श्रीलंका आइसिसी टी-ट्वाण्टी विश्वकपमा छनोट

डिसी नेपाल
४ कार्तिक २०७८ ८:०५

काठमाडौं । श्रीलंका आइसिसी टी-ट्वाण्टी विश्वकप २०२१ को सुपर १२ मा प्रवेश गरेको छ। बुधबार राति आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलंका पहिलो चरणको समूह ‘ए’बाट शीर्ष दुईमा रहँदै सुपर १२ मा स्थान पक्का गराएको हो। योसँगै श्रीलंका सुपर-१२ मा पुग्ने पहिलो टोली बनेको छ।

जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा १ सय १ रनमा अल आउट भएपछि श्रीलंका छनोट भएको हो।

आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले सर्वाधिक ४१ रनको योगदान दिए। कर्टिस क्याम्फरले २४ रन बनाए।

श्रीलंका स्पिनर महेश थक्शेनाले ४ ओभरमा ३ विकेट लिए। चामिका करुणारत्ने र लाहिरु कुमाराले २–२ विकेट लिए।

यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो। श्रीलंकाका अलराउन्डर वानिन्दु हसरंगाले सर्वाधिक ७१ रनको योगदान दिए। ओपनर पाथुम निसंकाले ६१ रन जोडे।

आयरल्यान्डका तीब्र गतिका युवा बलर जोश लिटिलले ४ ओभरमा ४ विकेट लिए।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह ‘बी’मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन्।

पहिलो चरणको समूह ‘ए’ र ‘बी’बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ‘ए’को विजेता र समूह ‘बी’ को उपविजेता रहनेछन्।

समूह ‘बी’मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहनेछन्।

शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *