कटारी र हलेसी जोड्ने झोलुंगे पुलको स्ल्याब भत्कियो

डिसी नेपाल
२४ असोज २०७८ १८:२४

उदयपुर । उदयपुरको कटारी नगरपालिका १० चिप्टार र खोटाङको हलेसी तुवाचुङ् नगरपालिका २ बाइटार जोड्ने सुनकोसीको झोलुंगे पुल निर्माणमा गुणस्तरहीन काम भएको पाइएको छ ।

निर्माण सम्पन्न नहुँदै पुलको भौतिक संरचना भत्किएको छ । गुणस्तरहीन काम भएकाले निर्माण सम्पन्न नहुँदै भत्किएको स्थानीयबासीको आरोप छ ।

निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीसँगै निर्माण हुन नसकेको पुलको स्ल्याबमा गुणस्तरहीन सामग्री प्रयोग गरेकाले भत्किएका हुन् । पूर्वाधार विकास कार्यालय गाईघाटबाट तीन करोड ५० लाख रुपैयाँमा ठेक्का लिएका बसन्त बुढाथोकीले हाल गरिरहेको काम पनि गुणस्तरहीन हुनुका साथै लापरबाही र ढिलासुस्ती गरेको स्थानीयले बताएका छन् । काम सम्पन्न नै नभई स्ल्याब भाँचिएपछि काम गुणस्तरहीन भएको स्थानीयको आरोप छ ।

पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग र ढिलासुस्ती भएको बारे सम्बन्धित सरोकारवाला निकायहरूलाई जानकारी गराउँदासमेत बेवास्ता गरेको बताएका छन् । पुल नहुँदा दुवै जिल्लाका स्थानीयबासीले काठको डुंगाबाट जोखिम मोलेर सुनकोसी आउजाउ गर्नुपर्ने बाध्यता रहेको स्थानीयबासी भरत दाहालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *