दिनदहाडै अमेरिकाको ओहायोमा यसरी लुटियो नारायणको सुन पसल (लुट्दै गरेको भिडियोसहित) 

चूडामणि भट्टराई
१२ भदौ २०७८ ७:४१

वासिंगटन डिसी। उनका ग्राहक प्रायजसो नेपाली भाषी नै हुन्थे, नेपालीहरु आउँथे, आफूलाई चाहिएको सामान किनेर लैजान्थे, यी वाहेक फाट्ट फुट्टमात्र अरु मानिसहरु उनको पसलमा पुग्थे।

तर, त्यसदिन अचम्म भयो, टाउकोमा फेटा बाँधेका चारवटी महिला र एशियन मूलका (तर,नेपाली होइनन्) दुईजना लोग्ने मान्छे ज्वेलरी किंग युएसए नामको सुन पसलमा पसे। उनीहरुको अंग्रेजी भाषा पनि कमजोर अर्थात् स्पष्ट थिएन। एकछिन पसलभित्र यो हेर्ने, त्यो हेर्ने, यो देखाऊ, त्यो देखाऊ भनेर सबै थोक किन्न खोजेजस्तो गरेर उनीहरुले आफ्नो हाउभाउ देखाए।

यसैबीचमा एकसय डलर मूल्य पर्ने सुनको नत्थी र २० डलर पर्ने चाँदीको औंठी पनि किने। ६ जनाको समूहमा पसेका उनीहरुले सुन पसलमा पसेर पत्तै नपाउने गरी अल्मल्याएर एकलाख अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने एक किलो सुनका गहना चोरेर लगिदिए।

र, नारायण रसाइली एवं उनकी पत्नी तारालाई जीवनमा कल्पनै नगरेको पीडा दिए। घटना अगष्ट २३ तारिक सोमबारको हो। अमेरिकाको ओहायो राज्यको कोलम्बिया शहरमा सन् २०१९ देखि आफ्नै गहना पसल खोलेर बसेका नेपाली भाषी नारायण रसाइली र उनको परिवार यी अनौठा लाग्ने लुटेराहरुका कारण चिन्तित भएको छ।

भर्खर भर्खर उभोलाग्दै गरेको गहना व्यापारलाई अझ फस्टाउने बनाउन नारायणले केही समयअघि मात्रै एक किलो सुनका सिक्री र २ किलो सुनका ब्रासलेट होलसेल पसलबाट ऋणपान गरेर आफ्नो कोलम्बसस्थित पसलमा ल्याएका थिए।

उनले ती सामानहरु सिकागोको होलसेल पसलबाट मगाएका थिए। नेपाली र नेपाली भाषी भुटानी अमेरिकनहरुको ओहायोका विभिन्न शहरमा बाक्लो बस्ती बनिसकेको छ। चाड बाड नजिकिएको अवस्था र सुनका गहनाको बढ्दो माग एवं आफैं पनि गहना बनाउन सक्ने खुवी भएका कारण नारायणको गहना पसलमा चहल पहल पनि थियो।

दिउँसो साढे चारजस्तो बजेको थियो, घटनाबारे डिसी नेपालसँग कुराकानी गर्दै नारायणले भने, “म नानीलाई लिन स्कूल गएको थिएँ, मेरी पत्नी पसलमा थिइनँ। फेटा बाँधेका र मास्क लगाएका छ जनाको हुल पसलमा पसेछ। गहनाहरु हेर्न खोजेछन्। उनले गहनाहरु देखाइन्। त्यसमध्ये एउटा नत्थी र एउटा चाँदीको औठी खरिद पनि गरेछन्। ग्राहकले सामान किनेर लगेकोमात्र उनले तत्काल सोचिछन्। जव अर्को ग्राहक आएर झुम्का हेर्न खोज्दा पो त्यो र्‍यागमा राखेको सुनका सिक्रीहरुको ट्रे नै हराएको थाहा पाइछन्।”

“त्यसदिन मेरी पत्नीको जन्म दिनको दिन थियो। म भने छोरीलाई स्कूलबाट रिसिभ गरेर श्रीमतीका लागि जन्म दिनको उपहार केही किन्छु भनेर केही परको सपिङ्ग मलतिर पुगेको थिएँ”, नारायणले घटनाबारे जानकारी दिँदै थपे, उनले सिक्रीको ट्रे नै नदेखेपछि आत्तिदै र चिन्तित हुँदै छिटो आउनु कि छिटो आउनु भनेर फोन गरिन् म पनि आत्तिदै पसलमा फर्किएँ । पसलमा सिसी टिभी राखिएको थियो तर त्यसको रेकर्ड हुने कोठाको चावी भने मसँग थियो त्यसैले उनले सामान हराए पनि कसरी हरायो भनेर पत्तो लगाउन सकिनन्। जव म हत्तारिँदै पसल पुगेर सिसी टिभीको रेकर्ड हेर्न थालेँ अनि त लुटेरा प्रष्ट देखिए। सिक्रीले भरेर राखेको ट्रे यता उता हेर्दै तिनै छ जनामध्येको एकले आफ्नो झोलामा भरेर लगेको सिसी टिभीमा देखियो। (हेर्नहोस् भिडियो)

यस्तो देखेपछि प्रहरीलाई तत्काल खवर गरियो तर प्रहरीले कुनै रेस्पोन्स गरेन। जति फोन गरेपनि भ्वाइस म्यासेजतिर पठाइदियो, भ्वाइस म्यासेस छोडेपछि पनि धेरै समयसम्म कुनै सम्पर्क नै हुन सकेन। यसरी सम्पर्कै नभएपछि वा प्रहरीले रेस्पोन्स नै नगरेपछि मैंले तत्काल भिडियोलाई फेसबुकमा सार्वजानिक गरेँ तै ती लुटेराहरु अरु नेपाली र नेपाली भाषीको पसलमा नपसुन् र थप नोक्सान नगरुन् भन्ने मलाई लाग्यो। मलाई के पनि लाग्यो भने तिनले लगाएका लुगा फेरेनन् भने मेरो भिडियो हेर्नेले कतै देखेर स्थानीय प्रहरीलाई खवर पो गरिदिन्छ कि। तर, त्यस्तो केही भएन, भोलिपल्ट विहान ११ बजेतिर पो प्रहरी मेरो पसलमा आइपुग्यो। उसले सिसी टिभी फुटेजहरु लिएर गएको छ र हाम्रो उजुरी पनि दर्ज गरेको छ तर यस्तो चोरी प्रहरीको प्राथमिकतामा पर्दोरहेनछ वा यो इमर्जेन्सी उद्धार गर्नुपर्ने खालको घटना होइन रहेछ शायद त्यसैले उनीहरु तत्काल आएनन्।”

श्रीमतीलाई उपहारसमेत दिएर साँझ जन्म दिन मनाउँला भनेर उनले केही आफन्त र साथी भाइलाई पनि बोलाएका थिए तर यो अकल्पनीय घटनाले उनीहरुको खुसी पनि लुटिदियो। बरु भोलिपल्ट कतै तिनलाई देखिन्छ कि भनेर कन्टकीसम्म पनि केही साथीहरु लिएर पुगे। उनको भिडियो हेरेका एक नेपालीले केन्टकीमा आफ्नो पसलमा ती व्यक्ति आएकोजस्तो लागेको भन्दै जानकारी गराएपछि तै फेरि देखिन्छन् कि भनेर केही साथी लिएर उनको खोजीमा केन्टकी पुगेका थिए। तर, फेरि तिनीहरुलाई फेला पार्न सकेनन्।

प्रहरीले ती लुटेरा पत्ता लगाएर आफ्नो लुटिएको धन फिर्ता आउला कि भन्ने आशा भने नारायणले मारेका छैनन्। हुन त उनले पसलको विमा पनि गरेका छन्। विमा कम्पनीले पनि आफ्नो बास्तविकता बुझेर सहायता गर्ला भन्ने उनलाई लागेको छ। लुटेराहरु धेरै नै चलाखजस्तो लागेको छ उनलाई किनकि सिसी टिभी फुटेज हेर्दा लुटेराले हातमा पञ्जासमेत लगाएका देखिन्छन् भने पन्जाबाट पनि आफ्नो फिन्गरप्रिन्ट कतै नबसोस बनेर अर्कोले एउटा कपडाले बारम्बार हातले छोएको ठाउँ पुस्ने गरेको देखिएको छ।

सामान हेर्ने भनेर ताला लगाइएको साइडमा पहिला खोल्न लगाए, केहीबेर त्यहाँको महँगा सामान पनि हेरे अनि अर्को साइडमा रहेको सामान किन्न खोजेर तीमध्येकै केही व्यक्तिले उनकी पत्नी ताराले अर्को कुनामा नदेखुन् भनेर छेकिदिएका छन्।

सामान देखाउने क्रममा चावी खोलेको र फेरि हेर्न खोज्लान् भनेर बन्द नगरेको अवस्थाको फाइदा उठाएर सिक्रीको ट्रे नै उठाएर झोलामा हालेछन् र थाहा नपाउन् भनेर अरु ट्रे हरु मिलाएर राखिदिएको सिसी टिभी फुटेजमा देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *