।’

इस्बीका अनुसार निष्पक्ष रुपमा हेर्ने हो भने अफगानिस्तान निकै कठिन ठाउँ हो। यो एक जटिल देश हो जहाँ आधारभूत संरचना निकै खराब छ। विकास निकै सीमित छ र चारैतिरबाट जमिनले घेरिएको छ। इस्बी भन्छन् ‘तर सोभियत संघ, बेलायत वा अमेरिका कुनै पनि साम्राज्यले अफगानिस्तानका विषयमा लचिलोपन देखाएनन् । उनीहरु आफ्नो तरिकाले चलाउन चाहन्थे तर उनीहरुले अफगानिस्तानको जटिलता बुझ्न सकेनन्।’

भनिन्छ, अफगानिस्तानलाई जित्न असम्भव छ। यो एक गलत बयान हो। इरानी, मंगोल र सिकंदरले अफगानिस्तानलाई जितेका छन्। तर यो तय हो कि यो एक यस्तो दुस्साहस हो जसको मूल्य चुकाउनु पर्छ। र, यसअघि काबुलमा आक्रमण गर्ने पछिल्ला तीन साम्राज्य आफ्नो प्रयासमा नराम्रोसँग असफल भएका छन्।

१९ औं शताब्दीमा अफगानिस्तान बेलायती र रुसी साम्राज्यबीच मध्य एसिया नियन्त्रित गर्ने प्रमुख मञ्च थियो। कैयौं दशकसम्म रुस र बेलायतबीच कुटनैतिक र राजनैतिक संघर्षपछि अन्ततः बेलायतले जित्यो। तर, बेलायतले यसको भारी मूल्य चुकाउनुपर्‍याे । बेलायतले १८३९ देपख १९१९ सम्म तीन पटक अफगानिस्तानमाथि आक्रमण गर्यो र भनिन्छ तीनै पटक बेलायत फेल भयो।

पहिलो एंग्लो अफगान युद्धमा बेलायतले १८३९ मा अफगानिस्तानमाथि कब्जा गर्‍याे। बेलायतले आफूले यो कदम नचालेमा ऊभन्दा पहिले रुसले अफगानिस्तान कब्जा गर्छ भन्ने ठानेको थियो तर उसले यो युद्धमा ऐतिहासिक हारको सामना गर्नुपर्‍याे।

केही जनजातिहरुले निकै सामान्य हतियारले विश्वको सबैभन्दा शक्तिशाली सेनालाई हराइदिए। ३ वर्षको आक्रमणपछि अन्ततः अफगानिस्तानले आक्रमणकारी सेनालाई भाग्न बाध्य पार्‍याे। १८४२ मा बेलायती क्याम्पबाट जलालाबादको लागि निस्किएको १६ हजार सैनिकका फौजमा केवल १ बेलायती जिउँदै फर्किएका थिए।

अर्कोपटक १८७८ देखि १८८० बीच भएको एंग्लो अफगान युद्धमा अफगानिस्तान बेलायत संरक्षित राज्य बन्यो। तर, बेलायतले काबुलमा एक रेजिडेन्ट मन्त्री राख्ने आफ्नो नीति त्याग्नुपर्‍याे। यसको सट्टा बेलायतले नयाँ अफगान अमिर छानेर आफ्नो सेना फिर्ता बोलायो।

तर, १९१९ मा यी नयाँ अमिरले अफगानिस्तानलाई बेलायतबाट स्वतन्त्र घोषित गरेपछि तेस्रो एंग्लो अफगान युद्ध सुरु भयो । ४ महिनाको युद्धपछि बेलायतले अफगानिस्तानलाई स्वतन्त्र घोषित गर्‍याे।

१९२० को क्रममा अमिर अमानुल्लाह खानले देशलाई सुधार्ने कोसिस गरे। यसमा महिलाहरुका लागि बुर्का लगाउने प्रथाको अन्त्य गरियो । यो प्रयासले केही जनजाति र धार्मिक नेताहरु असन्तुष्ट भएपछि गृहयुद्ध सुरु भयो। यो संघर्षका कारण अफगानिस्तान कैयौं वर्षसम्म तनावपूर्ण रह्यो।

१९७९ मा सोभियत संघले अफगानिस्तानमाथि आक्रमण गर्यो ताकि असंगठित कम्युनिस्ट सरकारलाई सत्तामा कायम राख्न सकियोस् । कैयौं मुजाहिदीन संगठनले रुसविरुद्ध युद्ध सुरु गरे। यी संगठनले अमेरिका, पाकिस्तान, चीन, इरान र साउदी अरेबियासँग हतियार र पैसा लिए ।

यो युद्धमा करिब १५ लाख मानिसको मृत्यु भयो र ५० लाख शरणार्थी बने। एक समय सोभियत संघको सेनाले शहरहरुमा नियन्त्रण गरेको थियो तर ग्रामीण क्षेत्रमा मुजाहिदीनहरु स्वच्छन्द तरिकाले घुम्थे।

तत्कालीन सोभियत नेता मिखाइल गोर्वाचोभलाई महसुस भयो कि रुसी अर्थव्यवस्था बदल्ने कोसिस गर्दै युद्ध जारी राख्न सकिँदैन। अन्ततः १९८८ मा उनले सेना फिर्ता बोलाउने निर्णय गरे।

२००१ सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकाले अल कायदाको अन्त्य गर्न भन्दै अफगानिस्तानमा आक्रमण गर्‍याे। यसअघिका २ साम्राज्यजस्तै अमेरिका पनि छिटै काबुल जित्न र तालिबानलाई आत्मसमर्पण गराउन सफल भयो।

३ वर्षपछि अफगान सरकार अस्तित्वमा आयो तर तालिबानको आक्रमण जारी रह्यो । पूर्व राष्ट्रपति बाराक ओबामाले २००९ मा सैन्य संख्या बढाएपछि तालिबान पछि हट्यो तर यो अवस्था धेरै समय रहेन।

२०१४ पछि अमेरिकाले आफूलाई अफगानी सेनालाई आवश्यक सामग्री उपलब्ध गराउनेसम्म मात्रै सीमित राख्दै जिम्मेवारी अफगानी सेनालाई दिएपछि धेरै रक्तपात हुन थाल्यो। यही कारण तालिबानले धेरै क्षेत्र कब्जा गर्न थाल्यो।

अर्कोतर्फ अमेरिकी युद्ध धेरै खर्चिलो भयो । लगातार आलोचना हुन थालेपछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग सम्झौता गर्दै अमेरिकी सेना फिर्ता बोलाउने निर्णय गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *