डडेल्धुरामा कांग्रेस क्रियाशील विवाद उत्कर्षमा, जयवीरको नाम राखियो, सभापति मल्लकी आमाको नाम काटियो

डिसी नेपाल
२२ भदौ २०७८ १२:३१

डडेल्धुरा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ। डडेल्धुराका क्रियाशील सदस्यको नामावली सार्वजनिक भएपछि विवाद चर्किएको हो।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले अनावश्यक हस्तक्षेप गरेको भन्दै सातौं जिल्ला अधिवेशन हुनेमा अन्योल देखिएको छ। विवादकै कारण जिल्लामा अझै वडा अधिवेशन सुरु भएको छैन।

आइतबार राति नेपाली कांग्रेस डडेल्धुराको क्रियाशील सदस्यताको विवरण कांग्रेसको आधिकारिक वेबसाइटबाट सार्वजनिक भएसँगै प्रधानमन्त्री देउवाको गृहजिल्लामा तीव्र असन्तुष्टि देखिएको छ।

सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको कांग्रेस डडेल्धुराले जनाएको छ। नाम हटाइएपछि वडादेखि जिल्ला अधिवेशन प्रभावित बन्ने देखिएको छ । कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टका अनुसार चार तहबाट प्रमाणित भएकाको नाम हटाइएको छ।

वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका चार सयभन्दा बढी सदस्यको नाम हटाइएको जानकारी उनले दिए। उनले जिल्लाबाट सिफारिस गर्दै नगरेकाको नाम क्रियाशील सदस्यको सूचीमा समावेश गरिएको बताए।

कार्यसमितिले दुई हजार पाँच सय ६ नयाँ सदस्य तथा नवीकरणका लागि पुराना सदस्यको नाम गरेर पाँच हजार आठ सय चारजनाको सूची सिफारिस गरेको थियो। जसमध्ये चार सय ४४ जनाको नाम छानबिन समितिले हटाएर पठाएको छ।

जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लकी आमाको नामसमेत सूचीबाट हटाइएको छ। नाम हटाइनेमा सभापति मल्लकी आमा पार्वतीदेवी मल्ल, पूर्वजिल्ला सभापति तथा परशुरामका पूर्वनगर सभापति तारीसिंह बोहरा, त्रिभुवन विश्वविद्यालयका पूर्वस्ववियु सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्टलगायत छन्।

कांग्रेसमा विधि र पद्धतिगत ढंगबाट क्रियाशील सदस्यता वितरण हुनुपर्नेमा अनावश्यक हस्तक्षेप गरेर नाम नै हटाइनु दुखद भएको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन्। आफूहरूले सिफारिस नै नगरेका दुई सय ८१ नयाँ सदस्यको नाम माथिबाटै राखिएको उपसभापति करुणाकर भट्टले बताए।

सभापति देउवाको वडा गन्यापधुरा गाउँपालिका–१ मा १६ जना क्रियाशील सदस्यको नामसमेत हटाइएको छ । देउवापुत्र जयवीरसिंह देउवासहित १० जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक गरिएको छ।

साउदलाई जिताउने देउवा रणनीति

पार्टीको सातौँ अधिवेशनमा जिल्ला सभापतिका लागि तीनजना आकांक्षी छन्। जसमा भीमबहादुर साउद, करुणाकर भट्ट र हरिप्रसाद भट्ट छन्। परशुराम नगरपालिकाका नगर प्रमुखसमेत रहेका साउद कांग्रेस सभापति देउवानिकट हुन्।

उनलाई देउवा पत्नी आरजु देउवा राणाको पनि समर्थन छ। यस्तै, जिल्ला पार्टी सभापति मल्लको समूहबाट करुणाकर भट्टको नाम चर्चामा छ। डडेल्धुरामा तेस्रो धारको नेतृत्व तहमा रहेका हरिप्रसाद पनि सभापतिको दौडमा छन्। उनी पेसाले अधिवक्ता हुन्। सभापतिका आकांक्षी तीनैजना आ–आफ्नो पक्षधर नेता कार्यकर्ता भेटघाटमा व्यस्त छन्।

कांग्रेस सभापति देउवाले गृहजिल्ला डडेल्धुरामा अघि सारेका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदलाई जिताउने अभिप्रायले वडा, पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला कार्यसमिति गरेर चार तहबाट विधिवत रुपमा पारित गरेर पठाएका क्रियाशील सदस्यहरुमा थपघट गरेर अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले आरोप लगाए । उनले जिल्ला नेतृत्वका लागि उम्मेदवारदेखि मतदातासम्म केन्द्रबाटै पठाइएकाले अन्योल उत्पन्न भएको जिकिर गरे।

क्रियाशील सदस्यतामा उत्पन्न विवादका सन्दर्भमा नेपाली कांग्रेस डडेल्धुराले मंगलबार जिल्ला कार्यसमितिको बैठक बोलाइएको र बैठकको निर्णयानुसार अघि बढने जिल्ला सभापति कर्ण मल्लले जानकारी दिए। क्रियाशील सदस्यता वितरणमा भएको अन्यायका कारण तीव्र असन्तुष्टि रहेकाले सातौं जिल्ला अधिवेशन सुनिश्चित हुन नसकेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *