दशैँ अगावै पत्रकारका सबै सेवा उपलब्ध गराउन महासंघको माग

डिसी नेपाल
१४ असोज २०७८ १९:१५

काठमाडौं।नेपाल पत्रकार महासंघले दशैँ अगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा, सुविधा उपलब्ध गराउन व्यवस्थापन समक्ष माग गरेको छ ।महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै दशैँ अगावै पत्रकारलाई सबै सुविधा उपलब्ध गराउन माग गरेका हुन् ।

‘नेपालीहरूको महान् पर्व दशैँ नजिकिँदै गर्दा श्रमजीवी पत्रकारहरू कोरोना मारमा पर्नुका साथै तलबविहीन हुनुपर्दाको पीडा छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नुपर्नेतर्फ राज्यको ध्यान पुग्न सकिरहेको छैनु, उनले भनेका छन्, ‘संचारगृहबाट श्रमजीवी पत्रकारहरूमाथि अन्याय भइरहेको यो अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ ।’

महासंघले कोरोना संक्रमणको बहाना बनाई विभिन्न संचारगृहमा श्रमजीवी पत्रकारलाई निश्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलब(भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्यविरुद्ध पटक पटक सम्बन्धित संचारगृहसँग पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत त्यसलाई बेवास्ता गर्दै गरेकाले पत्रकारका समस्या थप जटिल बन्दै गइरहेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघ सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका संचारगृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विविध कार्यक्रम अघि बढाउनसमेत महासंघको आग्रह छ ।पीडित पत्रकारले अघि बढाएका मागहरूको हालसम्म पनि संचारगृहबाट सुनुवाइ हुन नसकेकामा खेद व्यक्त गर्दै समयमै ती समस्याको सुनुवाइ नभए महासंघको निर्णय र समन्वयमा १७ असोजपछि संघर्षका थप कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *