अगस्टमा ६ हजार विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौं। सन् २०२१ को अगस्ट महिनामा करिब ६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को अगस्ट महिनामा ५ हजार ९ सय १७ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ।
पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँगै विदेशी पर्यटक नेपाल भित्रन थालेका हुन्। गत जुलाई महिनामा (निषेधाज्ञाको बीचमा) २ हजार ९ सय ९१ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। सन २०१९ सालमा ९४ हजार ७ सय ४९ पर्यटक भित्रिएका थिए भने २०२० कोरोना महामारी सुरु भएसँगै २ सय ६५ मा पर्यटक भित्रिएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५ हजार ८३ विदेशी पर्यटक आ–आफ्नो देश फर्किएका छन्। पछिल्लो समय कोरोना महामारीका कारण नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ।
सबैभन्दा बढी भारतबाट भित्रिए विदेशी नागरिक
पछिल्लो एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतबाट सबैभन्दा बढी विदेशी नागरिक भित्रिएका छन् । सो अवधिमा नेपाल आएका ३३ देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी एक हजार ९ सय ८५ जना नेपाल आएका हुन्।
भारतपछि अमेरिकाबाट १ हजार २ सय ४४, बेलायतबाट ४१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। दक्षिण एशियाली मुलुकमध्ये अगस्ट महिनामा बङ्गलादेशबाट २६, भुटानबाट ७१, पाकिस्तानबाट ७१ र श्रीलङकाबाट ३९ पर्यटक नेपाल आएका छन्।
यस्तै, क्यानडाबाट १४७, चीनबाट २५३, बेल्जियमबाट ६०, फ्रान्सबाट १२७, नेदरल्याण्डबाट ६७, रुसबाट ५२, जर्मनीबाट ८३, जापनबाट २४, दक्षिण कोरियाबाट ६४, थाइल्याण्डबाट ५१, अस्ट्रियाबाट १२, इटालीबाट ३३, स्पेनबाट ५७, अष्टे«लियाबाट ६५, जना पर्यटक नेपाल आएका छन्।
सन् २०२१ को जनवरीदेखि अगस्ट महिनामा नेपाली र विदेशी गरी ६६ हजार ९६६ जना नेपाल भित्रिएका छन्। गत अगस्ट महिनामा ५ हजार ८३ जना नेपाली तथा विदेशी नागरिक नेपालबाट बाहिरिएका थिए।
Facebook Comment