नेपाल पर्यटन बोर्ड र निटोगबीच सम्झौता

डिसी नेपाल
२५ भदौ २०७८ १३:४२

काठमाडौं । नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) र नेपाल पर्यटन बोर्डबीच बिहिबार एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि निटोगले भदौ २१ गते सोमबारका दिनदेखि बसेको धर्ना तत्कालका लागि अन्त्य गरेको छ ।

निटोग र बोर्डबीच भएको सहमतिपत्रमा टिम्सलाई अनलाइन प्रक्रियाबाट वितरण गर्ने र श्रमिकको तथ्यांक राख्ने, एफ आइटी टिम्सलाई हटाउनको लागि बन्दै गरेको एकिकृत टिम्स विनियमावली उपसमितिमा लिखित जानकारी गराउने रहेको छ ।

त्यस्तै, पदयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी कोष समान तरिकाले यथाशीघ्र परिचालन गर्ने, नेपाल पर्यटन बोर्ड र युएनडिपिको स्वरोजगार कार्यक्रम परियोजना पूर्णतःश्रमिकमैत्री ढंगले परिचालन गर्ने, पूर्ण खोप लगाएका र कोभिड नेगेटिभ पर्यटकलाई क्वारेन्टाइन हटाउनको निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पुनः पत्रचार गर्ने रहेको छ ।

त्यस्तै, पुनःसुरु गरौं पर्यटन अभियान चलाउदा जिउँदा पर्यटन श्रमिकहरुलाई श्रद्धाञ्जली दिने बोर्ड सदस्यको गतिविधिको जानकारी बोर्ड संचालन समितिलाई जानकारी गराउने उल्लेख गरिएको छ ।

नेटोगका अध्यक्ष राम प्रयासका अनुसार एफ आइटी टिम्सलाई पूर्ण रुपमा खारेज गर्नु पर्ने, टिम्सलाई टानबाट हटाई नेपाल पर्यटन बोर्डबाट एकद्वार प्रणालीमार्फत वितरणको व्यवस्था गर्नु पर्ने, पर्यटन क्षेत्रका सम्पूर्ण प्रमिटलाई विद्युतीय प्रणालीमा लैजान र श्रमिकको तथ्यांक अनिवार्य गर्नु पर्ने मागसहित धर्ना गरिएको थियो ।

धर्नामा पदयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी कोष समान तरिकाले यथाशीघ्र परिचालन गर्नु पर्ने, नेपाल पर्यटन बोर्ड र युएनडिपिको स्वरोजगार कार्यक्रम परियोजना पूर्णतः श्रमिकमैत्री ढंगले परिचालन गर्नु पर्ने, पर्यटन श्रमिकका न्यूनतम पारिश्रमिक निर्धारण गर्न उच्चस्तरीय आयोग गठन गर्नु पर्ने, पूर्ण खोप लगाएका र कोभिड परिक्षण नेगेटिभ आएका पर्यटकलाई क्वारेन्टाइन हटाएर पर्यटन सुचारु गर्नु पर्ने माग थियो ।

त्यस्तै, टिम्सको लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, पुनःसुरु गरौं पर्यटन अभियान चलाउदा जिउँदा पर्यटन श्रमिकहरुलाई श्रद्धाञ्जली दिने बोर्ड सदस्यलाई कारवाही गर्नु पर्ने मागहरु राखेर आन्दोलनपश्चात नेटोगले धर्ना कार्यक्रम गरेको थियो ।

उक्त सहमति पछि पर्यटन बोर्डमा चार दिनसम्म चलेको धर्ना तत्कालका लागि स्थगित गरिएको भएपनि समग्र पर्यटन श्रमिकका आन्दोलन भने नसकिएको निटोगले जनाएको छ । सहमति कार्यान्वयनलाई निरन्तर निगरानीमा राख्ने र कार्यन्वयन नभए पुनःआन्दोलनमा जाने पनि उनले बताए ।

तत्काल पर्वतीय पर्यटनका मुद्दामा एउटा समझदारी बनेको छ । तर, पर्वतीय पर्यटन क्षेत्रकै टुर, र्यााफ्टिङ्ग, जङ्गल सफारीलगायतका क्षेत्रगत मुद्दाहरुमा अर्को आन्दोलन उठ्नै बाँकी रहेको जनाउँदै निटोगले त्यस क्षेत्रका श्रमिकहरुलाई पनि आन्दोलनको लागि तयार रहन अनुरोधसमेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *