मातातिर्थमा नयाँ पदमार्ग बनाउन जुटे पर्यटन क्षेत्रका श्रमिक

डिसी नेपाल
८ असोज २०७८ १२:०६

काठमाडौं । कोरोना माहामारीका कारण लामो समयसम्म रोजगारी गुमाएका पर्यटन क्षेत्रका श्रमिकहरुले यतिबेला साबेल, गैती, कुटो, कोदालो र हँसिया बोकी पदमार्गको खुड्किलो बनाउन व्यस्त छन् । पहिलो चरणको १० दिने कामका लागि मातातिर्थ पुगेका पर्यटन क्षेत्रका श्रमिकहरू कोही झाडी फाँड्न त कोही पदयात्रा मार्गको खुड्किला बनाउन व्यस्त देखिए ।

मातातिर्थ मन्दिरबाट केही मास्तिरको वनजंगल परिसरमा पदमार्ग निर्माणको काम गर्न केहि दिनअघि ८० जनाभन्दा बढी पर्यटन श्रमिकहरू १० दिने पदयात्रा मार्ग निर्माणको काममा जुटेका थिए । उनीहरु यहि असोज ६ गतेसम्म सो काममा जुटेका थिए ।

काममा जुटेका ८० जनाभन्दा बढी पर्यटन श्रमिकहरूको नेतृत्व नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ(निटोग)का युवा सचिव बपिन राई र अम्बर तामाङले गरेका थिए । कोरोनाका कारणले रोजगारी गुमाएर अलपत्र परेका पर्यटन क्षेत्रमा आबद्ध ट्रेकिङ गाइड, कुक, भरियालगायत श्रमिकहरु उक्त पदयात्रा मार्ग निर्माणमा संलग्न थिए । १० दिनको कामले उनीहरू उत्साहित भएर थप केही दिन काम गर्न चाहेको सचिव राईले बताए ।

सोही काममा संलग्न ओखलढुङ्गाका अम्बर तामाङले ट्रेकिङ गाइडको काम थालेको दुई दशक नाघिसकेको छ । सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, लाङटाङ, कञ्चनजङ्घा लगायतका हिमाली क्षेत्रहरूमा गाइडका रूपमा पर्यटकलाई पदयात्रा गराउनु उनको दैनिकी हो ।

तर, लकडाउनले पर्यटन क्षेत्र ठ्याप्प भएपछि हाल उनले उक्त पर्यटन श्रमिकको टोलीमा सुपरभाइजरको रुपमा काम गरिराखेका छन् । उनी भन्छन्, ‘लकडाउनपछि घरमै थन्किनु परेको २० महिना भन्दा बढी भयो । कोरोना सङ्क्रमणले पर्यटन क्षेत्र बन्द हुँदा अहिले घरपरिवार चलाउन मुस्किल भएको छ ।’

ट्रेकिङको सिजन वर्षमा दुई पटक गरेर चार–पाँच महिना जति काम हुन्छ । मार्च, अप्रिल र मे महिनाको एक सिजन हुन्छ भने सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा अर्को सिजन हुन्छ । यही दुई सिजनमा पर्यटकहरुलाई ट्रेकिङ लैजाँदा अम्बरले वार्षिक ५–६ लाख रुपैयाँ सम्म कमाउने गरेको बताए ।

लामो समयसम्म बेरोजगार भएर बसेका पर्यटन क्षेत्रमा संलग्न ती ८० बढी श्रमिकहरु १० दिनको काम पाएकोमा खुशी व्यक्त गरेका छन् । उनीहरुमध्ये सोनाम शेपाले भने, ‘हामीले मातातिर्थ जस्तो ऐतिहासिक महत्वको ठाउँमा पदयात्रा मार्ग बनाउन पायौँ । अहिले त्यसैमा खुसी हुनु पर्ने अवस्था आएको छ । यो १० दिन त काम गर्यौ, अब बांकी दिन गर्ने हो होइन, पत्तो छैन् । अझै थप कामको व्यवस्था भए जिविका चलाउन अलि सजिलो हुन्थ्यो ।’

अहिले मातातिर्थमा बन्दै गरेको लगभग ३ किलोमिटरको नयाँ पदमार्ग हो । निटोगका अध्यक्ष रामकाजी प्रयासका अनुसार यो नयाँ बाटो चन्द्रागिरिसँग जोडिने छ ।

यो नयाँ बाटोलाई चन्द्रागिरिसँग जोडी एक दिने पदयात्रा मार्गको रुपमा विकास गर्न सके मात्र अहिलेको पर्यटन श्रमिकले गरेको श्रमको अर्थ हुने नत्र यसको खास अर्थ नहुने अध्यक्ष प्रयासले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *