ललितपुरमा मानिस पासो लगाएर मरेको डोरी महंगोमा बिक्छ भनेर डोरीकै लागि मान्छे मारियो

डिसी नेपाल
२४ असोज २०७८ १४:२५

काठमाडौं। मानिस पासो लगाएर मरेको डोरीको मूल्य करोडौं रुपैयाँ पर्छ भन्ने सुनेका आधारमा सोही डोरी हात पार्नको लागि आफैंले डोरीले घाँटी कसेर महिलाको हत्या गर्नेहरु पक्राउ परेका छन् । ललितपुरको सुनाकोठीमा बस्दै आएकी ४५ वर्षकी कमला तामाङको हत्या अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ परेका तीनजन १८ वर्ष, २१ वर्ष र २३ वर्षका छन् ।

गएको भदौ २५ गते बिहान नुवाकोटको बेलकोट गढी–९ घर भइ ललितपुरको सुनाकोठी बस्दै आएकी कमला तामाङको डोरीले घाँटी बसेर हत्या भएको थियो । हत्याको अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले मोरङको पथरी शनिश्चरे–८ घर भइ ललितपुरको हरिसिद्ध बस्ने २० वर्षका सुमन मगरलाई हरिसिद्धिबाटै बिहीबार पक्राउ गरेको थियो ।

उनको प्रारम्भिक बयानका आधारमा घटनाका अन्य २ अभियुक्तहरुलाई पनि पक्राउ गरिएको हो । घटनामा संलग्न मगवानपुरको राक्सिराङ गाउँपालिका ५ घर भइ हरिसिद्धमै बस्ने २३ वर्षका सविन प्रजा र उनकी श्रीमती १८ वर्षकी प्रविना प्रजा माझीलाई शुक्रबार मकवानपुरको मनहरीबाट पक्राउ गरिएको थियो ।

अनुसन्धानका क्रममा अभियुक्तहरुले बताएअनुसार सविन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू महत्वपूर्ण हुने र करोडौं रुपैंयामा बिक्री हुने भन्ने कुराहरू सुनेकोले ती वस्तुहरु हासिल गर्न चाहेका थिए । उनीहरु अन्धविश्वासमा परेर त्यस्तो डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले यो हत्या गरेका थिए ।

कमला तामाङसँग सुमन मगरको पहिलेदेखिकै चिनजान र अवैध सम्बन्ध समेत हुने गरेको थियो । उनी टहरामा एक्लै बस्ने गरेकी थिइन् । उनीहरु भदौ २४ गते साँझ कमलाकै टहरामा गएर खानपिन र मादक पदार्थ सेवन गरेका थिए । त्यसपछि सुत्ने क्रममा मृतकको हात बाँधेर घाँटीमा डोरीले कसी हत्या गरेका थिए । हत्या गरिसकेपछि मृतकको कानमा लगाएको गहना र मोबाइल समेत लुटेर फरार भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *