लकडाउनको प्रभावः जनगणनामा कृषकको संख्या बढ्ने

डिसी नेपाल
२ असोज २०७८ १६:४८

काठमाडौं । मेरो जनगणना, मेरो सहभागिता नाराका साथ १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरणमा घरपरिवारको सूचीकरण गर्ने क्रममा कृषि पेशामा आवद्धहरुको संख्या समेत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म घरघर जाने सुपरीवेक्षकहरुले संकलन गरिरहेका छन् ।

कोरोनाका कारण लकडाउनबाट प्रभावित धेरैजसो नेपालीहरुले गाउँ फर्किएर केही न केही खेती र पशुपालन गरिरहेका छन् । चार आना वा आठ धुरजग्गामा मात्र खेतीगर्नेहरु पनि कृषक मानिने भएपछि यस बर्षको जनगणनामा कृषकको संख्या अप्रत्यासित रुपमा बढ्ने देखिएको हो ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक तथा सूचना अधिकारी तीर्थराज चौलागाईका अनुसार सुपरीवेक्षकले संकलन गर्ने कृषकको विवरणका लागि घर र करेसाबारी बाहेक पहाडमा चार आना र तराईमा ८ धुर जग्गा वा सोभन्दा बढीमा खेतीगर्नेलाई किसानको रुपमा गणना गरिदैछ ।

त्यसैगरी ठूलो टाउको भएको जनावर गाई, भैंसी एउटासम्म पाल्ने परिवार, मझौला खालको टाउको हुने खसी, बाख्रा, सुंगुर पाँचबटासम्म पाल्ने र पंक्षीहरु माऊचल्ला सहित २० वटासम्म पाल्ने परिवारलाई कृषक परिवारको रुपमा गणना गर्न लागेको चौलागाईले बताए ।

तथ्यांक विभागले आफ्नै वा अरुको भाडामा वा अधिँयामा लिएर खेती गर्नेहरुलाई समेत किसान मानेकोले धेरैजसो सुकुम्बासीहरु जसले छेऊछाऊमा कसैको जग्गा भाडामा लिएर तराईमा एक–दुई कठ्ठा तरकारी वा अन्य बाली गर्नेहरु प्रशस्त छन् ।

ऐलानी जग्गामा बसोबासगर्नेहरुले समेत एक दुईवटा पशुपालन गरिरहेका छन् । खसीबाख्रा वा सुंगुर पाँचबटासम्म पाल्ने र गाई वा भैंसी एउटा मात्र पाल्ने पनि कृषकको दर्जामा आउने भएपछि यो बर्ष नेपालमा कृषकको संख्या विगतको भन्दा बढ्ने देखिएको हो ।

सूचना अधिकारी चौलागाईले आफू खेती र पशुपालन नगरी अरुलाई बटिया वा पाल्न दिनेहरुलाई कृषकको दायरामा सूचना संकलन नगरिने बताए ।

सूचना अधिकारी चौलागाईका अनुसार घरघरमा सूचिकरणका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षकहरु खटिएका छन् । उनीहरुले घरलाई १२ प्रकारसम्म विभाजन गर्नेगरी सूचना संकलन गर्ने तथा महिला, पुरुष र तेस्रो लिङ्गीको संख्या पनि पहिलो चरणको सूचिकरण प्रक्रियाबाट नै संकलन गरिने बताए ।

दोस्रो चरणमा कत्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म ३९ हजार भन्दा बढी गणकहरु विस्तृत जानकारी संकलन गर्न खटिने चौलागाईले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *