एनसीबीले यसरी हलो अड्काइदिएपछि आर्यन खान अझै कम्तीमा ३ दिन जेलमै

डिसी नेपाल
२५ असोज २०७८ १३:१४

काठमाडौं। ड्रग्स केसमा पक्राउ परेका बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान आज जमानतमा रिहा हुने अनुमान गरिएको थियो तर उनी अझै कम्तीमा ३ दिन जेलमै बस्नुपर्ने अवस्था आएको छ । सेसन कोर्टमा आज हुनुपर्ने सुनुवाइ पर्सी १३ अक्टोबरको लागि सारिएको छ । जसका कारण आर्यन अझै कम्तीमा ३ दिन जेलमै बस्नुपर्नेछ ।

यो मामिलामा एनसीबीले आज सेसन कोर्टमा जवाफ पेश गर्नुपर्ने थियो । तर, एनसीबीले आज जवाफ दिन नसक्ने बताउँदै बुधबारसम्मको समय मागेपछि अदालतले सुनुवाइ पछि सारेको हो । एनसीबीले कागजी कार्यवाहीको हवाला दिँदै जवाफ दिनको लागि बुधबारसम्मको समय मागेको हो । अब एनसीबीले बुधबार बिहान ११ बजेसम्म आफ्नो जवाफ पेश गर्नेछ त्यसपछि मात्र सुनुवाइ हुनेछ ।

आर्यन खानको केस लडिरहेका वकिल सतीश मानसिन्दे र अमित देसाइ तथा शाहरुख खानकी म्यानेजर पुजा ददलानी आज निर्धारित समयमै अदालत पुगेका थिए तर अदालतले सुनुवाइ सार्ने आदेश दिएपछि उनीहरु फर्किएका छन् । आर्यन अहिले आर्थर रोड जेलमा छन् । यसअघि ८ अक्टोबरमा मजिस्ट्रेट कोर्टले आर्यनको जमानत याचिका खारेज गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *