कलाकारिता क्षेत्रका ख्यातीप्राप्त देश विदेशका १० व्यक्ति सगरमाथा आधार शिविर जाँदै

डिसी नेपाल
१६ भदौ २०७८ १५:३५

काठमाडौं । देश विदेशका गरी १० जना ख्यातीप्राप्त चलचित्र निर्माता तथा भ्लगर्सहरु सगरमाथा आधार शिविरसम्म पदयात्रामा जाने भएका छन् । नेपाल भ्लग च्यालेन्जले आज(बुधबार) एक कार्यक्रमको आयोजना गरी सो बारे जानकारी गराएको हो ।

भ्लग च्यालेन्जका अनुसार अष्ट्रेलिया, कोलम्बिया, मेक्सिको, नेपाल, फिलिपिन्स, थाइल्याण्ड र अमेरिकाका १० जना ख्यातीप्राप्त चलचित्र निर्माता तथा भ्लगर्सहरु साहसिक पदयात्रामा जाने भएका हुन् । ट्रेकिङ गर्न लागेका निर्माता तथा भ्लगर्सहरुका युट्बुमा २ करोडभन्दा बढी फलोअर्स छन् भने समग्र सामाजिक सञ्जालमा ३ करोडभन्दा बढी फलोअर्स छन् ।

२५ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पा र सन् २०१९ का ‘वर्ष शेर्पा’ पदक विजेता मिङ्मा शेर्पाका साथमा चलचित्र निर्माता तथा भ्लगर्सहरुको टोली सहासिक पदयात्रामा प्रस्थान गर्न लागेको हो । पदयात्रामा कामीरिता मुख्य प्रशिक्षक(हेड कोच) रहने छन् भने मिङ्माले टोलीको नेतृत्व गर्ने छन् ।

उक्त पदयात्रामार्फत विश्वभरका चर्चित चलचित्र निर्माता तथा भ्लगर्सहरु हिमालयको आवाज बन्नुका साथै नेपालको सुन्दरता, यहाँका मानिस, खानपिन र संस्कृतिको प्रवर्द्धन गर्ने बताइएको छ । उक्त कार्यक्रम नेपालकै अग्रणी तथा सबैभन्दा ठूलो इभेन्ट म्यानेजमेन्ट कम्पनीहरुमध्ये एक, ‘पार्टी नेपाल’को आयोजनामा हुन लागेको हो । एलिट एक्सपेडले लोजिस्टिक व्यवस्थापन र नेपाल टेलिभिजन र नेपाल पर्वतारोहण संघले यसमा सहयोग गरेका छन् ।

यसैबीच, पदयात्रामा सहभागी हुन तथा आउँदो विश्व भ्लग च्यालेन्जमा नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यले नेपालको सबैभन्दा ठूलो चलचित्र/भ्लग प्रतिस्पर्धाको घोषणा पनि गरिँदैछ । उक्त प्रतिस्पर्धामा निश्चल बस्नेत, सिसन बानियाँ, मिलन थापा र रोहित शाक्यजस्ता लोकप्रिय चलचित्र निर्माता, निर्देशक तथा भ्लगरहरु निर्णायक मण्डलमा सदस्य रहने छन् ।

निर्णायक मण्डलबाट नेपालका सात प्रदेशबाट सात भ्लग फाइनालिष्ट हुनेछन, जसमध्ये पहिलो हुने भ्लगले १० लाख रुपैयाँको नगद पुरस्कार जित्नुका साथै ‘विश्व भ्लग प्रतिस्पर्धा’का लागि सहभागी हुने टिकट प्राप्त गर्नेछ ।

साथै, प्रतिस्पर्धामा भाग लिन इच्छुक चलचित्र निर्माता तथा भ्लगर्सहरुले आफ्ना भिडियोहरु नेपाल भ्लग च्यालेन्जको वेवसाइटमा पठाउन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *