अमेरिकी सेनाका बरिष्ठ अधिकारीहरुले भने – ‘तालिबान फर्किनुको कारण दोहा सम्झौता’

डिसी नेपाल
१४ असोज २०७८ १४:०६

काठमाडौं। अमेरिकी सेनाका केही बरिष्ठ अधिकारीहरुले तालिबानले अफगानिस्तानमा कब्जा गर्नुको कारण तत्कालीन ट्रम्प प्रशासन र तालिबानबीच दोहामा भएको सम्झौता भएको बताएका छन् । दोहा सम्झौतामा फेब्रुअरी २०२० मा हस्ताक्षर भएको थियो । यो सम्झौता अनुसार अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउने मिति तय गरेको थियो ।

अमेरिकी रक्षा अधिकारीहरुले बुधबार देशको प्रतिनिधिसभाको सशस्त्र सेवा समितिलाई दिएको बयानमा यस्तो टिप्पणी गरेका हुन् । युएस सेन्ट्रल कमाण्डका प्रमुख जनरल फ्रेंकी म्याकेन्जीले अफगान सरकार र उसको सेनामा यो सम्झौताको प्रतिकूल असर परेको बताए । अमेरिकाका रक्षा सचिव लोयड अस्टिनले सहमति व्यक्ति गर्दै यो सम्झौताले तालिबानलाई बलियो बन्न सहयोग पुगेको बताए ।

अमेरिकी सेना फिर्ता हुने मिति तय गर्नुका अलावा दोहा सम्झौता अन्तर्गत तालिबानले अल कायदा जस्ता समूहमाथि नियन्त्रण गर्नुपर्ने थियो ताकि ती संगठन अमेरिका र उसका सहयोगीहरुको सुरक्षालाई खतरामा पार्न नसकुन् । राष्ट्रपति निर्वाचित भएपछि जो बाइडेनले अफगानिस्तानबाट सेना फर्काउने योजनालाई जारी राखे तर त्यसलाई मे महिनाको सट्टा अगष्टसम्म बढाए ।

अमेरिकी प्रतिनिधि सभामा यो सुनुवाइ काबुल विमानस्थलमा तालिबान फर्किएपछि भएको अस्तव्यस्तताको केही हप्तापछि भइरहेको छ । यही अस्तव्यस्तताका बीच काबुल विमानस्थलमा भएको आत्मघाती आक्रमणमा १८२ जनाको मृत्यु भएको थियो । यो आक्रमणमा मारिनेहरुमध्ये १३ जना अमेरिकी सैनिक पनि थिए ।

युएस सेन्ट्रल कमाण्डका प्रमुखको रुपमा जनरल म्याकेन्जीले अफगानिस्तानबाट सेना फर्किएपछि निगरानी गरेका थिए । यो फिर्तीले देशमा २० वर्षसम्मको अमेरिकी उपस्थितिको अन्त्य गरेको थियो । जनरल म्याकेन्जीले प्रतिनिधि सभामा भने ‘दोहा सम्झौताको अफगानिस्तान सरकारमा ठूलो मनोवैज्ञानिक असर पर्यो किनकि उनीस्हरुलाई यो थाहा भयो कि एक तय मितिपछि उनीहरुले कोही अरुबाट सहयोग पाउने छैनन् ।’

जनरल म्याकेन्जीले आफूले लामो समयसम्म यदि अफगानिस्तानमा अमेरिकी सेनाको संख्या २५०० बाट कम भयो भने त्यहाँको सरकार ढल्छ भन्ने कुरा मान्दै आएको बताए । उनले दोहा सम्झौतापछि सैनिकहरुको संख्यामा कटौती गर्ने राष्ट्रपति बाइडेनको आदेश ताबुतमा अन्तिम किला प्रमाणित भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *