फोटोग्राफरले बेहुलाकै अगाडि बिहेको सबै फोटो डिलिट गरिदिए, निकै गजबको छ कारण

डिसी नेपाल
१६ असोज २०७८ १५:२१

काठमाडौं। एक फोटोग्राफर आफ्ना साथीको बिहेमा फोटो खिच्नका लागि गएका थिए । तर, त्यहाँ यस्तो घटना भयो कि ती फोटोग्राफरले बेहुलाकै अगाडि सबै फोटो डिलिट गरेर हिँडे । उनले बेहुलालाई पाठ सिकाउनको लागि उनकै अगाडि सबै फोटो डिलिट गरेर हिँडेका थिए । उनी रिसाएर बिहेको कार्यक्रम बीचमै छोडेर हिँडेका थिए ।

सामाजिक संजाल रेडिटमा फोटोग्राफरको एउटा पोस्ट भाइरल भइरहेको छ । यो पोस्टमा उनले बिहेको दिन भएको घटनाबारे विस्तृतमा बताएका छन् । उनले आफू फोटोग्राफर नभएको बरु डग ग्रुमर (कुकुरको हेरचाह गर्ने व्यक्ति) भएको र फेसबुक र इन्स्टाग्रामको लागि कुकुरहरुको फोटो खिच्ने गरेको बताएका छन् । उनका एक साथीले कम बजेटको आफ्नो बिहेमा उनलाई फोटोग्राफी गर्न भनेका थिए । सुरुमा उनले मानेका थिएनन् तर साथीले उनलाई फकाएर मनाएका थिए ।

फोटोग्राफरका अनुसार २५० डलरमा बिहेको फोटो खिच्ने सम्झौता भयो । बिहेको दिन बिहान करिब ११ बजेदेखि फोटोको काम सुरु भयो । फोटोको काम राती ८ बजेसम्म चल्नेवाला थियो । बेलुकी ५ बजेतिर पाहुनाहरुलाई खाना खुवाउन थालियो । दिनभर काम गरेर थाकेका फोटोग्राफर पनि खानको लागि गए । तर, उनलाई फोटो खिच्नुपर्ने भएकोले अहिले खाना खान नसक्ने बताइयो ।

उनी आफ्ना साथीसमेत रहेका बेहुला भएको ठाउँमा गए र खाना खानको लागि आफूलाई २० मिनेटको ब्रेक चाहिएको बताए । तर, बेहुलाले पनि ब्रेक दिन अस्वीकार गरे । उनले त फोटोग्राफर साथीलाई कि फोटोग्राफी गर्न कि पैसा नलिइ जान भने । बेहुलाको कुरा सुनेर फोटोग्राफरको पारो तात्यो र बेहुलाकै अगाडि सबै फोटो डिलिट गरिदिए । त्यसपछि अब म तिम्रो फोटोग्राफर होइन भनेर त्यहाँबाट हिँडे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *