छुवाछुत प्रथाः ‘दूध बेच्ने रहर छ, छोइन्छ भन्छन् नबिक्ने डर छ’

डिसी नेपाल
१२ असोज २०७८ २१:४०

काठमाडौं ।विश्व अहिले कोरोना भाईरसले आक्रान्त छ । यो विषम परिस्थितिमा नेपाल पनि अछुतो रहेको छैन । विश्वभरको यो कहरबिच नेपालमा भने कहि नभाको जात्रा कुन्नि के भनेजस्तै भाको छ । बिषय छ छुवाछुत र जातिय प्रथा । नेपालमा यो अन्धविश्वास र जातियताको नजरले छुट्याउने यो जड आज हैन दशकै लामो समयदेखि आक्रान्त हुँदै आइरहेको छ । भन्नैका लागि त रगत सबैको रातो हुन्छ । के दलित के जनजाती सबै समान हुन भनी भजन गाईन्छ तर यो मेरो समाज आज जातजाती र रंगभेदमै लपक्कै डुबिरहेको छ । प्रसंग रहेको छ पवित्रा विश्वकर्माको । उनले दुईवटा भैँसी पालेकी छिन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् कारण अरु केहि होइन् मात्र होकि उनी दलित भएर । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोखे ।

उनको थातथलो रहेको बागलुङ नगरपालिका–७ कालिमाटी दलित बाहुल्य बस्ती हो । विश्वकर्माझैँ त्यहाँका दलित समुदायका सयौँ किसान दूध बेच्नबाट बञ्चित छन् । घ्यू नै बनाए पनि बजार नपाउने स्थिति छ । दूध, घ्यू बेचेर आयआर्जन सुधार्ने उनीहरुको पवित्र चाहनामा सामाजिक कलङ्क ‘जातीय छुवाछूत’ तगारो बनेको छ । ५७ वर्षीय भीमबहादुर किसान आफूहरुले उत्पादन गरेको दूधले बजार नपाएको बताउँछन् ।

“बजार पाए त हामीले पनि दूध बेच्थ्यौँ, तर यहाँ छोइछिटो गर्ने चलन छ”, भीमबहादुरले भने, “दलितले उत्पादन गरेको दूध सहजै बिक्री हुने वातावरण अझै छैन ।” दैलोमा रहेको ‘कालिमाटी दुग्ध उत्पादक सहकारी संस्था’लाई टुलुटुलु हेर्न विवश छन्, दलित समुदायका किसान । सहकारीले गाउँका अरु किसानबाट दूध सङ्कलन गर्छ । तर दलित समुदायका किसानको दूध भने सहकारीसम्म आइपुग्दैन । दलित अगुवा विकास विश्वकर्माका भनाइमा विभेदको डर र सङ्कोचका कारण दलित समुदायका किसान दूध लिएर सहकारीसम्म जान सकेका छैनन् ।

“सहकारीले हाम्रो दूध लिनै चाहँदैन, यो विषयमा कुराकानी गर्न पनि उहाँहरु तयार हुनुहुन्न”, उनले भने, “दलित किसानलाई पनि सेयर दिनका लागि कैयौँपटक आवाज उठायौँ तर विभिन्न बहाना बनाउँदै सहकारी पन्छिने गरेको छ ।”हरेक दलित परिवारमा भैँसीपालन भइरहेको र त्यहाँको दूध खाइपिइ र घरायसी प्रयोजनमै सीमित हुने गरेको उनको भनाइ छ । विसं २०५७ मा खुलेको सहकारीलाई गाउँका सीमित व्यक्तिहरूले आफूअनुकूल र मनलाग्दी हिसाबले सञ्चालन गर्दै आएको दलित समुदायका सदस्यको आरोप छ । सहकारीले सेयर दिनुपर्ने र आफ्नो घरको दूध पनि उठाउनुपर्ने माग उनीहरुको छ ।

सहकारीका व्यवस्थापक ज्ञानेन्द्र गौतमले बेलाबेला दलित समुदायबाट यस्तो कुरा उठ्ने गरे पनि बीचमै सेलाउने गरेको बताए । “उनीहरुले दूधको व्यावसायिक उत्पादन गर्नुहुन्न, साउन÷भदौताका दूध धेरै हुँदा मात्र यस्तो कुरा आउँछ”, उनले भने । व्यावसायिक किसानले सुक्खा याममा पनि दूध उत्पादन गर्न सक्नुपर्ने गौतमले तर्क गरे । उनले सहकारीमा अहिले ७०÷७१ जना जति सेयर सदस्य रहेको र त्योभन्दा बढी थप्ने नीति नरहेको उल्लेख गरे ।

गौतमले दलित समुदायले आफैँ पनि सहकारी खोलेर दूध बेच्न सक्ने भन्दै कालिमाटी दुग्ध सहकारीले उनीहरुकोबाट दूध लिन नचाहेकोबारे स्पष्ट जवाफ दिन चाहेनन् । “२५ जना भए सहकारी खोल्न पाइन्छ, उनीहरुले सहकारी बनाएर आफ्नो दूध बेचे भयो नि, हामीले त्यही गरेको हो”, उनले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *