कर्णाली गाडी बेपत्ता घटना : एक जनाको शव कैलालीमा भेटियो

डिसी नेपाल
२३ असार २०८३ १९:४२

कर्णाली। असार १८ गते कर्णाली नदीमा बेपत्ता भएको गाडीमा सवार एकजनाको शव कैलालीमा भेटिएको छ।

मोहन्याल गाउँपालिका–६ कैलालीमा भेटिएको शव पहिचान गर्दा पचालझरना गाउँपालिका–९ कालीकोटका मेखे तिरुवा रहेको खुलेको प्रहरीले जनाएको छ।

मेखेका छोरा रवीन्द्र तिरुवाले आफ्ना बुबाको शव सनाखत गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार बिकले जानकारी दिए।

इलाका प्रहरी कार्यालय चिसापानी कैलालीका प्रमुख प्रहरी निरीक्षक मीरा खड्काले पनि शव ६२ वर्षीय मेखे तिरुवा नै रहेको पुष्टि गरेकी छन्।

डीएसपी बिकका अनुसार मृतक मेखेसहित उक्त गाडीमा रास्कोट नगरपालिका–२ खड्कागाउँका सिर्जना खड्का, पञ्चपुरी नगरपालिका–८ सुर्खेत माझीगाउँका चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी सवार रहेको खुलेको छ। उनीहरू भने अझै पनि बेपत्ता छन्।

असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको कप्र ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङगेतडामा दुर्घटना भएको थियो। सडकबाट उक्त गाडी कर्णाली नदीमा खसेर यात्रुसहित बेपत्ता भएको थियो।

बेपत्ता व्यक्तिहरूसहित गाडीको खोजीमा ‘रिभर भेहिकल म्याग्नेट’, ‘सोनार’, ‘ड्रो’ न र ‘बोरेस्कोप क्यामरा’ सहितको उच्च प्रविधियुक्त गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरेर करिब १०० जना जनशक्ति पाँच दिनदेखि परिचालन गरिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *