जमिन भासिँदा बस्ती जोखिममा

डिसी नेपाल
१३ भदौ २०७८ २२:४०

गोदावरी । कैलालीको चुरे गाउँपालिका–५ मा जमिन भासिँदा बस्ती जोखिममा परेको छ । काफलगौरा गाउँको चारैतिर जमिन भासिएपछि झण्डै ३० घरधुरी जोखिममा परेका छन् । अविरल वर्षाका कारण चुरे–५ का विभिन्न बस्तीमा जमिन भासिएपछि स्थानीय बासिन्दा घर छोड्न बाध्य भएको वडाध्यक्ष नरबहादुर तामाङले बताए ।

उनका अनुसार सोही वडाको गोपाले, भासुभी तथा पट्रेनी गाउँको जमिन भासिएर बस्ती जोखिममा परेका छन् । सोही वडाको गोपालेमा पाँच घरपरिवार पहिरोको जोखिममा परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मानबहादुर थामी मगर, सुरतबहादुर थापा, डम्मरबहादुर थापा, गगन धामी र मनोज राईको घर पहिरोको जोखिममा परेको छ ।

जोखिममा परेका परिवारलाई स्थानीय तहको समन्वयमा सुरक्षित स्थानमा सार्ने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । शुक्रबारको वर्षासँगै सो ठाउँमा पहिरो गएको थियो । चुरेको कमजोर भूभाग भएका कारण वर्षाले दर्जनौँ स्थानमा पहिरोले बस्ती जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *