कैलालीमा बाढीको वितण्डा : सयभन्दा बढी घर प्रभावित, एक जनाको मृत्यु

डिसी नेपाल
११ भदौ २०७८ १५:१७

धनगढी। बिहीबार राती परेको बर्षाका कारण कैलालीका विभिन्न क्षेत्रमा आएको बाढीले जनजीवन कष्टकर बनाएको छ । कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बाढीका कारण लम्कीचुहा नगरपालिका–६ कि ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको छ। गुलरा नदीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। बाढीमा परेका दुईजनाको भने उद्धार गरिएको छ।

प्रहरीका अनुसार कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनी बस्ने दाजुबहिनी राजाराम सापकोटा र आरती सापकोटा घाँस काट्न गएको बेला शिवगंगा नदी र झिलखोलाकोबीच भागमा फसेका थिए। उनीहरुको मध्यराति उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल गरि करिब ५० जनाको टोलीले उद्धार गरेको सूचना अधिकारी जोशीले बताए।

बाढीले जिल्लामा एक घर बगाएको छ भने सय बढी घरमा पानी पसेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा बाढी आउँदा कैलाली–कञ्चनपुर जोड्ने स्काइ फोल्डिङ पुल, दुर्गा मन्दिरस्थित गणेशदत्त पाण्डेको इँटाले बनेको टिनले छाएको एक कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतिक्षालय बगाएको छ।

यस्तै धनगढी उपमहानगरपालिका ३ र कञ्चनपुरको बाइसेविचुवा जोड्ने मोहना नदीमा निर्माणाधीन पक्कीपुलको दुवै किनारमा भरान गरिएको माटो बगाउँदा आवागमन ठप्प भएको छ। पथरैया नदीमा आएको बाढी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जानकी गाउँपालिका वडा नम्बर ४ र ७ मा पथरैया नदी बस्तीमा पसेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए।

‘जानकी गाउँपालिका वडा नम्बर ४ का ८० घर र वडा नम्बर ७ का ५८ घरमा पानी पसेको छ’, उनले भने, ‘सशस्त्र प्रहरीको टोली त्यहाँ उद्धारको लागि खटिएको छ ।’
यस्तै कर्णाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ। चुरे क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण कर्णाली नदीले तटबन्ध भत्काएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए।

यस्तै कैलारी गाउँपालिका वठा नम्बर ७ छटकपुर बसन्ता गाउँमा कटैनी नदिमा आएको बाढी पसेको छ । नदिमा आएको बाढी ३० भन्दा बढी घरमा पसेको स्थानीय जीया चौधरीले जानकारी दिए । यस्तै कटैनी नदिको बाढी वडा नम्बर ७ अन्तर्गत बर्का बसन्ता, भुँइयाँफाँटा र रामपुर गाउँमा पनि पानी पसेको स्थानीयले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *