मेयर र हाकिम विदेश भ्रमणमा, सरकारी ढुकुटीबाट लाखौँ स्वाहा

डिसी नेपाल
२४ भदौ २०७८ १९:१४

जनकपुरधाम । धनुषामा एक जना जनप्रतिनिधिले सरकारी ढुकुटीबाट व्यक्तिगत भ्रमण गरेका छन्। सहिदनगर नगरपालिकाका मेयरले सरकारी ढुकुटीबाट वैदेशिक भ्रमण गरेको खुलेको छ। महालेखापरीक्षकको ५८औँ प्रतिवेदनअनुसार नगरप्रमुख उदयकुमार बरबरिया यादव र प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झाले सरकारी ढुकुटीबाट वैदेशिक भ्रमण गरेको जनाइएको छ।

यादव र झा २०७६ साल मंसिर ११ देखि २० गतेसम्म दुबई भ्रमणमा थिए । दुबई भ्रमण गर्दा यादवले २ लाख १५ हजार ५ सय ८० र झाले १ लाख ९२ हजार १ सय ४० गरी ४ लाख ७ हजार ७ सय २० रुपैयाँ खर्च गरेका छन् । उक्त भ्रमणमाथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । ‘भ्रमण खर्च नियमावली, २०६४ को नियम ३९५० अनुसार अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि पदाधिकारी वा कर्मचारी विदेश भ्रमण गर्नुपर्दा नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने व्यवस्था छ’ प्रतिवेदनमा भनिएको छ, ‘भ्रमणको उद्देश्य र प्रयोजन नखुलाई काार्यालय सम्बन्धित कामकाज उल्लेख गरी गरेको भ्रमण खर्च नियमित देखिएन ।’

विदेश भ्रमण गर्नुको उद्देश्य तथा काम समेत नखुलाई नगर प्रमुखबाट भ्रमण आदेश स्वीकृत गराई भ्रमण खर्च भुक्तानी गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।त्यस्तै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐनमा पदाधिकारीका लागि सल्लाहकार तथा सहायक कर्मचारी राखी पारिश्रमिक दिने व्यवस्था छैन । तर शहीदनगर नगरपालिकाले कानुनी सल्लाहकार नियुक्त गरेर पारिश्रमिक दिएको पाइएको छ । कानुनी सल्लाहकारमा नियुक्त गरेका केशव यादवलाई २०७६ साउनदेखि २०७७ असारसम्म मासिक ३५ हजार ९ सय ९० का दरले चाडपर्व खर्चसमेत गरी ४ लाख ६७ हजार ८ सय ७० रुपैयाँ भुक्तानी दिइएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *