साहित्य : फतिमा सुमारसँग ‘मनभित्रको मनको वार्ता’

डिसी नेपाल
२६ भदौ २०७८ १०:५१

डा. विजयप्रसाद मिश्र
कसले भन्छ, एमसीसीको बारेमा नेपालको आधा आकाश ( महिला) ले चिन्तन गरेका छैनन्? नेपाली महिलाहरु चाहे देशभित्र हुन या बाहिर, सबैले एमसीसीको बारेमा चर्चा परिचर्चा सुनिरहेका छन्। भान्सादेखि करेसाबारीसम्म, कार्यालय कोठादेखि यात्राको बेलासम्म, चियागफदेखि डिनरपार्टीसम्म जताजतै एमसीसी–एमसीसी। अझ अमेरिकाबाट आएकी प्रतिनिधि फातिमा सुमार नै भएपछि हिम्मत गरेर आधा आकाशले उनीसंग बार्तालाप गर्ने जमर्को गर्दछन्। फातिमा बसेको होटल आफूले कब्जा गरेको बताउने स्वागत नेपाल एण्ड कम्पनीको जस्तो अशोभनिय व्यवहार गरेर होइन की सालिन, इमान्दार र नेपाल आमाको प्रतिनिधित्व गर्दै कुराकानी गर्न आधा आकाश तयार छन्। फातिमाले पनि समय दिन्छिन् र शुरु हुन्छ बार्तालाप :

आधा आकाश : फातिमा जी, तिमी त भारतीय मूलकी रहिछौ? नेपाली महिलाको अवस्था बुझेकै हौली?

फातिमा : गुड मर्निङ्, आधा आकाश। हो, मैले बुझेकी छु । म पहिले पनि नेपाल आएकी छु। नेपाली महिलाको अवस्थाका बारेमा नजिकबाट बुझेकी छु। नेपालको मात्र होइन धेरै विश्वका अन्य देशको पनि बुझेकी छु।

आधा आकाश : यो एमसीसीको बजेट अरु देशमा के–केका लागि लिएका छन् त ? नानी ?

फातिमा :  त्यो त अमेरिकाले भन्ने कुरा होइन । जुन देशलाई एमसीसी चाहिएको छ उसैले के गर्ने भनेर निर्णय गर्दछ ।

आधा आकाश  :  होइन होइन, हामीले सोधेको त्यो होइन। अरु देशमा महिलाको शसक्तिकरणका लागि वा महिलालाई आयआर्जन तर्फ उन्मुख गराउन, महिला शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारका लागि एमसीसीको पैसा मागेका छन् कि छैनन् भनेर सोधेको?

फातिमा :  त्यो त छ नी, विश्वमा सबैभन्दा बढी समस्याबाट गुज्रिएकाहरुमा महिलाहरु नै पर्दछन्। महिलालाई सशक्तिकरण गरेरमात्र गरिबी निवारण हुन सक्दछ। अन्य देशमा जहाँ जहाँ एमसीसी संझौता भएका छन् विशेष गरेर अफ्रिकी मुलुकहरुमा महिलालाई केन्द्रित गरेर कार्यक्रमहरु गरेका छन्।

आधा आकाश :  अनि, नानी पनि महिला, त्यो पनि भारतीयमूलको महिला। नेपालमा महिला सशक्तिकरणका लागि एमसीसीको बजेटलाई रुपान्तरण गर भन्न सक्नु हुन्न?

फातिमा :  होइन, होइन त्यो त नेपालको आन्तरिक मामिला हो। के एमसीसीको बजेट माग्दा के काम गर्ने भनेर यहाँको आधा आकाशलाई सोधिएन र?

आधा आकाश : खोई ? नानी । सोधेको जस्तो लाग्दैन। पुरुष प्रधान समाज भएको नेपालमा आधा आकाश– आधा आकाश भनेर मख्ख मात्र पार्दछन्। स्वर्णीम वाग्ले, रामशरण महत, कुलमान घिसिङ्हरुले मिलेर बिजुलीको लागि हाइटेन्सन लाइन बनाउने भनेका रे? त्यो पनि विवाद भएपछि कसैलाई आरोप लगाएका हुन कि?

फातिमा : आधा आकाशले बोल्नु पर्‍यो नि? आफ्नो अधिकार त आफैले माग्नु पर्दछ।

आधा आकाश :  खोई यहाँले भेटघाट गर्ने सूचीमा आधा आकाश अटाएनछन् त? अरुले त छोडे छोडे यहाँले त महिला भएको नाताले आधा आकाशको पक्षमा बोलेर जानु पर्‍यो नि।

फातिमा :  सरी, सरी । मोरो चाहना त हो नि तर संसदबाट पास गर्ने कुरामा पहिले त पार्टीका नेताहरुलाई नै भेट्नु प¥यो नि। हैन र ? तर आधा आकाशको कुरा त सामाजिक सञ्जालबाट बुझिरहेकी छु नि। बराल मैयाको कुरा सुनेकै छु । आरजूको पनि सुने।

आधा आकाश :  होइन, दुबै सञ्चालित भन्छन्। विदेशको रिमोटबाट नचल्ने आधा आकाशमा धेरै छन् नि।

फातिमा :  हो हो, भन्नुस न त यहाँहरुको कुरा पनि सुनौ न ?

आधा आकाश :  फातिमा सुमारले केपी ओली, माधवकुमार नेपाल, पुष्पकमल दहाल, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, शेरबहादुर देउवा लगायतलाई भेटेपछि मनमा के कुरा खेलाउँदै छिन भन्ने जान्ने इच्छा हामी आधा आकाशलाई भयो ?

फातिमा :  हैट्, नेता हुन त यस्तो पो त ? यस अघि भेट्न आउँदा अर्कै कुरा गरेका थिए, अहिले त अर्कै कुरा पो गर्दछन् त ? सत्तामा हुनजेल हाई अमेरिका हाई अमेरिका भन्नेहरु विपक्षी भएपछि त विर्सिदा रहेछन् ।

आधा आकाश :  कसले के विर्सियो ?

फातिमा  : हैन, हेर्नु भएन निवर्तमान प्रधानमन्त्रीको कुरा । जो पनि आफू प्रधानमन्त्री भएको बेलामात्र एमसीसी पास गर्ने भन्दा रहेछन् यहाँ त।

आधा आकाश :  सभामुखले संसदमा बहसमा आउन नदिने रे नि ? सभामुखसँग भेट गर्नु भयो त ?

फातिमा :  सभामुखलाई भेट्नु पर्दछ भनेर कसैले सुझाव दिएन । हो है ? एमसीसीको दस्तावेज नै अहिले सभामुखको डोरमा चाबी लागेर बसेको छ । सभामुखलाई नभेटेर त भएन । तर उनी प्रचण्डको एसम्यान भनेर अमेरिकामा रिपोर्टिङ् छ नि ?

आधा आकाश :  त्यो पनि अमेरिकाले नबुझेको रहेछ । प्रचण्डले भनेर उनले नमानेका हुन कि उनले भनेर प्रचण्डले नमानेका हुन त्यो त दुबैको घरका आधा आकाशबाट चाल पाउनु हुनेछ । उनीहरुको घर भित्रको सूचना कसरी लिने गर्नु भएको छ त?

फातिमा :  मलाई घरको सूचना चाहिएको छैन । सभामुखले एमसीसीलाई टेबुलेशन गरिदिए पुगेको छ ।

आधा आकाश : त्यसको लागि त यहाँले आजसम्म भेटेको मानिसबाट हुनेवाला छैन । चीनलाई अनुरोध गर्नु भयो भने सजिलै हुन्छ ।

फातिमा :  हो र ?

आधा आकाश :  हो नि । अहिले एससीसीको विरोधमा सडकमा आउने धेरै जना जोशिएर, लहैलहैमा आएका छन् । तर, यसका नेतृत्वकर्ता हुँ भन्नेहरुको पुरानो इतिहास खोज्नु भएको छ ? राजावादी, चीन, यूरोपियन यूनियन र भारत प्रो छन् भन्ने लागेको छ ।

फातिमा : उनीहरुलाई किन यस्तो चाँसो त ?

आधा आकाश : अमेरिकाले नेपालमा धेरै हस्तक्षेप गरेको भारत र चीनलाई त मन परेको थिएन र छैन । यूरोपियन यूनियन पनि भित्र भित्रै अमेरिकालाई असफल बनाउन खोज्दो रहेछ । उतै मिलाउ है नानी यूरोपियन यूनियनलाई । त्यसका भरौटेहरु पनि सडकमा देख्छु ।

फातिमा :  अनि नेपालको राजावादीको कुरा नि ?

आधा आकाश :  राजावादी त मधेस आन्दोलनमा पनि मधेसीको समर्थनमा थियो, थारु आन्दोलनमा पनि थारुको सपोर्टमा । माओवादीको युद्धमा पनि चन्दा दिएको थियो । कम्युनिष्ट जन्माउन पनि लगानी गरेको थियो । यो त अरु सबैलाई असफल पारेर, अस्थिर बनाएर आफू भएमात्र ठीक हुन्छ भनेर खुराफाती माइन्ड लगाउँछ । त्यो भएर आधा आकाशमात्र होइन नेपाल आमा पनि यी राजावादीहरुको दोधारे चरित्रबाट हैरान छ ।

फातिमा :  हो र ?

आधा आकाश :  हो नि । यी, राजा ज्ञानेन्द्र छन् नि, भित्र भित्रै अमेरिकासंग नजिक भएजस्तो गएर गोप्य गोप्य सहमति गर्दछन् । आफ्ना फ्लोअरहरुलाई भने अमेरिकाकै विरुद्ध उकास्छन् । नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाउन अमेरिकाले सहयोग नगरेको भए नेपाल उहिले सिक्किम हुने थियो भन्ने हेक्का यिनीहरुलाई छैन ।

फातिमा  :  त्यसो भए के गर्ने त ?

आधा आकाश :  के साच्चिकै एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गत हैन नि ?

फातिमा :  होइन नि ? हामीले लेखेरै दिएका छौं त । हैन भनेर अमेरिकी सेना आउँछ भनेर शंका नगर्नुस ।

आधा आकाश :  तिमीले लेखेर दिएपनि अमेरिकी सरकारले तिमीलाई टेर्ला भन्ने विश्वास त हामीलाई छैन् नि ?

फातिमा :  विश्वास गर्नुस । नेपालको शासक जस्तो हैन नि हाम्रो । सबै कुरा सिस्टममा हुन्छ ।

आधा आकाश :  नेपालमा नेपालीहरुले एमसीसीको विरोध गर्नुमा अमेरिका भन्दा नेपाल सरकारको भरोस कम भएर हो भन्ने तिमीले कत्तिको बुझेकी छौ ? थाहा छ एमसीसीबाट कमिशन धेरै आउने भएपछि नेताहरु पास गर्न त्यो पनि आफ्नै पालोमा पास गर्न मरिहत्ते गरेका रे नि ?

फतिमा :  हा.. हा.. हा…, यसमा त हाँस्नमात्र सक्छु । नेपालका नेताहरुको प्रबृत्ति हामीभन्दा यहाँहरुले बढी बुझ्नु भएको छ ।

आधा आकाश :  अब त तिमी जाँदैछौं । प्रमुख प्रतिपक्ष एमाले तातिएको बेलामा आयौ । तिम्रो अभियान सफल नहोला जस्तो भयो त । हामी महिलाहरु एउटा भारतीय मूलकी महिलाले अमेरिकामा गएर गरेको प्रगती देखि गर्व गर्दछौं । भन तिमीलाई के सहयोग गर्न पर्‍यो ?

फतिमा :  म प्रति सद्भाव देखाउनु भयो त्यो नै बढी भयो । मैले वा यहाँले गरेर एमसीसी पास हुने वा ¥यापअप गरेर जाने कुरा होइन । मैले त यहाँको अवस्थाको रिपोर्ट गर्ने हो । बाँकी यो अव प्रक्रियामा जान्छ।

हामी पनि प्रक्रियामा जान्छौ । नेपालले पनि प्रक्रियामा लगोस भन्ने चाहना गर्दछौं । तपाईहरुले यति सहयोग गर्नुस कि नेपाल सरकारले पनि प्रक्रियामा लगोस र सडकमा एमसीसीको बारेमा बोल्नेहरुले पनि सुत्ने खाने ठाउँमै आएर एक महिलालाई अशोभनिए प्रक्रिया नअपनाउन ।

आधा आकाश :  फातिमा जी तपाईको व्यक्तिगत सम्मानमा हामी आँच आउन दिदैनौं । तपाईको व्यक्तिगत जीवनमा नानाधरी टिकाटिप्पणी गर्नेहरुलाई हामीले पटक पटक संझाउने गरेका छौं । तपाईको अहिलेसम्मको टिप्पणीहरु मर्यादित र सटिक छ।

नेपालीले पनि मर्यादित टिप्पणी नै गर्नुपर्दछ भन्ने हाम्रो मान्यता छ । अपवादलाई हामीले के नै गर्न सक्दछौं र ? हुन त देख्नु भयो शुक्रबार संसदमा गृहमन्त्रीकै माइक तानेर झण्डै सभामुखलाई हान्न लागेकी पनि हाम्रै आधा आकाश मध्येकै हुन् । हामीसँग बल छैन, हिम्मत छैन कसले भन्न सक्दछ र ? माइक त्यो पनि गृहमन्त्रीको ? सक्किएन त कुरा ? कसो फातिमा जी ?

फातिमा :  हा हा हा । हो नि । हाम्रोमा त योभन्दा कडा भएको मिडियामा देख्नु भयो नै होला । राजनीतिमा जे पनि हुन सक्छ ।

आधा आकाश :  यो एमसीसीको हाइटेन्सन लाइन भारत लानुभन्दा महिलाको शसक्तिकरणमा बजेट रुपमान्तरण गर्न मिल्दैन ?

फातिमा :  यो त तपाईहरुको नीति निर्माण कर्ताहरुले गर्ने कुरा हो । अब हामीले त संझौता भैसकेको कुरामा पविर्तन गर्न मिल्दैन नै भन्दछौं ।

आधा आकाश :  त्यसो भए हामीले बुझेको के हो भने, अहिलेकै संझौताका आधारमा एमाले, माओवादी र कांग्रेसका केही मानिसले संसदबाट पास हुन दिंदैनन् । कि त संसदबाट पास नगर्ने गरी अघि बढ्नु पर्‍यो कि त एमसीसीलाई ¥यापअप नै गर्नु बेश हुन्छ ।

फातिमा :  र्‍यापअप गर्नु परेको अवस्थामा एक पटक अमेरिकी अथरेटीसंग बुझेर केही परिवर्तन गर्न सकिन्छ कि बुझौला नि । विश्वमा केही पनि अपरिवर्तनशील हुँदैन भन्ने कुरामा म विश्वास गर्दछु ।

आधा आकाश :  ल है फातिमाजी यहाँ डेभेलेपमेन्ट डिप्लोम्याट हुनुहुँदो रहेछ । समावेशी र दीगो आर्थिक विकासको माध्यमले गरिबी निर्मूृल गर्ने अभियानमा हुनुहुँदो रहेछ । नेपालको गरिबी निवारण भारतमा बिजुली लगेर हुने त हामीले देखेनौं ।

हाम्रो देशमा विजुली खपत हुने गरी उद्यमशीलताको विकास गर्ने, आधा आकाशको पहुँचमा विजुलीबाट सञ्चालन गर्ने घरेलु उद्योगहरु टोलटोलमा चलाउने र पूर्ण, आंशिक बेरोजगारका रुपमा रहेका आधा आकाशलाई सक्रिय, दक्ष जनशक्ति बनाएर पूर्ण रोजगारमा लगाउने काम गरियो भनेमात्र गरिबी निवारण हुन सक्छ ।

मिलिनियम च्यालेन्ज करपरेशनलाई गरिबी निवारणका लागि चलाएको भन्ने लाग्दछ भने विदेशमा पढेर आएका नेपालको गाउँघर नबुझेको पछि लागेर दिएको बजेट बालुवामा पानी हाले जस्तै हुन्छ है बुझिराख्नुस ।

फातिमा :  मेरो मनले पनि यहाँहरुकै जस्तै सोच्ने गर्दछ । आखिर मेरो मन पनि भारतीय मूलको महिलाको न हो । मनको सोचाई र कागजी प्रक्रियामा फरक पर्दो रहेछ । मेरो मन आधा आकाशको साथमा छ । एससीसी पास होला नहोला, तर आधा आकाशलाई अमेरिकी सेना आउँछ भनेर यहाँ तर्साएका रहेछन् । यो होइन है । किनकी मेरो आत्माले तपाईहरुसंग झुठो बोल्दैन ।

(आधा आकाश र फातिमा सुमारबीचको ‘मनभित्रको मनको बार्ता’ सकिन्छ )

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *