गृहजिल्लामा रामचन्द्र पौडेल कमजोर

डिसी नेपाल
१० असोज २०७८ १४:५०

तनहुँ। गाउँ तथा नगर अधिवेशनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूह गृहजिल्ला तनहुँमा कमजोर देखिएको छ। जिल्लाका आठ स्थानीय तहमा शनिबार अधिवेशन सम्पन्न भएको थियो । दुईमा सर्वसम्मत र ६ स्थानीय तहमा मतदानमार्फत नेतृत्व चयन भएको थियो । दुई स्थानीय तहमा भने अधिवेशन स्थगित भएको छ।

१४औँ महाधिवेशनमा सभापति उठ्ने बताइरहेका वरिष्ठ नेता पौडेल निकटले आठमध्ये दुई स्थानीय तहमा मात्र सभापति जितेका छन्। पौडेलको गृहजिल्लामा संस्थापन शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । देउवानिकट शंकर भण्डारीलगायतका नेता निकटले चार स्थानीय तहमा सभापति जितेका छन्। रामचन्द्र र प्रदिप पौडेलनिकटले दुई÷दुई स्थानीय तहमा सभापति जितेका हुन्।

रामचन्द्रको आफ्नै गृहनगर व्यास र भानु नगरपालिकामा उनी निकटले सभापति जितेका छन्। व्यासको सभापतिमा सूर्यचन्द्र हड्खले र भानुको सभापतिमा रामकुमार श्रेष्ठ निर्वाचित भएका हुन्।

संस्थापन पक्षले देवघाट गाउँपालिका, बन्दीपुर, आँबुखैरेनी र म्याग्दे गाउँपालिकामा जित हात पारेको हो । देवघाटमा तिलबहादुर थापा निर्विरोध निर्वाचित भए । बन्दिपुरमा कर्ण खत्री, म्याग्देमा रामभक्त घिमिरे र आँबुखैरेनीमा विष्णु पन्थ मतदानमार्फत निर्वाचित भएका छन्।

प्रदिप निकटले शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिकामा सभापति जितेका छन्। शुक्लागण्डकीमा सुरुमा संस्थापन पक्षसँगै, पौडेल र जोशीका उम्मेदवार मिलेर ७९ वर्षीय गोपीबहादुर गुरुङको नेतृत्वमा चुनावी प्यानल घोषणा गरेको थियो।

गृहनगरमा वाइपास भएका प्रदिप निकटले पनि गोपीबहादुरलाई नै समर्थन गर्दै अन्य पदमा उम्मेदवारी दिएका थिए। गोपीबहादुर सर्वसम्मत भए। चुनावी मैदानमा उत्रिएको प्रदिपको प्यानलले एकछत्र जित हासिल गर्न सफल भयो। दुवै समूहले आफ्नो दाबी गरेका निर्विरोध सभापति बनेका गोपीबहादुर पनि पछिल्लो समय प्रदिप निकट रहेको बुझिएको छ।

उनी पहिले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको गुटमा रहेका कांग्रेसी नेताहरुले बताएका छन्। पछिल्लो समय गुरुङ शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ निकट मानिन्छन् । र पहिले रामचन्द्र पक्षका भनिने किसान अहिले प्रदिपको पक्षका हुन्।

घिरिङ गाउँपालिकामा पनि प्रदिप निकटका यम थापा सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशन हुन बाँकी भिमाद र ऋषिङमा रामचन्द्र र संस्थापन पक्षका अवस्थामा समान देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *