इलाम जिल्ला सभापतिमा ४ जना आकांक्षीः कसको संभावना बलियो?

सम्भव सिंह ठकुरी
१२ असोज २०७८ १४:००

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत यतिबेला स्थानीय तह अन्तर्गतको अधिवेशन भइरहेको छ। केन्द्रीय नेताहरु आफू अनुकूलको पालिका सभापति, महाधिवेशन प्रतिनिधि र जिल्ला सभापति बनाउन कसरत गरिराखेका छन्। त्यसैले अहिले देशको ७७ वटै जिल्लाहरुमा कांग्रेस अधिवेशनको बाक्लो सरगर्मी छाएको छ।

कुल १० वटा स्थानीय तह भएको इलाममा भदौ ९ गते नै पालिका स्तरीय अधिवेशन सम्पन्न भइसकेको छ। र यतिबेला प्रदेश निर्वाचन क्षेत्र,प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला सभापतिको लागि नेताहरुको रस्साकस्सी र दौडधुप बढेको छ। नेताहरु निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न विभिन्न गुट निर्माण र गुट परिवर्तको कसरत गरिराखेका छन्।

यस्तो रौनक इलाममा पनि चलेको छ। इलाम जिल्ला अधिवेशनमा संस्थापन र संस्थापनइतर समूहबाट आफू अनुकुलको नेतृत्व ल्याउने कसरत गरेपनि दुवै समूहबाट समान २–२ जना जिल्ला सभापतिको उम्मेदारी दिने निश्चित जस्तै बनेको छ।

यसरी चार जना अधिवेशनको मैदानमा उत्रिने नेताहरुमा वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्य,भेषराज आचार्य,केशब थापा र डम्वर खड्का रहेका छन्। जिल्ला सभापति कर्माचार्यले १० औँ र ११ औँ महाधिवेशनमा लगातार जिल्ला सभापतिको नेतृत्व सम्हालेका हुन्।

१२ औं अधिवेशनमा पराजित भएका उनी त्यसपछि १३ औँ महाधिवेशनमा पुनःनेतृत्वमा आएका थिए। र १४ औँ महाधिवेशनमा पनि पुनःदोहोरिन चाहेका छन्। संस्थापन इतर समूहमा रहेका कर्माचार्य केन्द्रमा प्रकाशमानसिंह निकटका नेताका रुपमा चिनिन्छन्।

त्यस्तै संस्थापन इतर समूहबाट नै अर्का आकांक्षी हुन् भेषराज आचार्य। लामो समयदेखि जिल्लाको राजनीतिमा भिजेका आचार्य बौद्धिक नेताको रुपमा चिनिन्छन्। विज्ञान विषयमा (एमएसी) र कानूनमा स्नाकोत्तर गरेका आचार्य सुशील कोइराला सभापति रहँदा नेपाली कांग्रेस प्रशिक्षण विभागको केन्द्रीय सदस्य समेत भएका र पटक/पटक महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै आएका हुुन्।

उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सुभाषचन्द्र नेङ्वाङसँग थोरै मतातन्तरले पराजय भएका नेता हुन्। उनी अहिले महामन्त्री डा.शशांक कोइराला निकट मानिन्छन्।

संस्थापन समूहबाट आकांक्षी रहेका अर्का नेता केशव थापा लामो समयदेखि शेरबहादुर देउवाका राजनीति सहयात्रीका रुपमा परिचित छन्। देउवाले २०५८ सालमा पार्टी विभाजन गरि नेपाली कांग्रेस (प्रजातान्त्रिक) निर्माण गर्दा उनी जिल्ला सभापति रहेका थिए। उनी पूर्व राज्यमन्त्री पनि हुन्। थापा नै संस्थापन पक्षको साझा उम्मेदारी बन्न सक्नेपनि इलामको राजनीतिमा विश्लेषण हुन्छ।

त्यस्तै,संस्थापन समूहका अर्का आकांक्षी हनु्,डम्बर खड्का। उनीपनि देउवा समूहमा लामो समयदेखि सहयात्री भएकाले देउवा समूहका विश्वास पात्रका नेताका रुपमा चिनिन्छन्। १३ औँ महाधिवेशनमा पनि सभापतिको उम्मेदारी रहेका खड्का हिमालय कर्माचार्यसँग पराजित हुन पुगेका थिए।

जिल्लामा को बलियो ?

जिल्लामा ४ वटै आकांक्षीले आफू कार्यकर्तामाझ लोकप्रिय भएकाले आफूले नै अधिवेशन जित्ने दावी गर्दै आएका छन्। केन्द्रमा संस्थापन पक्ष र इतरपक्ष भएपनि जिल्लामा त्यो परम्परा भत्किने इलामका एक क्षेत्रीय प्रतिनिधि बताउँछन्।

‘जिल्ला सभापतिमा ४ जनाकै उम्मेदार हुने निश्चित छ। तर संस्थापन समूहबाट केशव थापा र इतर समूहबाट भेषराज आचार्य पहिलो रोजाइमा हुनसक्छन्,’उनले भने।

संस्थापन पक्षका आकांक्षी केशव थापा र डम्वर खड्का लामो समय देखि एउटै समूहमा रहेपनि व्यक्तिगत टकरावका कारण मिल्ने अवस्था नरहेको र यस्को राजनीति लाभ भेषराज आचार्यले लिने उनको तर्क रहेको छ।

ती प्रतिनिधिले दावी गरे, ‘भेषराज दाइले कार्यकर्तामाझ लोकप्रिय छवी बनाउनु भएको छ। त्यसकारण उहाँलाई रोक्न पैसा,शक्ति र विभिन्न षड्यन्त्रहरुपनि बनिरहको तर इलामे कांग्रेसले भेषराज दाइलाइ स्थापित गरिछाड्छ।’

उनका अनुसार १० स्थानीय तह रहेको इलाममा ७ स्थानीय तहमा आचार्य निकटका पालिका सभापति चयन भएका छन्। माङ्सेवुङ गाउँपालिका, देउमाई नगरपालिका, माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिकासहित अन्य दुई स्थानिय तहको सभापति आचार्य समूहबाट विजयी बनेका छन्।

‘केशव दाइको समूहबाट फाकफोकथुम गाउँपालिका,माई नगरपालिका,सन्दकपुर गाउँपालिकामा उहाँ निकट सभापति हुनुहुन्छ। त्यसकारण पनि भेषराज दाईले नतिजा पल्टाउने देख्छु।’ उनले भने,

‘हिमालय दाई र केशव दाई ले २५ वर्षसम्म दुई÷दुई कार्यकाल जिल्लाको नेतृत्व गर्नुभयो तर कांग्रेस गतिशील हुनुको सट्टा गत निर्वाचनमा देशभर कांग्रेसको ४० हजार भोट कम आउँदा २० हजारको कम मतान्तर इलामबाट मात्र आएको थियो। त्यसकारण पनि अब बलियो संगठन र विपक्षी दलसंग प्रतिस्पर्धा गर्न भेषराज दाईको जीत आवश्यक रहेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *