कठिन व्रतमध्येको एक ‘जितिया पर्व’, जितबाहन किन पुजिन्छ ?

डिसी नेपाल
१३ असोज २०७८ ७:१४

काठमाडौं । आज जितिया पर्व । भगवान् जितबाहनको पूजाआजा गर्दै मनाइने एउटा विशेष पर्व हो जितिया। यस दिन महिला निर्जला अर्थात् पानीसमेत नपिई व्रत बस्छन्।

विशेषगरी नेपालको तराई क्षेत्रका महिलाले यो पर्व मनाउने गर्छन्। प्रत्येक वर्ष आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन जितिया पर्व मनाइन्छ।

भाद्र कृष्णपक्षको अष्टमी तिथिको दिन जितिया पर्व मनाउने परम्परा भए पनि यसको आरम्भ भने षष्ठी तिथिबाटै हुन्छ। यस पर्वलाई जिउतिया, जितिया, जीवित्पुत्रिका, जिमुतवाहन नामले पनि चिनिन्छ। नेपालमा मात्र नभई यो पर्व भारतमासमेत निकै धुमधामका साथ मनाइने गरिन्छ।

विशेषगरी बिवाहित महिलाले यो व्रत बस्ने परम्परा भए पनि अहिले अबिवाहित महिलाले पनि व्रत बस्ने गरेका छन्। महिला आफ्ना सन्तानको लामो आयुका लागि व्रत बस्छन्।

जितियाका तीन दिन

तीन दिनसम्म चल्ने यस व्रतलाई कठिन व्रतको रूपमा लिइन्छ। तीन दिनसम्म चल्ने यस पर्वमा सप्तमीको दिन नहाए खाए, अष्टमीको दिन नीर्जला व्रत र नवमीका दिन व्रत खोल्ने अर्थात् पारण गरिन्छ।

सप्तमी अर्थात् नहाए खाएका दिन व्रतालु बिहान नदीमा स्नान गरेर एक छाक सात्विक भोजन गर्छन्। सूर्यास्तपछि भने केही पनि खाँदैनन्। रातको समयमा घरको चारै दिशामा केही खानेकुरा राख्ने चलन पनि छ।

ब्रतको दोस्रो दिन ब्रतालुहरू पवित्र सरोवरमा स्नान गरी जिमुतवाहनको कथा सुन्ने गर्छन्। ब्रतको फलबारे जानकार र प्रौढ महिलाले व्रतालुलाई कथा सुनाउँछन्। कथा सुन्नका लागि व्रतालु नदी, पोखरीमा भेला हुन्छन्। यस दिन सबै व्रतालु निर्जला अर्थात् पानी पनि नपिई बस्छन्।

व्रतको तेस्रो दिन व्रत खोल्ने अर्थात् पारण गरिन्छ। यस दिन ब्रतलाई समापन गरी दान, दक्षिणा गर्ने गरिन्छ।

जितियाको पौराणिक आधार

पौराणिक मान्यताअनुसार यस व्रतको महत्त्व द्वापर युगसँग जोडिएको पाइन्छ। महाभारतका अनुसार अभिमन्युका पुत्र, पाण्डव कुलको वंशको रूपमा उत्तराको गर्भमा रहेका पुत्रलाई अश्वत्थामाको ब्रह्मास्त्र प्रहारबाट भगवान् कृष्णले रक्षा गरेका थिए।

यसैको आधारमा आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन महिलाहरू आफ्ना पुत्रको रक्षा र लामो आयुका लागि निर्जला व्रत बस्ने गर्छन्। यस दिन व्रत बस्नाले कृष्ण भगवान्ले सन्तानहरूको रक्षा गर्ने जनविश्वास रहिआएको छ।

जितियामा पुजिने जितबाहन

जितियामा जसको व्रत बसिन्छ, उसलाई भगवान् जितवाहन भनिन्छ। भगवान् जितबाहन बिनाबाबु र बिनानाम आमासँगै रहेको अवस्थामा आफ्ना बाबु भगवान् भएको थाहा पाएर आफ्ना बाबुको पहिचानका लागि घरबाट निस्कन्छन्।

बाबुको पहिचान गर्न उनले आकाशसम्मको यात्रा गरेको वर्णन पाइन्छ। आकाशमा गएर आफ्ना बाबुको पहिचान गरी बाबुबाट ‘जितबाहन’ नाम पाएका थिए। साथै, ‘सबैले तिम्रो पुजा गर्नेछन्’ भनेर उनका बाबुबाट आशीर्वादसमेत पाएका थिए। यसकै आधारमा भगवान् जितबहानको पूजाआजा गरेर जितिया पर्व मनाइन्छ ।

जितिया व्रतको कथा

नर्मदा नदीको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो । उक्त ठाउँमा राजा मलायकेतुले राज गर्थे । खोलाको पश्चिमी किनारमा बलुहटा नाम गरेको एउटा मरुभूमि पनि थियो । त्यही किनारमा एउटा पाखरको रूख थियो, जसमा पोथी चिल बस्थी भने रूखमुनि पोथी स्याल बस्थी।

एक दिन जंगलका अरूलेजस्तै उनीहरूले पनि भगवान् जीतबाहन गोँसाईको निर्जला व्रत बस्ने निर्णय गरे । तर, सोही दिन उनीहरू बस्ने मरुभूमिको छेउमा रहेको शहरको धनी व्यापारीको मरेको छोरालाई ल्याएर त्यसै ठाउँमा गाडिदिन्छ ।

चिलले अरूले जस्तै व्रत कायम राखे पनि पोथी स्यालले भने व्रतलाई कायम राख्न सकिन र गाडेको लासको मासु खाएर व्रत भंग गरी । अर्को जन्ममा चिल र स्याल एउटै घरमा ब्राह्मण परिवारमा दिदी–बहिनी भएर जन्मिन्छन्।

शिलवती नामकी ब्राह्मण कन्याको रूपमा चिलले जन्म लिन्छे भने कपुरवतीको रूपमा स्यालले जन्म लिन्छे। शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसँग अनि बहिनी कपुरवतीको राजा मलायकेतुसँग विवाह हुन्छ । शिलवतीका सात जना सुन्दर पुत्र हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु हुन्छ।

शिलवतीका छोराहरूले राजा मलायाकेतुकोमा काम गर्न थाल्छन्। ती केटाहरू आफ्नी दिदीका पुत्रहरू भएको थाहा पाएपछि स्यालबाट शिलवती बनेकी बहिनी कपुरवती रिसले चुर हुन्छिन्।

राजालाई भनेर ती सातै जना शिलवतीका पुत्रहरूको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदीकोमा पठाउने षड्यन्त्र गर्छिन् । तर, यो कुरा भगवान् जीतबहान गोँसाईले थाहा पाएपछि सातै जना छोरालाई बचाउँछन्।

ती सात जना पुत्रहरूलाई अमृत दिएर अमर बनाउँदै उनीहरूको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिदिन्छन् । यसरी रातो कपडाले बेरिएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफूलले भरिपूर्ण उपहारको रूपमा परिणत हुन्छ।

हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदीको घरमा अब छोराहरूको मृत्युले रुवाबासी भइरहेको होला भन्ने अनुमान गरी एक सेविकालाई बुझ्न पठाउँछिन् । तर, शिलवतीको घरमा हर्ष, उल्लास र खुसियाली छाएको सन्देशयुक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात् कपुरवतीका पतिले पक्कै पनि त्यो घरमा भगवान्को कृपा छ भन्ने सोच्छन्।

दिदीको खुसी सहन नसकेर अब कपुरवती दिदीको घर पुग्छिन् र सम्पूर्ण कुरा भन्छिन्। यसो भन्दै गर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आउँछ, जतिबेला उनले चिलको रूपमा भए पनि भगवान् जीतबाहनको व्रत बसेकी थिइन् । शिलावतीले पूर्वजन्मको घटना कपुरवतीलाई सुनाउँदै व्रत भंग गरेका कारण छोरा जीवित नरहेको जानकारी गराइन्।

यसै बेलादेखि श्रद्धापूर्वक आमाहरूले छोराछोरीको रक्षाका लागि जितिया पर्वमा व्रतको परंपरा थालेको मान्यता रहिआएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *