मल नपाएर रौतहटका किसान चिन्तित

डिसी नेपाल
१६ असोज २०७८ ९:२२

रौतहट । किसानलाई यति बेला धानबालीमा प्रयोग गर्न रासायनिक मलको निकै खाँचो छ। तर, रौतहटमा अनुदानमा पाइने मल छैन। मल नपाउँदा किसानले सास्ती खेप्दै आएका छन्।

धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै केही दिनअघि आन्दोलनसमेत गरेका थिए।

रौतहटका बजारमा युरिया मलको अभाव भएको र भारतीय सीमा क्षेत्रबाट ल्याउँदासमेत कानुनी झन्झटको सामना गर्नुपरेको किसानको दुखेसो छ। नेपाली बजारमा नपाइने र भारतबाट समेत ल्याउन नदिएपछि किसान आक्रोशित बनेका छन्।

किसानले माग गरेबमोजिमको मलखाद नेपाल सरकारले उपलब्ध गराउन सकेको छैन। किसानले बर्षेनि मलखादको समस्या खेप्नुपरिरहेको गुनासो गर्दै आएका छन्।

बजारमा सर्वसुलभ रूपमा मलको व्यवस्था, ट्याक्टरमा लाग्ने कर खारेज, कृषि बीमा, कृषि ऋणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माग गर्दै किसानहरूले रौतहटमा प्रदर्शनसमेत गरेका छन्। सरकारले किसानका समस्याका बारेमा ध्यान नदिँदा दिन प्रतिदिन उत्पादन घट्दै गएको कृषकहरूको गुनासो छ।

मलखादको माग र आपूर्तिमा छैन तालमेल

युरिया मल पर्याप्त हुन नसक्दा १० बोरा आवश्यक रहे पनि दुई बोरासमेत पाउन पनि गाह्रो हुने गरेको किसानहरूको गुनासो छ।

किसानका नाममा भारतबाट व्यापारीले तस्करी गरेर ल्याउने गरेको र उनीहरूले व्यापार गर्ने भन्दै सीमामा खटिएका सुरक्षाकर्मीले कडाइ गर्ने गरेका छन् । अवैध तरिकाबाट मल ल्याउन नपाइने सुरक्षाकर्मीको भनाइ छ। पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालयले रौतहटले किसानलाई मल ल्याउन सहजीकरण गरेको छ।

जिल्लामा करिब ४० हजार हेक्टरमा धानखेती हुने गरेको तथ्यांक छ । गत आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा १५५ वटा सहकारीमार्फत युरिया दुई हजार ८५२ मेट्रिक टन र दुई हजार ३५१ मेट्रिक टन डीएपी मल बिक्री गरेको थियो । यस आर्थिक वर्षको भदौसम्ममा एक हजार ७५१ मेट्रिक टन युरिया मल र ३५६ मेट्रिक टन डीएपी मल वितरण गरेको कम्पनीका सूचना अधिकारी गोविन्द घिमिरेले बताए।

अहिले कम्पनीको चन्द्रनिगाहपुरस्थित गोदानमा मल छैन । यस्तै, गौरमा रहेको साल्ट ट्रेडिङ डिपोको गोदाम पनि खाली रहेको प्रमुख बाकदेव मिश्रले बताए । यस डिपोले ५५ वटा सहकारीमार्फत मलखाद वितरण गर्दै आएको छ।

रौतहटका किसानका लागि अनुदानमा आएको मल गत वर्ष मकवानपुर, सिन्धुली, सर्लाही, बारा जिल्लाका विभिन्न सहकारीसँग मिलेर व्यापारीहरूले लैजाने गरेका पाइएको स्थानीय किसानले गुनासो गरेका छन्।

सहकारी संस्थाहरूले व्यापारीलाई मल बिक्री वितरणको जिम्मा दिने र व्यापारीले मनलाग्दी मूल्यमा बिक्री गर्ने गरेको धेरै किसानको भनाइ छ।

अनुदानको रासायनिक युरिया मल सहकारी संस्थाले ७२७ रुपैयाँ ५० पैसामा ५० किलो खरिद गरेर ढुवानी खर्च जोडेर ८५० रुपैयाँसम्ममा आफ्ना शेयर सदस्यलाई बिक्री गर्न सक्छन् । तर, आफ्ना सदस्यलाई वितरण नगरी व्यापारीमार्फत दुई हजार रुपैयाँ प्रतिबोरा बिक्री हुने गरेको किसानको गुनासो छ।

विगतका वर्षमा झैँ रौतहटको सीमा नजिकैको भारतीय बजारबाट किसान लुकाइछिपाई मल ल्याउन बाध्य छन् । भारतीय बजार घोडासान, चैनपुर, बैरगनीया, छौडादाना, आधापुरलगायत स्थानबाट किसानले लुकिछिपी मल ल्याउन बाध्य भएका हुन्।

किसानका समस्याका बारेमा केन्द्र तथा प्रदेश सरकारलाई पटक पटक अवगत गराए पनि कुनै सुनुवाइ नभएको पूर्वसांसद कुन्दन कुशवाह बताउँछन्।

कटहरिया नगरपालिकाका किसान जितेन्द्र यादवले नेपालमा मल नपाएर निकै सास्ती खेप्नुपरेको गुनासो गरे। तीन बिघा क्षेत्रफलमा लगाएको धान खेती रोग लागेर सुक्दै गए पनि कतैबाट कुनै सहयोग नपाएको कटहरिया नगरपालिकाकी अर्की किसान अनिता देवीको गुनासो छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *