बेनीमा बर्खेनाच समापन
म्याग्दी। बेनी बजारमा एक महिनाअघि सुरु भएको बर्खेनाचको समापन गरिएको छ। भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको साउन महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तीज पर्वका दिनसम्म देखाउने गरिन्छ। बेनीको गणेश मन्दिरमा धार्मिक विधिअनुसार कृष्णद्वारा घण्टाकर्ण नामको राक्षसको प्रतीकको बध गरी समापन गरिएको हो।
‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रूपधारण गरेका कलाकारले लाखेको मुखुण्डोलाई बध गरेका थिए। बेनीमा नेवार समुदायको बसोबास रहेदेखि नै बर्खेनाच देखाउने चलन रहेको नेपाल भाषा मंकाःखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। परापूर्वकालमा समाजलाई दुःख दिएको घण्टाकर्ण नामको राक्षसको स्थानीयवासीले बध गरेपछि साक्षसकी पत्नीले पतिवियोगमा देखाएको चरित्रलाई बर्खेनाचमा कलात्मकरूपमा प्रस्तुत गरिन्छ।
बर्खेनाचअन्तर्गत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागिनी, रोपाइँ र जोगीनाच देखाउने गरिन्छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष र यसपालि बर्खेनाचलाई औपचारिकतामा मात्र सीमित गरिएको ल्यामःपुच म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बतार्। “घण्टाकर्णको प्रतीक सेलाउने, गाईजात्राका दिन दिवङ्गतहरुको स्मृतिमा लक्ष्मीनारायण मन्दिर परिसरमा तायमचा देखाउने र कृष्ण मन्दिरमा घण्टाकर्णको बध गर्ने कार्यक्रम मात्र भयो”, उनले भने, “विभिन्न नृत्यसहित बजार परिक्रमा गरिएन, परम्परालाई निरन्तरता र संस्कृति जोगाउन औपचारिकतामा मात्र सीमित बनायाैँ।”
बेनीमा बसोबास सुरु भएदेखि नै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । उक्त नाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी भएको सन्देशसहित यो नाच समापन गरिने अध्यक्ष श्रेष्ठले बताए। नाचमा पछिल्लो समय यहाँका युवाले सक्रिय सहभागिता जनाउने गरेका छन्। बर्खेनाचका लागि नयाँ कलाकारलाई तालिमसमेत दिइएको थियो।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment