पहिराले पुरिएर राम्दीमा एक महिलाको मृत्यु

डिसी नेपाल
१३ भदौ २०७८ २०:०९

वालिङ । पहिराले पुरिएर राम्दीमा एक महिलाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दी बजारमा आज घरमाथिबाट ठूला ढुङ्गासहित आएको पहिराले घर पुरिएर वालिङ नगरपालिका–१४ की ४० वर्षीया धनमाया उम्राको निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

उनका अनुसार गुल्मीको छत्रकोट–५ की लक्ष्मी बस्नेतले सञ्चालन गर्दै आएको होटलमा बसेका बेला माथिबाट आएको पहिरोले पुरिएर उम्राको निधन भएको हो । कालीगण्डकी नदीको किनारमा रहेको उक्त स्थान धार्मिक महत्वको क्षेत्र भएकाले टाढा टाढाबाट त्यहाँ दर्शनका लागि पुग्ने गरेका छन् । उम्रा पनि पूजाआजाका लागि राम्दीमा आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

पहिरामा पुरिएर होटल सञ्चालक ३७ वर्षीया लक्ष्मी बस्नेत, रुपन्देही सैनामैना–१ का १६ वर्षीय शिशिर योगी र अर्का पहिचान नखुलेका एक जना पुरुष गरी तीन जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि गल्याङस्थित नगर अस्पतालमा ल्याइँदै गरे पनि बीचमा पहिराका कारण सडक अवरुद्ध भएकाले अस्पताल पु¥याउन कठिनाइ भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए । पहिरोका कारण बस्नेत र स्थानीयवासी दीपेन्द्र श्रेष्ठको घर पूर्णरुपमा क्षति भएको छ । राम्दीमा रहेको प्रहरी चौकी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *