सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने एमालेको निर्णय

डिसी नेपाल
१० भदौ २०७८ १७:३६

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने भएको छ ।

बिहीबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले आफ्ना १४ जना सांसदलाई विधान र कानुनबमोजिम गरिएको कारबाहीलाई अघि नबढाएको भन्दै एमालेले सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो । बैठकले पार्टीको कारबाहीमा परेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध पनि अदालत जाने निर्णय गरेको छ ।

माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट निलम्बन गरेको सूचना एमालेले १ भदौमा संघीय संसद सचिवालयलाई जानकारी गराए पनि सचिवालय त्यसको सूचना जारी नगरेपछि एमाले सभामुखविरुद्ध अदालत जाने भएको हो ।

कारबाहीमा परेका नेपालसहितका नेताहरुको सनाखत लिएर नेकपा एकीकृत समाजवादी दल दर्ता गरेको भन्दै आयोगविरुद्ध पनि अदालत जाने एमालेले निर्णय गरेको हो । बिहीबारको बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णयसमेत गरेको छ ।

यसैगरी, पार्टी १०औँ महाधिवेशनको मिति सार्ने पनि निर्णय गरेको बैठकले १० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। कार्यान्वयन सहजीकरणका लागि महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *