एनआरएनए आइसीसीको चुनावी रौनक, अध्यक्ष र उपाध्यक्ष पदमा क-कसकाे दाबी?

रिता बस्नेत
९ भदौ २०७८ ६:५६

काठमाडौं । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १०औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अक्टोबर २३–२५, २०२१ मा हुने भएको छ।

त्यसका लागि संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिने निर्णय समेत गरिएको छ । सोहि समयमा आगामी कार्यकाल २०२१–२०२३ को लागि नेतृव चयन पनि हुनेछ ।

अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय भएको छ । निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरिएको छ ।

निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम भएको छ । नेपाल सरकारले अधिवेशनलाई व्यवस्थापन गर्न सधांझैं परराष्ट्रमन्त्रीको अध्यक्षतामा कार्यदल गठन गरिसकेको छ ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी)को केन्द्रीय निर्वाचन हुन अब दुई महिना पनि बाँकी छैन् । नयाँ कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन दौडधुपमा व्यस्त देखिन्छन् ।

यतिबेला दशौं विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने चुनावको गर्मी निकै बढेको छ । सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आइसीसी तथा क्षेत्रीय नेतृत्वका लागि दाबेदारी दिनेहरू बढिरहेका छन् ।

अध्यक्ष र उपाध्यक्ष पद घोषणा गरेका केही उम्मेदवारहरुः

कुल आचार्य :– एनआरएनएका सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको धाइरिङमा जन्मिएका आचार्य विगत दुई दशकदेखि बेलायतलाई कार्यक्षेत्र बनाएर व्यवसायमा संलग्न छन् । आचार्यले एनआएनएमा देखिएको चरम लापरबाही, व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।

उनले संस्थाको सुदृढीकरण र शुद्धीकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । नवौं महाधिवेशनमा पनि उनी अध्यक्षका प्रत्यासी थिए ।

डा.बद्री केसी :– एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीले संघको दशौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका बताएका छन । डा.केसीले सन् २००३ देखिनै आफू एनआरएन अभियानमा लागेको बताउँदै एनआरएनएको रुपरेखा कोरिसकिएकाले त्यसलाई पूरा गर्ने जिम्मेवारी आफूले लिने बताए ।

दुई कार्यकाल केन्द्रीय सदस्य, एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र अहिले उपाध्यक्ष रहेका उनले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । बौद्विक वर्ग र दोस्रो पुस्ताका युवाहरुलाई एनआरएनमा आबद्ध गराउने आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताएका छन्।

डा.हेमराज शर्मा :— एनआरएनएका महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । डा.शर्माले महासचिवको बागडोर समालेपछि स्मार्ट एनआरएनए अन्तरर्गत विश्वभर छरिएका ८० भन्दा बढी देशका पन्जिकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता महत्पूर्ण निर्णयहरु विशेष महाधिवेशनमार्फत विधान संशोधन गरेर संघलाई रुपमान्तरण बाटोमा अघि बढाएका छन्।

डा.शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । १५ भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए । डा.शर्मा संघको परिमार्जित नयाँ विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत हुन्।

बाग्लुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनभित्रका सकृय प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित छन् । उनले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्डमेडल समेत हासिल गरेका छन् ।

धर्मराज अधिकारी :— एनआरएनएको १०औँ महाधिवेशनमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उपाध्यक्ष उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा सकृय र परिचित अधिकारी आगामी उपाध्यक्ष पदका लागि सबैका साझा उम्मेदवार बनेका छन्। नेपालबाट अध्ययन र व्यापारको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको हरेक अभियानमा सरिक हुँदै आएका छन्।

अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएन लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सीप तथा ज्ञानको प्रवर्धन गर्ने महत्वपूर्ण एजेन्डासहित उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

राज रेग्मी :— एनआरएनएको आगामी १०औं महाधिवेशनमार्फत चुनिने नयाँ कार्यसमितिमा मध्यपूर्व युवा संयोजक राज रेग्मीले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मीको भनाइ छ ।

एनआरएनए कतार तथा विभिन्न संघसंस्थामा रहेर र अहिले मध्यपूर्व युवा संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका रेग्मीले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

सुनिल साह :– एनआरएनएको आगामी कार्यकाल २०२१–२३ का लागि उपाध्यक्ष पदमा अमेरिकाबाट सुनिल साहले उम्मेदवारी घोषणा गरेका छन्। उनी लामो समयदेखि गैरआवासीय नेपालीका हक अधिकारकालागि विभिन्न संगठन तथा मञ्चमार्फत सक्रिय छन् । साह एनसीसी अमेरिकाको निवर्तमान अध्यक्षसमेत हुन् ।

लामो समयदेखि अमेरिकालाई कार्यथलो बनाएका साहले अमेरिकामा रहेर आफूले सिकेको ज्ञान, शिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक सम्वृद्धिका लागि प्रयोग गर्ने बताएका छन्। आफूले बटुलेको अनुभव र अग्रजको संयोजनका आधारमा केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर संघलाई अर्को उचाइमा पुर्याउने उद्देश्य रहेको उनले बताए ।

एसी शेर्पा :— एनआरएनएको १०औँ विश्व सम्मेलन तथा महाधिबेशनमा अमेरिकाबाट आङछिरी शेर्पा (एसी शेर्पा) ले आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । संघप्रतिको निःस्वार्थ र निरन्तर सहभागितालाई आगामी कार्यकालमा पनि कायम राख्दै संस्थामार्फत अझ सेवा पुर्‍याउनका लागि पूर्वअमेरिकाज् क्षेत्रीय उपसंयोजक तथा आइसीसीका वर्तमान सल्लाहकार शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन्।

‘पद्धति र पारदर्शिताः समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख एजेण्डासहित शेर्पाले आइसीसी उपाध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका हुन् । एनआरएनएमा पद्धति र पारदर्शिताको विकास गरी समावेशी एनआरएनए बनाउन र एनआरएनएभित्र फोहोरी राजनीतिको गन्धसमेत छिर्न नदिन आफ्नो उम्मेदवारी दिएको बताएका छन् ।

महेश श्रेष्ठ :— एनआरएनए/आइसीसीका कोषाध्यक्ष महेश कुमार श्रेष्ठ उपाध्यक्षका उम्मेदवार हुने भएका छन् । नेपालमा मात्र नभएर व्यबसायिक रुपमा नेपालीहरुको विश्वब्यापी रुपमा लगानी बिस्तार गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै प्रमुख एजेण्डा बनाएर काम गर्न उपाध्यक्षका लागि उम्मेदवार भएको उनले बताएका छन्।

उनी बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ जापानका स्थायी वासिन्दा हुन् । नेपालबाट समाज शास्त्रमा एमए गरेका श्रेष्ठले त्यो भन्दा विल्कुलै फरक सिभिल इन्जिनियरिङमा ग्राजुएट गरेका छन्। यस बाहेको जापानको ग्लोबिस युनिभर्सिटीबाट एमबीए गरेका छन् ।

श्रेष्ठ नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत रहिसकेका छन्। उनको नेपाल र जापानमा धेरै व्यवसाय रहेको छ। १९९४ मा जापान पुगेका श्रेष्ठ २००७ मा नेपाली कांग्रेसको विदेशस्थित रहेको नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष भएका थिए।

त्यसपछि नेपाली कांग्रेसको १२औं र १३औं महाधिवेशनका लागि महासमिति सदस्य रहेका छन्। गैरआवासीय नेपाली संघमा आइसीसी सदस्यबाट २०१९ मा भारी मतले कोषाध्यक्ष जितेका श्रेष्ठले यो पटक भने उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

विश्वका ८५ वटा देशमा एनआरएनएले आफ्नो शाखा बिस्तार गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *