‘पहिलो लेखाइमा लेखेका शब्दहरुको लोभमा बस्यो भने दीर्घकालीन लेखाइ हुँदैन’ – Dcnepal

‘पहिलो लेखाइमा लेखेका शब्दहरुको लोभमा बस्यो भने दीर्घकालीन लेखाइ हुँदैन’

नेपाली साहित्यमा गरिमामय मानिने मदन पुरस्कार २०७७ का लागि नौं वटा कृतिहरु छनौटमा परेका छन्। जसमा एउटा कृति केशव दाहालको पनि रहेको छ।

नेपाली राजनीतिमा वैकल्पिक शक्ति आवश्यक्ताको खोजी गर्दै आएका दाहाल टिप्णीकार हुन्। उनी कान्तिपुरका कोलोम लेख्ने व्यक्तिका रुपमा परिचित छन्। त्यतिमात्रले दाहालको परिचय पूरा हुदैन उनी राजनीतिकर्मी पनि हुन्। बाबुराम भट्टराईको नयाँशक्तिबाट विवेकशील साझामा आएका उनी हाल विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा रहेका छन्।

गैह्रआख्यान लेखनमा कलम चलाउने दाहालको पहिलो कृति ‘नेपाली राजनीतिको पुनर्गठन’ बजारमा छ। सय भन्दा बढी उनका लेखहरु कान्तिपुरमा छन्। यस्तै अन्य ठाउँमा पनि लेख्ने गरेका दाहालको साहित्य कृति भने पहिलो हो।

आफूलाई साहित्यमा सिकारु बताउने दाहालले करिव ८ सय वर्ष पहिलाको सिंजा सभ्यतालाई उत्खनन् गरेका छन्। पढ्दै जाँदा इतिहासजस्तो लाग्ने उनको ‘मोक्षभूमि’ एउटा कथामात्र हो।

लेखकले मोक्षमूमि लेख्दा आफू कल्पनाको यात्रा गरिरहेको दावी गरेका छन्। उनी सत्यमा लेख्नुलाई गैह्रआख्यान र सत्यको धरातल बनाएर कल्पनाको यात्रा गर्नुलाई आख्यानको नाम दिन्छन्। सोही मदन पुरस्कार २०७७ को सूचिमा परेको ‘मोक्षभूमि’का सर्जक दाहालसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

कोरोनाको प्रभाव कस्तो रह्यो ?

म आफैं र मेरो परिवारलाई अहिलेसम्म छोएको त छैन। तर, आफ्ना आफन्त, साथीभाइ, प्रियजनहरुमा कोरोनाको प्रभाव नराम्रोसँग पर्‍यो। कतिले छोडेरै पनि जानु भयो।

लेखनीको दृष्टिकोणबाट कोरोना ?

त्यो पनि छ। कतिपयले लेख्ने पढ्ने वातावरण मिल्यो भन्ने तरिकाबाट पनि बुझ्नु हुन्छ। तर, मलाई भने लेखनका लागि आवश्यक वातावरण बनेन। मलाई विशेषगरी लेख्नका लागि ३ वटा कुराको आवश्यक्ता पर्छ। मलाई लेख्न आवश्यक पहिलो कुरा पढ्नु हो।

दोस्रो साथीभाइसँग भेटघाट र चियापान हो। तेस्रो भनेको डुल्न पाउनुपर्छ। यो कोरोनाकालमा पढ्नलाई समय मिलेजस्तो भए पनि अरु केही मिलेन। त्यसैले समग्र भन्दा लेख्नका लागि पनि कोरोना अवधि त्यति प्रभावकारी भएन।

यहाँ विज्ञानको विद्यार्थी, कर्मले राजनीतिक कार्यकर्ता, साहित्य लेखनका पहिलो कृति नै मदन पुरस्कारका लागि छनोट सूचिमा परेको छ। साहित्य लेख्ने जाँगर कहाँबाट आयो ?

साइन्सको विद्यार्थी हुनु परम्परागत दबाब हो। त्यो बाध्यता थियो। म विद्यालयमा राम्रो विद्यार्थी थिएँ। राम्रो नम्बर ल्याएर एसएलसी पास भएपछि छोरालाई डाक्टर वा इञ्जिनियर बन्ने दवाब आयो। मैले पनि पढ्न त विज्ञान विषय नै पढेँ न डाक्टर बने, न त इञ्जिनियर नै छु। विज्ञान पढ्दै गर्दा मानवसमाज र आफूलाई बुझ्दा राजनीति अनिवार्य झैं भयो।

साहित्य लेखनको कुरा गर्दा विद्यालय जीवनदेखि नै केही न केही लेखिन्थ्यो। कथा, कवितालगायतका विधामा कलम नचलाएको पनि हैन। पढ्न र सुन्न त अत्याधिक रुचि लाग्थो। सायद त्यही कुराले मेरो मन भित्र सुसुप्त रुपमा वास गरेको थियो होला। त्यसैले नै मलाई साहित्यिक चेत बसाएको हुनुपर्छ।

यहाँलाई याद भएको पहिलो साहित्य कहिले लेख्नु भएको थियो ?

यही हो भन्ने औपचारिक मिति थाहा छैन। तर, विद्यालय पढ्ने बेला जान्ने विद्यार्थीमाथि शिक्षकहरुले अतिरिक्त क्रियाकलापको पनि केही बोझ थुपार्नु हुन्थ्यो। विद्यालयमा शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा शिक्षकले फलानोले यो विषयमा कविता लेखेर आउने भन्नु हुन्थ्यो।

लेखिन्थ्यो पनि। त्यतिबेलाको समसामयिक परिस्थितिलाई समेटर प्रकृति देश र प्रेमको सेरोफेरोमा रहेर कविता लेख्ने गर्थें। त्यही विद्यालय जीवनको लेखाई नै पहिलो लेखाइ मान्दै आएको छु।

यहाँले आख्यान पनि लेख्नु भएको छ, गैह्र आख्यानमा पनि कलम चलाउनु भएको छ। आख्यान र गैह्र आख्यान लेखाईमा के कति फरक छ ?

हाम्रो समाज सत्य हो। दुःख, सुख राजनीतिक त्यो सत्य हो। अर्को तर्फ समाजमा कल्पना छ। हामी हरकोही कल्पनाको आकासमा जीवनमा धेरै पटक उडेका हुन्छौ। मान्छे सत्यमा मात्र उभिएको छैन। मान्छेले कल्पनाको उडान पनि भर्ने गर्छ। मैले सत्यको उजागर गर्नेका लागि राजनीतिक लेखेँ।

मान्छेको अनन्त कल्पना, मान्छेको कला, सौन्दर्य चेत, मान्छेको मानवीय सम्बेदना जागृत गर्नका लागि साहित्यले लेखेको हुँ। अब कुरा फरकको छ। लेखन उस्तै उस्तै हुन्छ। तर, चिज फरक हुन्छ। गैह्र आख्यान समाजको सत्य हो।

समाजको इतिहास, वर्तमान हेर्छौ, सत्य र तथ्यहरु केलाउँछौ र लेख्छौं, त्यो गैह्र आख्यान हो। अनि आख्यान सत्य होइन। कल्पना हो अनन्त आकाशको उडान हो। सत्यभन्दा पृथक हामी छैनौं।

सत्यको जगमा उभिएर कल्पनाको आकाशमा उडिन्छ, आफू उभिएको सत्यलाई मनको भित्रितहबाट जब मान्छेले मनन गर्न थाल्छ। तब त्यो आख्यान बन्छ। सत्य र कल्पनाको फरक नै आख्यान र गैह्रआख्यानको फरक हो।

राजनीति वृत्तमा यहाँ वैकल्पिक राजनीति गर्ने भन्ने पार्टीको सदस्य पनि हो। यहाँको गैह्रआख्यान लेखनले पनि त्यो कुरा दर्शाउँछ। साहित्यको माध्यामबाट पनि वैकल्पिक राजनीति नै खोज्नु भएको हो?

म समकालीन राजनीतिमा बदलाव चाहान्छु। विचार, संरचना र मुद्दाको हिसाबले यो राजनीति भएन भनेर आधिकारिकताका साथ, ठूलै दाबीका साथ हाम्रो राजनीति भएन भन्न सक्छु म। तर, आख्यानमा मैले त्यो ल्यागक राख्दिन। किन कि म नयाँ छु।

आख्यान मैले अझै सिक्नु छ। अझै पढ्नु छ। यसको मतलव मैले राजनीतिक पढिँसके भनेको हैन। तर, राजनीति जति साहित्यमा पुगेको छैन। सिक्दै छु भन्ने हो।

मोक्षभूमिको कथालाई आधार मानेर अहिलेको राजनीतिलाई दाँज्दा हामी नागरिक प्रजातन्त्रको नाममा परिस्कृत दासी हौं?

हो। हामी नागरिक अझै पनि मुक्त भएका छैनौं। मैले मोक्षभूमिमा जुन कथाको परिकल्पना गरेको छु। नेपाली वैकल्पिक राजनीतिमा मेरो सपना पनि नेपाललाई मोक्षभूमि बनाउने नै हो। अहिलेको राजनीतिले पनि देशलाई मोक्षभूमि बनाउन सक्थ्यो। त्यो भएको छैन।

जतिसुकै परिवर्तनका कुरा गरे पनि, प्रजातन्त्र भने पनि तपाईले भनेजस्तै अझै नागरिकहरु प्रजातन्त्रको नाममा परिस्कृत दासी छन्। नेपालको राजनीतिले अझै पनि मानिसलाई मुक्त गर्न सकेको छैन। हामी पार्टी खोल्ने र भोट हाल्ने स्वतन्त्रतामात्र पुरै स्वतन्त्रता हैन नि।

हामीले जुन मानवीय मूल्य सहितको जीवन चाहान्छौं। त्यो त पाएका छैनौं। त्यसैले विम्बमा भन्दाखेरी मोक्षभूमिमा दासमुक्तिको कथा लेखेँ आजको सन्दर्भमा हामी दास बन्न बाध्य छौं अथवा हामी सम्पूर्ण रुपमा मुक्त भइसकेका छैनौं।

पूर्वमा जन्मेर पश्चिमको पनि जुम्लाको इतिहासलाई कथावस्तु बनाउनु भयो। मोक्षभूमिको परिकल्पना गर्नु भयो, यो विषयवस्तु छनोट कसरी गर्नु भएको थियो ?

यो कथा लेख्न यसरी प्रेरित भएको थिएँ भनेर तपाईँसँग भन्ने उत्तर छैन। हामी रामायण, महाभारत, कृष्ण चरित्र लगायतको पौराणिक साहित्य सुन्दै हेर्दै आयौ। पछिल्लो समय मैले इतिहासलाई अलि बढी महत्व दिएर पढ्न पनि थालेँ।

त्यसले मलाई परम्परागत तर इतिहासको विषमा लेख्न प्रेरित गर्‍यो। अर्को कुरा २०४६ सालको पेरीफेरीमा धेरै लेखिए, काठमाडौंका विषयमा पनि धेरै लेखिए, राणाकाल, जनयुद्ध, प्रेमका धेरै कुरा आएका छन्। म घोत्लिन थालेँ।

हाम्रो सभ्यता सिंजाबाट विस्तार भएको हो। त्यो कुरालाई पनि भुल्नु हुँदैन भन्ने मलाई लाग्यो। दोस्रो कुरा अलि पहिलाबाट कथा सुरु गरेँभने पनि त्यसको आनन्द फरक आउँछ भन्ने पनि लाग्यो।

इतिहासमा अलि पछाडि गएपछि, त्यो पनि सिंजा पुगेपछि मान्छेको स्वतन्त्रता धेरै महत्वपूर्ण विषय हो। त्यसलाई पनि कथामा जोडेन भने कथाले न्याय पाउँदैन भन्ने लाग्यो। यो तीनचार वटा कुराहरुले मलाई प्रभावित ग¥यो। जसका कारण यो कथावस्तु छनोट गर्न पुगेँ।

कथावस्तु मुक्तिको लेख्नु भयो। क्रान्तिकारी विचार पनि पैदाहुन्छ। शिर्षक अलि मोर्डन भएन भन्ने आरोप लाग्दैन ?

अहिले पछिल्लो समय अमूर्त खालको शिर्षक हुन्छन्। त्यो रमाइलो पनि लाग्छ। युवा पुस्ता आकर्षित भएको पनि देखिन्छ। मैले जसरी कथा पुरानो विषयवस्तुमा लेखेँ। अहिलेको मोर्डन शिर्षकले भन्दा पुरानै शब्दशिर्षक मैले प्रयोग गरेँ भने कथा प्रति न्याय हुन्छ भन्ने लाग्यो।

मोक्ष भनेको सम्पूर्ण मुक्ति हो। सम्पूर्ण मुक्ति भनेको आफ्नै लोभ र मोहबाट पनि मुक्त हुनु हो। मेरो कथाको नायक पनि भिक्षु बन्छ। किन त ? भन्ने प्रश्न आउँछ। हामी जीवनमा धेरै खालका जञ्जिरहरुले जेलिएका हुन्छौं। हरेक बन्धनहरुबाट मुक्ति चाहान्छौं भन्ने अभिव्यक्ति पनि मोक्षभूमि हो।

तर, कथामा ब्राह्मण कन्या र मुक्त दासलाई मुक्ति दिनु भएन। उनिहरुलाई त वियोगान्तमा छोडिदिनु भयो ?

हो है। साधारण हिसाबले हेर्दा उनीहरुको विहे भएको भए क्रान्ति सुरु हुथ्यो। त्यो समाजमा हो त्यो आवश्यक छ। कल्पना सुत्रमा हुँदैन। मैले लेख्दै गर्दा सुत्रमा हो भने विहे गराउनु पर्छ। जीवन, समाज, समय सुत्रमा मात्र हिड्दैन है भन्ने बुझेर विहे नगराएको हुनु पर्छ। बरु विहे नभइकन पनि उनीहरु अनन्तः प्रेममा छन्।

त्यसले प्रेम विहे मात्र हो भन्दैन्। प्रमिका मरेपछि प्रेमीले जुन बोध गर्‍यो। मैले चाहेको कुरा विहे भन्दा महत्वपूर्ण थियो। प्रेमलाई मुक्त मानिसको आखाँबाट सदासदाका लागि जुन मनमा राख्यो त्यो महत्वपूर्ण हो। विहे नगरेर पनि प्रेम अमर हुनसक्छ भन्ने नै बोध गराएको हो।

साहित्यम यहाँको पहिलो कृति जुन मदन पुरस्कारको लागि छनोट सूचिमा परेको छ। कृतिले पुरस्कार पाउँछ त?

एउटा लेख्ने मान्छेका लागि किताब राम्रो छ मन पर्‍यो, अथवा पुरस्कृत हुने सूचिमा पनि प¥यो भन्दा खुसी लाग्छ। यसले उत्प्रेरित गर्छ। मलाई पनि उत्प्रेरित गरेको छ। सम्पूर्ण प्रेरण होइन्, तर प्रेरणा हो। रह्यो पुरस्कार पाउने कुरो। अरु साथीहरुको कृति पनि छ। त्यो विषय त यहाँहरुले, अथवा पुरस्कार मूल्याङ्कन समितिले निर्णय गर्ने कुरा हो। म के गर्न सक्छु र ?

आख्यानमा पात्र हावी हुन्छन्। तर, मोक्षभूमिमा लेखक हावी हुनु भएको हो ?

मैले लेखेर प्रकाशनको लागि दिँदा पनि यो सुझाव आएको हो। सायद मेरो कमजोरी होला। लेख्ने मान्छे लेख्दालेख्दै हावी भएँ हुँला। मैले नियतवस लेखकलाई हावी गरेको हैन। साहित्यको सिकारु नै हुँ। नेपालमा उम्दा साहित्यकार हुनुहुन्छ। राम्रा साहित्य पनि छन्। मैले पढेँ। यसरी पढ्न विर्सेछु। आगामी साहित्यमा मैले यो कुरालाई ख्याल गर्नेछु।

आख्यानमा कमाउन सकिन्छ भनेर नै आउनु भएको हो ?

म कान्तिपुरमा लेख्छु। सबैलाई थाहा छ। मैले लेखेको गैह्रआख्यानबाट पनि पैसा लिएँ। सांग्रिलाले पैसा दियो। नेपालमा राम्रो लेख्ने मान्छेले आख्यान लेखोस् वा गैह्रआख्यान लेखोस ठिक्को जीवनस्तर चलाउन सक्छ। मैले कमाउन सजिलो हुन्छ, धेरै बिक्री हुन्छ भनेर आएको हैन।

मैले अघि पनि भने मानव जीवनमा सत्य अत्यावश्क हो। त्यसको धरातलमा टेकेर कल्पना पनि चाहिन्छ। कल्पना गर्न सकिएन भने सृजना पनि हुँदैन। स्वतन्त्रताको उडान भर्नका लागि आख्यान, सत्य स्थापित गर्नको लागि गैह्रआख्यान लेखेको हुँ।

सबै लेखकहरुलाई साधिने साझा प्रश्न सोधेँ, एउटा असल र सफल लेखक हुनका लागि के कुराको आवश्यक्ता पर्छ?

पहिलो त पढ्नु पर्‍यो। साझा उत्तर नै आयो। पढ्नु भनेको किताबमात्र होइन्, घुम्नुहोस्, डुल्नुहोस्, साथिसँग चिया कफि पिउनुहोस्, तर, पढ्नुहोस् समाजलाई पढ्नुहोस्।

दोस्रो मेट्नुहोस्। भनेको के हो भने यही मोक्षभूमिको कुरा गर्दा मैले पहिलो ड्राफ्ट नच्यातेको भए, न मेटेको भए यो अवस्थामा आउने थिएन। मान्छे पहिलो पटक लेखेका शब्दहरुको लोभमा बस्यो भने त्यसले लेख्न सक्दैन। त्यो लेखाई दीर्घकालीन हुँदैन। पढ्ने, पढ्ने, पढ्ने, लेख्ने, मेट्ने, फेरि लेख्ने गर्नु नै पर्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो