राष्ट्रपतिको दशैं फोटो विवादमा, राजदूतहरु बेरी र यान्सीको चर्चामा

डिसी नेपाल
३० असोज २०७८ ८:३५

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा विजया दशमीको साइतको टिका र जमरा आफनी आमाका हातबाट लगाएको फोटो राष्ट्रपति कार्यालयले सार्वजानिक गर्‍याे।

टिकाको फोटो त प्रधानमन्त्री शेरबहादुर देउवा र अरु नेताहरुको पनि सार्वजानिक भएका छन् तर राष्ट्रपतिको फोटो भने विवादमा परेको छ। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नेपालका लागि चिनियाँ राजदूत होऊ यान्सीका दशैंको टिकाका तस्वीरहरु चर्चामा आएका छन्।

विवादकर्ताहरुले राष्ट्रपति पदले टिका लगाएको हो कि राष्टपति विद्यादेवी भण्डारीले मान्यजनको हिसावले आफ्नी आमासँग टिका लगाएको हो? भन्ने प्रश्न उठाएका छन्। विजया दशमीकै दिन अपरान्हदेखि सामाजिक सञ्जाल तताएको सो फोटा झट्ट हेर्दा सामान्य देखिन्छ।

(हेर्नुहोस् फोटो पनि)

राष्टपति विद्यादेवी भण्डारीले मान्यजनका हिसावले आफ्नै आमासँग दशैंको साइतको टिका लगाएकी छिन्। तर, टीका लगाउँदा राष्ट्रपति सोफमा बसेकी छन् भने उनकी बृद्ध माता उभिएकी छन्।

सोफामा बसेकी राष्ट्रपति छोरीलाई आमाले उभिएर टीका, जमरा लगाइदिँदै गरेको तस्वीरमा देखिन्छ। हो, यही तस्वीर विवादमा परेको हो। केही समयअघिमात्र आफ्नी आमा गुमाएका नेपाली कांग्रेसका नेता धनराज गुरुङले आफ्नो ट्वीटरमा यो फोटो शेयर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरेका छन्। र ,उनको स्वरमा स्वर मिलाएर राष्ट्रपतिले आफ्नी आमाका अगाडि पनि पावरको पोज देखाएको भन्दै विरोध गर्नेहरुको ठूलो ताँती देखिएको छ।

नेता गुरुङले आमा हुनेहरुले आमालाई यसरी उभ्याएर(राष्ट्रपतिले जसरी) टिका लगाउनु १०० प्रतिशत गलत भएको बताएका छन् । उनले लेखेका छन्,‘ जन्म दिने आमा भगवान हुन् । आमा हुनेहरुले आमालाई यसरी उभ्याएर टिका लगाउनु १०० प्रतिशत गलत हो। आमाभन्दा माथि “पद” कहिल्यै हुँदैन । कसैले यस्तो कहिल्यै नगरोस्।’

कांग्रेस नेता गुरुङले सस्तो लोकप्रियताका लागि यस्तो कुरा उठाएको भनेर आलोचना गर्नेहरु पनि सामाजिक सञ्जालमा निकै देखिएका छन् । टिका थाप्नेले बस्ने र लगाइदिनेले उठेर लगाइदिने चलन हो यो कुरा नबुझेर उनले आलोचना गरेको भन्दै गुरुङलाई सञ्जालमा गाली पनि गरिएको छ। त्यसैगरी हिन्दू धर्माबलम्बी भएर पनि माताको सम्मान गर्न नसकेको भन्दै राष्ट्रपति भण्डारीको आलोचना सामाजिक सञ्जालहरुमा देखिएको छ।

उता हिन्दू धर्मावलम्बी नभए पनि नेपालका बहुसंख्यक हिन्दूहरुको धर्म संस्कृतिलाई सम्मान गर्दै दशैंमा टिका र जमरा लगाई चाड मनाएकोमा नेपालका लागि अमेरिकी राजदूत बेरी र चीनकी राजदूत यान्सीको प्रसंसा पनि सामाजिक सञ्जालमा हिजो दिनभर निकै भएको पाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *