यस्तो हुनेछ नेपालमा सुटिङ हुने बलिउड फिल्म ‘उचाइ’को कथावस्तु, अमिताभ र डेनी आउँदै

डिसी नेपाल
२० असोज २०७८ १६:३१

काठमाडौं। केही दिनअघि बलिउड फिल्म उचाइको सुटिङका लागि बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, नीना गुप्ता, सारिका नेपाल आएका छन् । अब यो फिल्मको लागि केही दिनमै बलिउड महानायक अनुपन खेर र अर्का कलाकार डेनी डेन्जोङ्पा नेपाल आउँदैछन् । सुरज बड्जात्याको निर्देशनमा बन्न लागेको यो फिल्म मित्रताका विषयमा छ ।

फिल्मको कथाअनुसार ४ जना पाका साथीहरु नेपालको हिमालय पर्वत श्रृंखलामा ट्रेकिङको लागि जान्छन् । यी ४ साथीहरुको भूमिकामा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा छन् । यो फिल्मको सुटिङ समुद्र सतहबाट १३ हजार फिटको उचाइमा हुनेछ । फिल्ममा अभिनेत्री परिणिती चोपडा नेपाली गाइडको भूमिकामा छिन् । फिल्मको सुटिङ सुरु भइसकेको छ । अब केही दिनमा अमिताभ र डेनी नेपाल आउनेछन् ।

फिल्मको सुटिङको जिम्मेवारी सम्हालिरहेका सुरज आचार्यले एक भारतीय अखबारसँग कुरा गर्दै फिल्मसम्बन्धी महत्वपूर्ण जानकारी दिएका छन् । उनका अनुसार फिल्मको सुटिङ ४ अक्टोबरदेखि सुरु भएको छ । नेपालमा पहिलो शेड्युल एक महिनाको छ । फिल्मको २ दिन काठमाडौंमा सुटिङ छ । एउटा महत्वपूर्ण दृश्य मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुटिङ भइसकेको छ । अब तीन दिनको लागि टिम सगरमाथाको द्वार भनिने लुक्ला जानेछ ।

सुरजका अनुसार फिल्ममा मूल रुपमा चार साथीहरु जोखिमपूर्ण एड्भेन्चर ट्रिपमा निस्किन्छन् । यहाँदेखि उनीहरु जीवनमा रोमाञ्चको अनुभूति चाहन्छन् । यो अनुभूति देखाउनको लागि विश्वकै खतरनाक मानिने लुक्लाको विमानस्थल छानिएको छ । यही विमानस्थलबाट सगरमाथा जाने बाटो सुरु हुन्छ । त्यहाँ ६ अक्टोबरदेखि ९ अक्टोबरसम्म परिणिती चोपडा, बोमन इरानी, अनुपम खेर, सारिका र नीना गुप्ताले सुटिङ गर्नेछन् ।

लुक्लापछि पूरै टिमले नाम्चेमा सुटिङ गर्नेछ । नाम्चे समुद्र सतहबाट ४ हजार मिटर अर्थात १३ हजारर फिटको उचाइमा छ । यहाँबाट सगरमाथाको पूरै दृश्य देख्न सकिन्छ । नाम्चेमा १८ अक्टोबरसम्म सुटिङ हुनेछ । त्यहाँबाट टिम मनाङ जानेछ । मनाङ ११ हजार फिटको उचाइमा छ । फिल्म ८ हजार मिटर अग्ला हिमालहरुको आसपासमा सुटिङ गर्ने योजना छ । फिल्ममा यी ४ पाका साथीहरुले सगरमाथाको सफल आरोहण गरेको देखाइनेछ ।

सुरजका अनुसार परिणिती फिल्ममा नेपाली गाइडको भूमिकामा छिन् । यसअघि परिणितीको फिल्म संदिप और पिंकी फरारमा पनि नेपालको ब्याकड्रप थियो । उनको साथमा अर्जुन कपूर थिए । अर्जुनको फिल्म इण्डियाज मोस्ट वान्टेडको सुटिङ पनि नेपालमा भएको थियो । अहिले उचाइको लागि १५० जनाको टिम चार्टर्ड विमानमा नेपाल आएको छ । नेपालमा प्राविधिक, गाइड, टुरिस्ट गाइड, कलाकार मिलाएर ३५० जनाको टिम थपिएको छ र कूल ५०० जनाको टिमले फिल्ममा काम गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *