अमेरिकाको ओहायोस्थित घरमा आगलागी हुँदा ५ नेपालीभाषी भुटानीको मृत्यु, कारण अस्पष्ट

डिसी नेपाल
२९ भदौ २०७८ ६:२३

वासिंगटन डिसी । अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा बसोबास गर्ने ५ नेपालीभाषी भुटानीको घरमा आगलागीका कारण मृत्यु भएको छ। सेप्टेम्बर १२ तारिक आइतवार राति भएको सो घटनामा मृत्यु हुने ५ जनामा ३ जना बालबच्चा परेका छन्।

एक्रोन नर्थहिल क्षेत्रको लिन्डेन एभेन्यु ११०० ठेगानामा रहेको घरमा राति आगलागी भएको थियो । द समिट काउन्टी मेडिकल एक्जामिनर अफिसले रातिको आगलागीमा ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ। स्थानीय संचारमाध्यम न्यूज फाइभ क्लिभल्याण्डसँग कुरा गर्दै याम सुब्बाले सो आगलागीमा परी आफ्ना बुबा, कान्छी आमा र तीनजना बच्चाहरुको मृत्यु भएको बताएका छन्।

उनले सो संचारमाध्यमसंग मृतक परिवारको फोटो पनि शेयर गरेका छन् । आगलागीमा परी अरु ४ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ।

तस्वीर : न्यूज फाइभ क्लिभल्याण्ड, अमेरिका

 

सुब्बाको घरमा आगो दनदनी भएको छिमेकीले देखेपछि छिमेकीले नै अपतकालीन सेवा ९११ लाई फोन गरेका थिए। समाचारअनुसार, घटनास्थलमा रातिको १ बजे अग्नि नियन्त्रकहरु आइपुगेको र त्यसबेलासम्म सुब्बाको घर जलेको र छिमेकको घरमा पनि सामान्य क्षति पुगेको बताइएको छ।

समाचारअनुसार, एकै परिवारका चारजना बस्ने गरेकोमा केही दिनदेखि छोरी ज्वाईं नाताका ४ जनाको परिवार पनि सो घरमा बस्न पुगेको थियो। राति एक्कासि आगलागी भएपछि सो घरमा बस्ने अर्का एकजना लोग्ने मान्छे भने झ्यालबाट हाम्फालेर बाँच्न सफल भएका थिए भने छोरी ज्वाईंको परिवारका ४ जनामध्ये ३ जना बाँच्न सफल भएका छन्।

तस्वीर : न्यूज फाइभ क्लिभल्याण्ड, अमेरिका

आगलागीको कारण के थियो र सो घरमा घटना भएको रात कति मानिसहरु थिए भन्ने स्पष्ट भइसकेको छैन । आगलागीको घटना थाहा पाएपछि स्थानीय भुट्नीज कम्युनिटी एशोसिएसन अफ एक्रोन इन्क भन्ने सामाजिक संस्थाका अध्यक्ष मनोरथ खनाल र अन्य नेपालीभाषी समुदाय घटनास्थल पुगेका थिए।

खनालका अनुसार, के कारणले आगलागी भएको भन्ने स्पष्ट भएको छैन। उनले डिसी नेपालसंग भने,“नेपाली भाषी समुदायका लागि यो ज्यादै दुःखदायी घटना भएको छ, सरकारले यसको अनुसन्धान गरी तथ्य पत्ता लगाइदिन्छ भन्ने आशा छ। कुनै षड्यन्त्र रहेछ भने पनि पत्ता लगाएर परिवारलाई न्याय होस्।”

तस्वीर : न्यूज फाइभ क्लिभल्याण्ड, अमेरिका



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *