आर्यन खानको जमानतको फैसला आज, के उनलाई भाजपाले फसाएको हो ?

डिसी नेपाल
२१ असोज २०७८ १०:५४

काठमाडौं। मुम्बइ क्रुज ड्रग्स पार्टी केसमा अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिकामाथि आज मुम्बइको किला कोर्टमा सुनुवाइ हुँदैछ । सोमबार अदालतले उनलाई ७ अक्टोबरसम्म हिरासतमा राख्न अनुमति दिएको थियो । आर्यनको साथमा अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत याचिकामा पनि आजै सुनुवाइ हुँदैछ ।

यही बीच महाराष्ट्र सरकारका क्याबिनेट मन्त्री नवाब मलिकले यो पूरै घटना फर्जी भएको आरोप लगाएका छन् । पत्रकार सम्मेलन गर्दै नवाब मलिकले भने ‘आर्यन खानलाई फसाउने उद्देश्यले यो सब गरिएको हो । एनसीबीको यो कारवाहीमा बीजेपीको हात छ र यो गिरफ्तारी पूरै राजनीतिबाट प्रेरित छ । पछिल्लो एक महिनादेखि क्राइम रिपोर्टसलाई यो जानकारी पठाइएको थियो कि अबको निशाना शाहरुख खान हुनेछन् ।’

नबाब मलिकका अनुसार आर्यन खानलाई एनसीबीकहाँ ल्याउने र सेल्फी लिने केपी गोस्वामी र मनिष भानुशाली बीजेपीका नेता हुन् । एनसीबीले भने मलिकको आरोपमा प्रतिक्रिया दिँदै यसलाई आधारहीन र गलत भनेको छ । खासमा आर्यन खान जुन दिन गिरफ्तार भएका थिए त्यस दिन एक व्यक्तिसँग उनको सेल्फी भाइरल भएपछि यो विवाद सुरु भएको हो ।

यो सेल्फी आर्यन एनसीबीको हिरासतमा हुँदा लिइएको थियो । सेल्फी सार्वजनिक भएपछि एनसीबीमाथि प्रश्न उठ्न थालेका थिए । विवाद भएपछि एनसीबीले सेल्फी लिने व्यक्ति आफ्नो विभागको नभएको प्रस्ट पारेको थियो । नबाब मलिकको दावीअनुसार सेल्फीमा देखिने व्यक्ति बीजेपीका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *