एनआरएनएका आचार्यद्वारा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनुपर्नेमा जोड

डिसी नेपाल
१६ भदौ २०७८ १२:३६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय सल्लाहकार कुल आचार्यले संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा भएको पत्रकार भेटघाट कार्यक्रममा आचार्यले गैरकानुनी रुपमा नेपालको सम्पत्ति विदेशीरहेको र गैरआवसीय नागरिकताको व्यवस्था नहुँदा सम्पत्ति पलायन भइरहेको भन्दै यस्तो बताएका हुन् ।

संघको १०औँ महाधिवेशनमा अध्यक्ष प्रत्यासीका उमेद्वार समेत रहेका आचार्यले बिदेशी पासपोर्ट लिईसकेका गैरआवासीय नेपालीहरूले नेपालमा सुरक्षित रूपमा लगानी गर्न नेपाली नागरीकताको निरन्तरता आवश्यक भएको बताएका थिए ।

उनले भने, ‘विदेशी पासपोर्ट लिएकाहरुले त्यसलाई त्यागेर नेपाली पासपोर्ट लिएर नेपालमै लगानी गर्न चाहनेहरुका लागि नागरिकता अनिवार्य छ । विदेशमा गरिरहेको लगानी नेपालमा भित्र्याउन पनि नागरिकता आवश्यक भएकाले संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन जरुरी छ ।’ आफूले पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको भन्दै उनले देश विकासका लागि सरकारले डायसपोरालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

सो अवसरमा उनले एनआरएनए एक अभियान भएकाले संस्थालाई छाता होइन साझा रुपमा विकास गर्न जित र हारको भावना त्याग्नुपर्ने बताउँदै उनले स्थानीयसँगको संयोजन नहुँदा लगानीले मुनाफा लिन नसकिरहेको समेत बताए । विश्वका करिब ९० देशमा विस्तार भइसकेको एनआरएनए सदस्यहरुको ‘टाउको बेचिने’ डर बढ्दै गएकाले संस्थालाई पारदर्शी र अनुशासित बनाउन जरुरी रहेको बताए ।

आगामी अक्टोबर २३–२५ सम्म काठमाडौंमा हुन गइरहेको १०औं सम्मेलनमार्फत आफूले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल नारालाई सार्थकता दिनका लागि प्रवासी नेपालीहरुलाई एकजुट गराउँदै सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *