सस्मरण : ‘बहिष्कार गरेको एउटा दशैं’

डिसी नेपाल
२९ असोज २०७८ ७:१६

लिम्बुवानका लिम्बुहरुसँग, आमापट्टिबाट हाम्रो पुर्खेउली मितेरी साइनो छ। यता मदेश नझर्दै, उतै पहाडतिरै हुँदा साइनो गांसिएको हुदो हो । पछि झापा झरेपछि पनि , मितेरी सम्बन्ध अटुट रहयो। कतिसम्म अटुट भने, सानामा म घरमा टिको लगाइ सकेर, कुद्दै मामासँग टीका लाउन जान्थे।

वास्तवमा, मीतमामाका घरको दशै पनि बडो भव्य हुन्थ्यो । त्यो घरमा साँच्चै बडा दशै आउथ्यो । गाउँघरमा सबैको भन्दा बडा । मामाका छोराहरू उता हङकङ , सिंगापुर र बेलायततिरका लाउरे थिए। ती सबै दशैको छेको पारेर आउँथे। बडो मिठा मिठा चकलेट , राम्रा राम्रा लुगा, पर्फ्युम भन्ने सेन्ट आदि इत्यादि ल्याउँथे। दिन्थे। त्यो स्तरको दशै चाउरेहरुका घरमा कहिलै आउँदैन थियो।

मलाई पनि कहिले सिकागो बुल्स, कहिले लन्डन बृज, त कहिले आइफल टावर लेखेको र छापेको टिसर्ट कोसेली ल्याइदिन्थे।
एकपटक त , लाउरेहरुले टेप्रीक्याट भन्ने, समाचार ,समाचार नआउने , तर जुन गीत चाहियो त्यही गीत फ्याट फ्याटी बज्ने काइदाको रेडियो ल्याएका थिए। त्यो मलाई बडो गजब लागेको थियो। त्यसमा बजेको , मोहनी लाग्ला है…  गाउलेको बोलीले भन्ने गीत आजपनि मेरो कानमा गुन्जीरहन्छ।

अर्कोपटक आउँदा लाउरेहरुले टिभी ल्याए । टेप्रीक्याटमा सुनेको त्यही गीत टिभीमा हेरियो। त्यसको प्रभाबले मैले घुँडा टेकेर र हात फैलाएर धेरै पटक शिव श्रेष्ठको नक्कल गरेको छु। हो , यो स्तरको बडावाला दशै आउँथ्यो , त्यो घरमा । त्यसमाथि , टीको लाउदा ,पैसा पनि एकैचोटि ५ रुप्पे दिन्थे । टीको लाइसकेपछि पनि , बाउनका दिनेजस्तो अमिलो दही चिउरा होइन, मासु चिउरा दिन्थे।

यी र यस्तै विविध कारणले , मलाई त्यो घरको दशै , साच्चैको बडा दशै जस्तो लाग्थ्यो । दशैका पाँचै दिन, त्यही घरमा बित्थ्यो। पछि पछि मेरो यति राम्रो दशैलाई दशा लाग्यो। अघिल्लो बर्षसम्म ठिकठाकै रहेको दशै , अर्को बर्ष फेरि आउला भनेर बिदा मागेको दशै, त्यो बर्ष ,त्यो घरमा आएन।

म कुद्दै मामाघर त पुगे । घर रित्तो थियो । आउनु पर्ने लाउरेहरु आएक थिएनन्। पिडी भरी कोसेली र लुगाफाटाहरु थिएनन् ।टेप्रीक्याट चुपचाप छ , मौनधारण गरेजस्तो! टिभी राम्रो घुम्टो ओडेर बेहुली जस्तै लजाएर , बसेको छ ।

‘ हामी त आबोदेखि टिको लगाउँदैनाै हौ भान्जा ! यो दाँशै भनेको त हामी सेतामगुराली ….’
गएर थचक्क बसेपछि अघि नै राताराता भैसकेका मामाले तुङ्बामा तातोपानी थप्दै भन्न थाले ।

तर माईजुले हत्तपत्त, मातृभाषामा हस्तक्षेप गरिन, र सेतामगुराली … भन्दा उता बोल्न दिइनन्। अनि मामाले गोजीमा हात हाले ।

‘लाखे है भान्जा!  टीका पो लगाउँदैनाैं त। भान्जाभान्जीलाई रित्तै त पार्दुङ्ना नि हौ।’

मामाले सिंगै दस रुप्पे दिए। माइजुले भित्र लगेर मासु चिउरा दिइन्। तर पनि मलाई दशै जस्तो ठ्याक्कै लागेन । म भरिएको भुडी र गोजी लिएर त फर्के, तर मलाई , दशै अनुपस्थित झै लागिरहयो

अर्को बर्ष मामाहरु धरानमा ठूलो घर बनाएर बसाइँ सरे। त्यसको अर्को बर्ष काठमाडौ सरे। पछि, छोराहरुसँग उतै लन्डनतिर गए। मलाई पनि समयले सधैं सानो र सधै भान्जा रहिरहने छुट दिँदैन थियो। दिएन पनि । म पनि ठूलो भए। लाखापाखा लागें।

त्यसपछि झन्डै झन्डै एक युग बितेर गयो । मामा माइजू नै लन्डनदेखि अघाएर फेरि काठमाडौ नै फर्किएछ्न्। काठमाडौदेखि पनि अघाएर, फेरि घरान फर्केछन्। म पनि एक दशक काठमाडौ र अर्को दशक खाडीतिर खेर फालेर आफ्नै गाउँ फर्किए।

अनि एकदिन दशैको मुखैमा गाउँको पुरानै घरमा फर्किएका मामा माइजुसँग, फेरि गाउँमै भेट भयो । स्मृति र भावनाहरु ताजा भए । पुराना दिन र पुराना दशैहरु ताजा भए ।

‘हाउ भान्जा ! थामी नसक्नु पो थियौ त हौ तिमी त। बाँदरै भने पनि हुन्छ हौ बेहोराले।
टाउको फुटाउछौ कि हात भाच्छौ भनेर थरथरी हुनुपर्थ्यो हौ तिमी आएपछि ।
हन , मेरो साइकल चलाउदा, हात ठनक्क पारेको याद छ तिमीलाई ?’

‘ याद छ मामा । देब्रे हात अझैसम्म अलिकति बाङ्गै छ।’

‘हाउ दशै चाहिँ भनेपछि, तिमी सारै मरिहत्ते गर्थेउ हाउ। उज्यालो नहुदै टुप्लुक्क टीका लाउन आउथेउ।’

‘खै हौ मामा टीका भन्दा पनि, पैसा लिन र मासु खान पो आए हुंला है।’
चौतारामा, चिया दोकानमा, कहिले हाम्रैमा त कहिले मामाकै घरमा हामी यसरी गफगाफ गरेर स्मृतिहरु ताजा गर्थियौं।

मलाई , मामाहरु केही दिनलाई यसो गाउँ घुम्न आएका होलान भन्ने लागेको थियो। तर बर्षौअघि दशै बहिष्कार गरेका मामा. दशै मान्न, गाउँ झरेका रहेछन्। दशैपछि मात्रै जाने भनेपछि मैले मामालाई पुरानो दशै सम्झाएर जिस्क्याए।

‘हौ मामा! अनि दशै त मान्नु हुन्न होला। किन पो दशैको मुख पारेर आउनु भयो नि!

‘हौ भान्जा! दशैं पो मान्दैनाैं त । भेटघाट त गर्छुम नि हौ। दशैका मुखमा सबै इस्टमित्र आउछन् र भेट्नु आको नि। बुढाबुढी भैइयो, आगुम के हो। कसो हो। लु, बूढो भको मामालाई जिस्क्याई नराख कि, माष्टमीका दिन यसो सघाउन आउ ।’

‘ हैन हौ मामा , बहिस्कार गरेको महाष्टमीका दिन के कार्यक्रम राख्नु भो फेरि ?’ मैले जिस्क्याउन छाडिन ।

हौ भान्जा! तिमी नि क्याम्पस पढेको त भन्छौं कि, तर बुद्धि चिँ चारानाको नि छैन हौ तिम्रो।’

‘किन र मामा ?’

‘हौ अनि सिकार सिंगै दार्नु त भएन नि भान्जा। दशै पो माङ्दुङ्न त। मासु त खान्छुम नि। अस्टमीका दिन यसो सिकार बनाउनु छ। अलि सबेरै गरेर आउ’

अस्टमीको कार्यक्रम सकियो। भोलिपल्ट , नौ नंबर, अर्थात महानहमीका दिन मामाका सबै शाखा सन्तानहरु पनि घर आइपुगे। म पनि गए। फेरि पुराना दिन र यादहरु ताजा भए। टेप्रीक्याट र टिभी त सबैका हात हातमै थिए। त्यही पालै पालो बजाएर नाचियो। आफैले नाचेको, आफ्नै मोबाइलले खिचेर , उत्तिनै खेर हेरियो । भन्न खोजेको, यो स्तरमा प्रविधिको बिकास भैसकेको थियो।

तर, टीकाको दिन भने म गइन। मामाले धेरैबेर पर्खिएछन। निकै दिन ढलेपछि फोन गरे।
‘हौ भान्जा! आएनौ त। सानामा त उज्यालो नहुदै आइपुग्थेउ त।’
‘हौ मामा ! अनि दशै बहिस्कार गर्ने भनेको होइन र भन्या ? म त घरमा टीका लाएर ,ससुराली पो हिड्न लागे त’

‘हौ भान्जा ! मामाले सम्झाए।
‘टीका पो बहिस्कार भनेको त। भन्जाभान्जी बहिष्कार गरेको त होइन नि। सेता अक्षेता त टास्छुम नि हामी। बाउनको जस्तो दक्षिणा पो बहिस्कार हो त , बाटो खर्च त दिन्छुङ नि हौ।’

अनि मामा एकहलको मेलो हाँसे । अनि थोरै गम्भीर भएर भने,

‘हौ भान्जा! उही ख्याल, उही साँचो कि। उता पहाडमा कोदो पनि खान नपुग्ने जमानामा, जंगलामा निगुरो टिप्न जान साथी होस भनेर, हाम्रा जिजुहरुले मीत लाएका हुन्। दुखका बेला लाएको मीत, आज सुख छ भनेर भुल्नु हुदैन ।

बुढाबुढी पनि भइयो भान्जा , आगुम के हो, के हो हौ। आउ हाउ भान्जा। १० लोट खत्रकै दिन्छु।’
त्यसपछि मामा फेरि हाँसे ।

म गए। मामाका हातबाट लगभग ३ दशकपछि फ़ेरि टीका थापे। यो तीन दशकमा टीकाको रंग बाहेक केही फेरिएको थिएन । बद्लिएको थिएन । र, मलाई टीका सेतो वा रातो हुनुले केही फरक पारेन । किनभने, उही प्रेम।

उही सद्भाव। उही न्यानो सामाजिक र पारिवारिक सम्बन्ध जस्तोको तस्तै थियो। कुनै पनि वाद, तन्त्र, भाष्य र अग्रगामी चेतनाहरुले हल्लाउन र खल्बल्याउन नसकेको एउटा पुरातन र रुढीबादमा आधारित उही अबैज्ञानिक सम्बन्ध निभाएर , म मामासँग बिदा भए।

अर्को बर्ष मामा हामी सबैसंग बिदा लिएर जानुभयो । नफर्किने गरि जानुभयो । फेरि कहिलै दशै मान्ने र बहिस्कार गर्नेहरुको वीचबाट पनि एउटा उदाहरण प्रस्तुत र प्रस्ताव गर्न नसक्ने गरि जानुभयो। र , त्यो बर्ष चाहिँ मैले दशै बहिस्कार गरे।
मामाको सम्झनामा टीका लगाइन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.