चन्द्रागिरीमा कांग्रेसकाे सहमतिमै नेतृत्व छानिने, बाँकीमा निर्वाचन हुने

डिसी नेपाल
१६ असोज २०७८ ९:०९

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत काठमाडौंका ११ पालिकामध्ये एउटामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ। आजबाट सुरु हुने काठमाडौंको पालिका अधिवेशनमा चन्द्रागिरी नगरपालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन हुने देखिएको हो।

त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्‍याउन संस्थापन र इतर पक्ष तयार भएपछि निर्विरोध नेतृत्व छानिन लागेको हो । सभापतिसहित अधिकांश पदहरूमा सहमति जुटिसकेको नेताहरूले बताएका छन्।

‘सभापतिमा त मलाई नै दोहोर्‍याउने सहमति भइसकेको छ, उपसभापतिमा दुई जनाबीच सहमतिको प्रयास जारी छ’, गिरीले भने, ‘नविन महर्जन र कृष्णहरि बस्नेतबीच उपसभापतिमा सहमति जुटाउने प्रयास भइरहेको छ, सम्भवत सबै पदमा सहमति हुन्छ होला।’

काठमाडौंका बाँकी नौ वटा नगरपालिकामा नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको एउटा टिम बनेको छ भने इतर पक्षबाट प्रकाशमान सिंह र गगन थापाको अर्को टिम तयार गरिएको छ । दक्षिणकाली नगरपालिकामा वडा नम्बर २ को वडा अधिवेशन सम्पन्न हुन नसकेकाले त्यहाँ पालिका अधिवेशन अनिश्चित बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *